पातारासि गाउँपालिकाले गरेको काम – Karnali News

पातारासि गाउँपालिकाले गरेको काम

 २८ चैत्र २०७७, शनिबार १५:५१  

चैत २८, नौरते नेपाली, रेडियो कर्णाली जुम्ला
जुम्लाको पातारासि गाउँपालिकाले १८ वटा महत्वपूर्ण योजनाहरु प्रस्तावित गरेको छ । पर्यटन गुरुयोजना निर्माण, हाई अल्ट्रिच्युट टेनिङ्ग सेन्टर, ५ शैयाको अस्पताल निर्माण, जोखिम युक्त चौरगाउँ वस्ति स्थातन्तरण देखि आँखा उपाचार केन्द्र स्थापना गर्ने लगायत १८ वटा योजनाहरु प्रस्तावित गरेको हो । शुक्रबारका दिन पातारासि गाउँपालिका जुम्लाको आयोजना र रेडियो कर्णाली जुम्लाको सहजीकरणमा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गर्दे प्रमुख प्रशासकिय अधिकृत टेकवहादुर बुढथापाले एक घर एक जर्सिगाई अभियान देखि एक घर एक उत्पादन अभियान सुरु भएको जानकारी गराउनु भयो ।

उच्च शिक्षा छात्रवृत्ति कार्यक्रम र लोकसेवा आयोग तयारी सहयोग कार्यक्रम गाउँपालिकाले संचालन गरेको बुढथापाले बताउनु भयो । शिक्षालाई सुधार गर्नको लागि शैक्षिक कार्यक्रमलाइ बढवा दिईएको उहाँको भनाइ छ । ४५ प्रतिशत नागरिक साक्षर रहेको बताउँदै उहाँले उक्त प्रतिशत वृद्धि गर्नको लागि विभिन्न शैक्षिक कार्यक्रम संचालन गरिएको बताउनु भयो । गत आर्थिक वर्षमा २६ करोड ५५ लाख ९ हजार ३ सय ८ रुपैयाँ आय भएकोमा २४ करोड ११ लाख ८१ हजार ५ सय ७५ रुपैयाँ व्यय भएको उहाँले बुढथापाले जानकारी गराउनु भयो । उहाँका अनुसार वडा नम्बर १, २ र ३ मा भेडा पकेट, वडा नम्बर ४, ५, ६ र ७ मा बाख्रा पकेट, १ देखि ७ नम्बर वडासम्म बोका वितरण र १ देखि ७ नम्बर वडासम्म थुमा वितरण गरिएको बताउनु भयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकले स्थानीय सरकारलाई गरेको प्रश्नको जवाफ दिदै गाउँपालिका अध्यक्ष लछिमन बोहोराले उथ्र्रु देखि डिल्लौचर सम्म बाह्रै महिना सवारी संचालन हुने सडक निर्माण गरिएको बताउनु भयो । उथु्र्र–बाताँ–लोर्प हुँदै लुम सडकको डिपिआर तयार गरिएको बोहोराले जानकारी गराउनु भयो । विश्वकै अग्लो स्थानमा धान फल्ने छुम ज्युलो संरक्षण तथा प्रवद्र्धन गुरुयोजना कार्यान्वयनमा रहेको अध्यक्ष बोहोराले बताउनु भयो ।

प्रत्येक वडामा गोरेटो बोटो निर्माण, खानेपानी आयोजना, ढल निर्माण तथा तटबन्द निर्माण लगायतका कामहरु स्थानीय सरकारले गरेको उहाँले बताउनु भयो । ११ वटा ग्रामिण सडक, ५ वटा गोरेटो बाटो, ७ वटा काठेपुल, ५ वटा खानेपानी आयोजना निर्माण र ८ वटा जलविद्युत निर्माण तथा मर्मतको काम भएको अध्यक्ष बोहोराले बताउनु भयो ।

अध्यक्ष बोहोराका अनुसार समृद्ध पातारासि र सुखी नागरिक बनाउने परिकल्पना गाउँपालिकाले गरेको जानकारी गराउनु भयो । रेडियो कर्णाली जुम्लाका स्टेशन म्यानेजर गोर्खवहादुर थापाले सार्वजनिक सुनुवाई कार्यक्रमको विधि, उद्देश्य र नागरिकको मत व्यक्त गरिएको रिपोट प्रस्तुत गर्नु भएको थियो । उक्त रिपोटमा धेरै जसो नागरिकले गाउँपालिकामा नागरिक वडा पत्र अनुसारको सेवा नपाएको र योजनाहरुमा रकम नदिए प्राविधिकहरुले अप्ठ्यारो पार्ने गरेको गुनासो आएको प्रतिवेदन थापाले प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाले गरेको कामका बारेमा आम नागरिकलाई जानकारी गराउने र नागरिकबाट आएका सुझाव तथा जिज्ञासालाई सम्बोधन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । स्थानीय सरकार र नागरिकहरुका बीचमा दोहोरो सम्वाद स्थापित गर्न र त्यस्तो सम्वादबाट जनतालाई विकास निर्माणको प्रक्रियामा रचनात्मक प्रतिनिधित्व गराई पारदर्शिताको माध्यमद्वारा सेवा प्रवाहलाई गुणस्तरीय र प्रभावकारी बनाई जिम्मेवारीको संस्कार बसाउन सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।

जुम्लाको पातारासि गाउँपालिकाले विकास निर्माणमा अग्रगामी छर्लाङ्ग मारेको छ । स्थानीय तहको निर्वाचन पछि गठन भएको गाउँपालिकाले अन्य स्थानीय तहको तुलनामा विकास निर्माण र नागरिक सँगको सम्बन्ध विस्तारमा अग्रगामी देखिएको हो ।