विपद् व्यवस्थापनका लागि समुदाय सक्षम हुनु आवश्यक – Karnali News

विपद् व्यवस्थापनका लागि समुदाय सक्षम हुनु आवश्यक

 ८ चैत्र २०७७, आईतवार ०७:२३  

चैत ८ जुम्ला
हरेक समुदायमा स्थानीय पालिका र समुदाय विपद् व्यवस्थापनका लागि सक्षम हुनु पर्ने कुरा जुम्ला जिल्लाको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । मर्सि कोरले आयोजना गरेको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले जिल्लामा विपद् व्यवस्थापन समिति भए पनि प्राविधिक रुपमा दक्ष नभएको र छुट्टै इकाई समेत नभएको कुरा बताउनु भयो । समुदायमा वार्षिक रुपमा आउने विपद्को अभिलेखिकरण गरी समुदायमा पूर्वतयारी अपनाउनु पर्नेमा जोड दिन सके सम्भावित जोखिम व्यवस्थापन गर्न सहज हुने कुरा समेत बताउनु भएको थियो ।

साथै जिल्लाको विपद् प्रतिकार्यका लागि सरकारी र गैर सरकारी निकायको प्रभावकारी समन्वयबाट एकद्धार प्रणालीबाट प्रतिकार्य गर्न सक्षम हुनु पर्नेमा उहाँले जोड दिनुभयो । भकारी परियोजना अन्तर्गत जुम्ला, मुगु र कालिकोटका साझेदार संस्थाहरुमा कार्यरत कर्मचारीहरुको लागि विपद् जोखिम व्यवस्थापन सिकाई आदान प्रदान कार्यक्रममा समुदायलाई कसरी सक्षम बनाउन सकिन्छ भन्ने विषय प्रमुख रहेको थियो ।

हाल सम्म विपद्का समयमा राहत दिने प्रणालीमा आधारित रहेको भए पनि आगामी दिनमा समुदायलाई नै सक्षम बनाएर विपद्को समयमा प्रतिकार्य क्षमता अभिवृद्धि गर्नु पर्ने कुरामा उक्त कार्यक्रमले जोड दिएको थियो । आगामी दिनमा परियोजना कार्यान्वयन भएका स्थानीय तहहरुमा समुदाय र स्थानिय सरकारलाई सक्षम बनाउनका लागि आवश्यक ज्ञान तथा सिप प्रदान गर्ने र विपद्को समयमा प्रतिकार्य सामथ्र्य बढाउने लक्ष्य परियोजनाको रहेको जुम्ला क्लष्टरका लिड प्रकाश केसीले जानकारी दिनुभयो ।

कार्यक्रममा समुदायमा विपद् तथा कुनै पनि सवालमा निर्णय प्रक्रियामा लैङ्गिंक समानता तथा सामाजिक समावेशीकरणको सवाल लाई केन्द्रमा राखिएको छ । विपन्न तथा सिमान्तकृत समुदायका महिला, बालबालिका, दलित, जनजाति तथा लोपोन्मुख जाति सधै जसो विपद्को समयमा प्रभावित हुदै आइरहेका छन् । भकारी परियोजना युएसएआइडी र मर्सिकोरको सहकार्यमा स्थानीय साझेदार संस्थाहरुद्धारा कार्यान्वयन गरिएको छ ।

तालिम प्रशिक्षक चेत तामाङ, सुशिला पण्डित, टिकाराम खड्का र मंकेश गुप्ताले सहजीकरण गरेका थिए भने सामुदायिक उत्थानशिलतामा जोड दिदै विपद् प्रतिकार्यमा समुदायलाई सक्षम बनाउनु पर्नेमा जोड दिइएको थियो ।