नगरपालिकाका सबै वडामा स्वास्थ्य सेवाको पहुँच – Karnali News

नगरपालिकाका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

 २८ माघ २०७७, बुधबार २०:२६  

नौरते नेपाली, माघ २८ जुम्ला
चन्दननाथ नगरपालिका जुम्लाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन एकै दिन चारवटा वडामा आधारभुत वडा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको छ । वडा नम्बर २, ३, ६ र ९ नम्बर वडामा नगरपालिकाले आधारभुत वडा स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याएको हो । नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनको लागि स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले बताउनु भयो ।

चारवटै वडामा स्थापना भएका स्वास्थ्य सेवा केन्द्रको मेयर सेजुवालले उद्घाटन गर्दे सेवा प्रभाव गर्न पनि आग्रह गर्नु भएको छ । नगरपालिका भित्र रहेका १० वटा वडामध्ये ५ नम्बर बाँहेक सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको मेयर सेजुवालको भनाइ छ । नगरपालिका भित्र रहेका ४ हजारर २ सय ६१ घरपरिवारका झण्डै २० हजार ८ सय ८४ जना नागरिक स्वास्थ्यको प्रत्यक्ष पहुँचमा पुगेको उहाँको भनाइ छ ।

वडा नम्बर १ मा रहेको सहरी सामुदायिक स्वास्थ्य इकाईलाई वडा नम्बर ४ को सिंगाचौर गाउँमा सार्ने तयारी भएको उहाँले जानकारी गराउनु भयो । सर्वसुभल र सहज रुपमा गाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रमुख उद्देश्यका साथ स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको सेजुवालको भनाइ छ । जेष्ठनागरि र ससाना बालबिकाहरुलाई टाडासम्म लिएर उपचार गराउन समस्या हुने भएकाले आधाभुत स्वास्थ्य सेवा गाउँमा दिनको लागि स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको उहाँले बताउन भयो  ।

चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेलले स्थानीय सरकार आएको महसुस गराउँदै घरदैलोमा स्वास्थ्य सेवा दिने लक्ष्य रहेको बताउनु भयो । नगरपालिकाको समानीकरण अन्तर्गतको ७० लाख रुपैयाँबाट चारवटा वडामा स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको उहाँले जानकारी गराउनु भयो ।

प्रत्येक स्वास्थ्य सेवा केन्द्रमा ३÷३ जना कर्मचारी व्यवस्थापन गरी सेवा प्रवाह सुरु भएको पौडेलले बताउनु भयो । रकमको अभावमा उपचार गर्नबाट बञ्चित हुने नागरीकलाई लक्षित गरी सेवा दिने उद्देश्यले स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको उहाँको भनाइ छ । आधारभुत स्वास्थ्य संस्था नभएका चारवटा वडालाई पहिलो प्राथमकितामा राखेर स्वास्थ्य सेवा केन्द्र संचालन गरिएको पौडेलले बताउनु भयो ।
आधारभुत वडा स्वास्थ्य सेवा केन्द्रबाट ६४ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइने चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रवहादुर महतले बताउनु भयो । उहाँका अनुसार नेपाल सरकारबाट निःशुल्क उपलब्ध हुने ३५ प्रकारका औषधि भएता पनि अन्य २९ प्रकारकार औषधि नगरपालिकाले खरीद गरी नागरिकलाई निःशुल्क उपलब्ध गराउने महतले जानकारी गराउनु भयो ।

पैशाको अभावमा नागरिकले स्वास्थ्य सेवा लिनबाट बञ्चित हुनु पर्ने अवस्थाको अन्त्य भएको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका भित्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको हुनाले नगर अस्पताल स्थापना गर्न नसकिएको नगरपालिकाले जनाएको छ । प्रत्येक वडामा आधारभुत वडा स्वास्थ्य सेवा केन्द्र संचालन भएको भन्दै नागरिकहरु खुसी भएका छन् । घर आगनमै स्वास्थ्य सेवा पाइने भन्दै नागरिक खुसी भएका हुन् । चन्दननाथ नगरपालिका वडा नम्बर ३ का सरस्वति बुढथापाले घर आगनमै स्वास्थ्य सेवा पाइने भएकाले खुसी भएको प्रतिक्रिया दिनु भएको छ ।