
नौरते नेपाली, माघ १३ जुम्ला
संभावित दुर्घटना क्षेत्रको पहिचानदुर्घटना न्यूनीकरण गर्ने लक्ष्य सहित चन्दननाथ नगरपालिका वडा नम्बर ७ भित्र पर्ने तिनवटा स्थानमा संभावित दुर्घटना क्षेत्रको पहिचान गरिएको छ । यातायाता व्यवस्था कार्यालय नजिक, वडाको कार्यालय जनिकको मोड र मिचा नजिक सडकलाई संभावित दुर्घटना क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ । पहिले बढी दुर्घटना भएका स्थानमा सावधान लेखिएका साइन बोर्ड राखेर संभावित दुर्घटना क्षेत्र पहिचान गरिएको प्रहरी हवल्दार कुसराज शाहीले जानकारी गराउनु भयो ।
चन्दननाथ नगरपालिका वडा नम्बर ७ को समन्वयमा उक्त वडा भित्रका तिन वटा स्थानलाई संभावित दुर्घटना क्षेत्र पहिचान गरिएको उहाँको भनाइ छ । ट्राफिक कार्यालय पूर्वमा रहेको महतगाउँ नजिकै र वडा कार्यालय नजिकै रहेको मोडलाई संभावित दुर्घटना क्षेत्र पहिचान गरिएको शाहीले जानकारी गराउनु भयो । विगतमा उक्त स्थानमा दुर्घटना भएकाले संभावित क्षेत्र पहिचान गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब निरीक्षक प्रताम कुमार त्रखीले बताउनु भयो ।
सडक सुरक्षाको अवस्था अध्ययन गरी जोखिम क्षेत्र पहिचान गरिएको उहाँले जानकारी गराउनु भयो । संभावित दुर्घटना क्षेत्रमा ट्राफिक सङ्केत, आवश्यक भौतिक निर्माण लगायतका काम गरेर सुरक्षित क्षेत्र बनाउन खोजिएको खत्रीले बताउनुभयो । उहाँका अनुसार पहिचान भएका सबै क्षेत्रमा दुर्घटना न्यूनीकरणका उपाए अपनाउन थालिएको र सडक जाँचलाई कडाइ पारेको प्रहरीले जनाएको छ ।
जुम्लामा पनि जेब्रा क्रसिगंका विषयमा सचेत गराउनको लागि आगामी दिनमा सचेतनामुलक कार्यक्रम गर्न लागिएको प्रहरी हवल्दार कुशराज शाहीले बताउनु भयो । ट्राफिक नियमका बारेमा जानकारी गराउनको लागि कार्यक्रमको सुरुवात गर्न खोजिएको उहाँको भनाइ छ ।