
नौरते नेपाली, माघ १० जुम्ला
नेकपा ओली पक्षको अनेरास्ववियु जुम्लाको बृहत भेलाबाट पदम स्वर्णकारको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटिको पुनर्गठन भएको छ । सहसंयोजकमा गोरखवहादुर रावत मनोनित हुनु भएको छ । भेलाले मीनराज आचार्यलाइ कारबाही गरेको छ । अनेरास्ववियुका पूर्व जिल्ला संयोजक आचार्यलाई कारबाही गरिएको हो । अनेरास्ववियुको संस्थागत कागजात लुकाएर काम गरेको र संठगन हित विपरित काम गरेको भन्दै कारबाही गरिएको हो । संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।
भेलामा बोल्दै नेकपा केन्द्रिय सदस्य टेकराज पछाइले प्रधानमन्त्रीले चालेको कदम जनताको पक्षमा रहेको बताउनु भयो । आगामी वैशाख १७ र २७ को हुने चुनावमा सबै एक भएर जुट्नु पर्ने उहाँको भनाइ छ । ताजा जनादेशका लागि सरकारले निर्वाचनको मिति घोषणा गरेको हुनाले सोहि अनुसार तयारी गर्न उहाँले युवाहरुलाई निर्देशन दिनु भएको छ ।
संसद विघटनका विरुद्धमा अन्य पक्षले गरेको सडक आन्दोलनको औचित्य नभएको पछाइको भनाइ छ । संसद विघटन संविधानमा भएको व्यवस्था अनुसार भएकाले त्यसमा अन्य पक्षले आन्दोलन गर्नुको अर्थ नरहेको उहाँले बताउनु भयो । सरकारले अघि सारेको नारालाई पुरा गर्न नदिने उद्देश्यले देश भित्र र बाहिरबाट घेराबन्दि गर्न खोजिएको पछाइले जानकारी गराउनु भयो ।