विवाहका लागि सम्बन्धित वडाको सिफारिस अनिवार्य – Karnali News

विवाहका लागि सम्बन्धित वडाको सिफारिस अनिवार्य

 २४ जेष्ठ २०८०, बुधबार १९:३१  

जेष्ठ २४ जुम्ला

जुम्लाको तिला गाउँपालिकाले विवाहका लागि सम्बन्धित वडाको सिफारिस अनिवार्य गरेको छ । २०७९ चैत २२ गते बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार विवाह गर्नका लागि वडाको सिफारिस अनिवार्य गरेको हो । १ देखि ९ सम्मका वडा कार्यालयबाट अनिवार्य सिफारिस लिएर विवाह गराउन गाउँपालिकाले पत्राचार गरेको प्रमुख प्रसाशकिय अधिकृत मोहन वहादुर विष्टले बताउनु भयो ।

बाल विवाह बढ्दै गएको कारण बाल विवाह रोक्नको लागि उक्त कदम चालेको वडा उहाँको भनाइ छ । वडाबासिले विवाह गर्नु पूर्व वडाको सिफारिस अनिवार्य लिनु पर्ने व्यवस्था गरिएको विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, बाल विवाह न्युनिकरण गर्नको लागि तिला ६ लाई बाल विवाह मुक्त घोषणा पनि गरेका छौँ ।

देखासिकिले गर्दा हुने बाल विवाहलाई रोक्नको लागि वडाको सिफारिस गरिएको अनिवार्य गरेको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताउनु भयो । उहाँका अनुसार, बाल विवाह अन्त्य गर्नका लागि सबै वडालाई मुक्त घोषणा गर्ने तयारी रहेको जानकारी गराउनु भयो । पालिकाका ९ वटै वडा कार्यालय मार्फत विवाह पूर्व अनिवार्य वडाबाट सिफारिस लिने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

गाउँपालिका अध्यक्ष रोकायाले गाउँपालिकाले बालविवाह नियन्त्रण गर्न अनेकौँ प्रयास गरे पनि न्यूनीकरण सम्भव नभएपछि विवाह गर्नु पूर्व वडाबाट सिफारिस लिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो । गाउँकार्यपालिकाबाट गरिएको निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन गरिएको उहाँको भनाइ छ ।

रोकायाका अनुसार बालविवाह रोक्न चुनौति भएपछि यस्तो व्यवस्था गरिएको हो । जुनसुकै उमेर समूहकाले विवाह गर्दा पनि अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेस गर्नुपर्ने र स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको उहाँले जानकारी गराउनु भयो । मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन मिल्दैन ।

ऐन, अनुसार २० वर्ष नपुगि कसैले विवाह गर्न वा गराउन हुँदैन। ऐनमा उल्लिखित प्रावधान विपरीत भएको विवाह स्वतः बदर हुने भनिएको छ । त्यस बमोजिमको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था ऐनमा छ । मुलुकि अपराध संहिता २०७४ कार्यान्वयनमा आउनु अघि बिहे गर्न पाउने न्यूनतम उमेर महिलाको हकमा १८ र पुरुषको हकमा २० वर्ष थियो ।