
नौरते नेपाली, वैशाख ८ जुम्ला
तातोपानी र तिला गाउँपालिका जुम्लाका १२ जना किसान राडीपाखी निर्माणमा जुटेका छन् । पछिल्लो समयमा लोप हुँदै जान थालेको भेडापालनलाई संरक्षण गर्न र भेडाको ऊनबाट आकर्षक वस्तु बुनेर आयआर्जन गर्न उनीहरु जुटेका हुन् । क्याप्स कर्णाली परियोजनाको सहयोग र पेश नेपाल जुम्लाको आयोजनामा १२ जना किसानहरुले राडीपाखी बुनाईको विषयमा ४५ दिने तालिम पाएपछि उनिहरु यो व्यवसायमा सहभागि भएका छन् । भेडा पालन गरेका किसानहरुलाई लक्षित गरि पेश नेपाल जुम्लाले सीप प्रदान गरेको हो । खेर गइ रहेको भेडाको उनलाई प्रयोग गर्दे राडीपाखी निर्माणका लागि १२ जना किसानलाई योग्य बनाइएको पेश नेपाल जुम्लाका कार्यकारी अध्यक्ष किशोर न्यौपानेले बताउनु भयो ।
किसानहरुसँग सीप नहुँदा परम्परागत राडीपाखी उत्पादन घटेको हुनाले उनिहरुलाई सीप प्रदान गरिएको उहाँको भनाइ छ । तालिम पाएका किसानहरु अहिले राडिपाखी निर्माणमा सक्रिय भएर जुटेको भन्दै अध्यक्ष न्यौपानेले आयआर्जनमा पनि सहयोग पुगेको बताउनु भयो । परम्परागत राडिपाखी लोप हुने अवस्थामा पुगेको हुनाले संरक्षणका लागि भेडापालक किसानलाई सीप सिकाइएको उहाँले जानकारी गराउनु भयो । जलवायु परिवर्तन अनुकूलन गर्ने विषयमा समेत किसानहरुलाई सचेत गराईएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
उहाँका अनुसार १२ लाख रुपैयाँको लागतमा राडिपाखि बुनाई तालिमले किसानलाई आत्मनिर्भर र जलवायु अनुकूलनका बारेमा सहयोग पुगेको जानकारी गराउनु भयो । ४५ दिनसम्म चलेको तालिममा किसानलाई दैनिक खान बस्नदेखि हरेक दिनको ज्याला समेत व्यवस्था गरिएको थियो । गाउँमा पालिका भेडा र खराएको ऊनबाट किसानलहरुले राडिपाखि, गलबन्दि, टोपी र स्वीटर लगायतका सामाग्री निर्माण गर्न थालेको अध्यक्ष न्यौपानेले बताउनु भयो । कुन्जाङ्ग पुटिङ्ग तामाङ्गले राडिपाखि बुनाईका विषयमा किसानलाई सीप सिकाउनु भएको थियो ।
तालिम पाएका किसानहरुले गाउँमा रहेका अन्य किसानलाई पनि राडिपाखि बुनाइका बारेमा सिकाएका छन् । जुम्लाको तातोपानी र तिला गाउँपालिका भेडा पालनको पटक क्षेत्र भएकाले किसानहरुलाई राडिपाखि बुनाइका विषयमा सीप प्रदान गरिएको पेश नेपाल जुम्लाले जनाएको छ । ऊनबाट उत्पादित सामग्री बेचेर किसानहरु आयआर्जनका क्रियाकलापमा सहभागी भइ सकेका छन् । अहिले राडिपाखीको बजार मूल्य न्युनतम ४ हजार रुपैयाँदेखि अधिकतम १० हजार रुपैयाँसम्म छ । जुम्ला आउने अधिकांस आन्तरिक पर्यटकले राडिपाखी नासोको रुपमा लैजाने गरेका छन् ।