बिद्यालय स्तरबाटै विपदका बारेमा सचेत गराउनु पर्ने मन्त्री भण्डारीकाे भनाइ – Karnali News

बिद्यालय स्तरबाटै विपदका बारेमा सचेत गराउनु पर्ने मन्त्री भण्डारीकाे भनाइ

 ४ माघ २०७७, आईतवार १९:२३  

गोल्डेन बुढा माघ ४ गते प्राकृतिक विपद्बाट कर्णालीका नागरिकको मृत्यु भएमा प्रदेश सरकारले मृतकका परिवारलाई दुई लाखका दरले राहत स्वरुप उपलब्ध गराउने आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनु भएको छ । विपद् बीमा अन्तर्गत यो राहत उपलब्ध गराएको उहाँको भनाइ छ । आइतवार चन्दननाथ मावि जुम्लामा गरिएको प्राकृतिक एंव विपद् सचेतना कार्यक्रमको अवसरमा मन्त्री भण्डारीले यस्तो जानकारी गराउनु भएको थियो ।

प्रदेश सरकारले नै प्रदेशका सबै नागरिकको विपद् बीमा गरि दिएको छ । अब कर्णालीमा काम गर्ने कर्मचारीको विपद्मा मृत्यु भएमा उनीहरुका परिवारले पनि प्रति व्यक्ति दुई लाख रकम पाउने उहाँको भनाइ छ । प्राकृतिक प्रकोप र विपद् पूर्व सूचना दिएर आउँदैनन् । अर्थात् यस्ता घटनालाई नियन्त्रण नै गर्न सकिदैन । तर मानवीय प्रयासबाट यस्ता विपद्लाई न्यूनिकरण र क्षतिलाई कम गर्न सकिने उहाँले बताउनु भयो ।

विपद्जन्य घटनाले मानविय र भौतिक रुपमा ठूलो नोक्सान हुन थालेपछि कर्णालीमा प्रदेश सरकारले विशेष रणनीति बनाएको जानकारी गराउनु भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशमा बाढी, पहिरो, आगलागी, असिना, हावाहुरी, महामारी जस्ता विपद्का घटनाबाट हुने क्षति न्यूनिकरण गर्न दशवर्षे रणनीतिक कार्ययोजना तयार पारेको हो ।

उक्त कार्ययोजनामा सन् २०२० देखि सन् २०३० सम्म गर्नुपर्ने रणनीति र लक्ष्यहरु समावेश छन् । सन् २०२२ सम्म अल्पकालिन, २०२५ सम्म मध्यकालिन र २०३० सम्म दीर्घकालिन लक्ष्य कार्ययोजनाले समेटेको उहाँको भनाइ छ । बिद्यार्थी भविष्यको सचेत नागरिक भएकोले बिद्यालय स्तरबाटै विपद् न्युनिकरणका उपायका बारेमा सचेतना कार्यक्रम गर्न जरुरी रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनु भयो ।

प्रकोप नियन्त्रणका बारेमा गरेको प्रशिक्षण निकै प्रभावकारी बन्दै गइरहेको बताउँदै विद्यालयले पनि विपद् कार्ययोजना बनाएर अघि बढ्नु आजको आवश्यकता रहेको जानकारी दिनु भयो । विपद् कसैलाई सोधेर नआउने भएकोले पुर्व तयारीमा रहनु अहिलेको अपरिहार्यता रहेको समेत जानकारी दिनु भयो । सबै विपद् नियन्त्रणका अभियानमा जुटौँ, जोखिम न्युनिकरणमा लागौँ भन्ने सोचको विकास गर्नु पर्ने उहाँले जानकारी दिनु भयो । संभावित प्रकोप र विपद्को बारेमा सचेत पार्दै विपद् जानु पूर्व अपनाउनु पर्ने क्रियाकलापका बिषयमा सिकाइएको थियो ।

प्राकृतिक एंव विपद् सचेतना कार्यक्रममा दर्जनौ विद्यार्थीहरु, शिक्षक शिक्षीको सहभागिता रहेकोथियो। भूकम्प, बाढीरपहिरो,चट्याङ,डुबान,आगलागी लगायत वर्षायाममा हुनसक्ने प्राकृतिक विपत्तिबाट जिल्लावासीको जीवन रक्षा गर्ने र यस बाट आइलाग्ने समस्या र चुनौतीका बारेमा जानकारी दिने लक्ष्य रहेको कर्णाली प्रदेश विपद् शाखा अधकिृत कृष्णवहादुर रोकायाले जानकारी दिनु भयो ।