
असार ८ जुम्ला
तिला गाउँपालिका स्तरीय बाल क्लब गठन गरिएको छ । बाल भेला कार्यक्रमबाट पालिका स्तरीय बाल क्लब गठन गरिएको हो । स्मृति बुढाको अध्यक्षतामा १९ सदस्यीय पालिका स्तरीय बाल क्लब गठन गरिएको हो । उपाध्यक्ष नविन सुनार, कोषाध्यक्ष मेघराज रोकाया र सचिव कर्ण बुढा लगायत १९ सदस्यीय पालिका स्तरीय बाल क्लब गठन गरिएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत श्रीवहादुर भण्डारीले बताउनु भयो ।
उहाँका अनुसार बाल सहभागिता र निर्णय प्रक्रियामा बालबालिकालाई समावेश गराउनको लागि बाल क्लब गठन गरिएको बताउनु भयो । वडाहरुमा संचालन भएको योजना तर्जुमा प्रक्रियामा बालबालिकालाई सहभागि गराउनको लागि बाल भेला कार्यक्रम गरिएको भण्डारीले बताउनु भयो । वडाको विकास निर्माणमा बालबालिकाको सहभागिता गराउदै योजना तर्जुमा प्रक्रियामा सहभागि गराउनको लागि बाल भेलाको आयोजना गरिएको हो ।
भेला कार्यक्रममा बोल्दै तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले बालबालिकाको हितका लागि काम गर्न गाउँपालिका तयार रहेको बताउनु भयो । बाल विकास र बाल समृद्धिका लागि बालमैत्री वडा घोषणा गर्न पनि तयार रहेको उहाँको भनाइ छ । बुढाका अनुसार असार १० गतेका दिन गाउँपालिकाले सार्वजनिक गर्ने नीति, कार्यक्रम र बजेटमा बालबालिकाहरुका सवाल समावेश हुने जानकारी गराउनु भयो ।
पालिका स्तरमा गठन भएको बाल क्लबसँग समन्वय र सहकार्य गरी गाउँपालिकाले बालबालिकाका क्षेत्रमा काम गर्ने बुढाको भनाइ छ । उहाँले भन्नुभयो, बाल विवाह न्युनिकरण र बिचमै विद्यालय छोड्ने बालबालिकाका लागि विशेष किसिमको कार्यक्रम ल्याउने तयारी भएको बताउनु भयो । उपाध्यक्ष बुढाले वडा स्तर देखि बालबालिकाका सवालहरु समावेश हुनु पर्ने बताउनु भयो ।
बाल भेला कार्यक्रममा सहभागि रासा बाल क्लबका अध्यक्ष ऐनवहादुर रावतले बोल्ने वातावारण सृजना गरेकोमा किर्डाक नेपाललाई धन्यवाद दिनु भएको छ । निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता गराउनु पर्ने विषयमा आयोजित बाल भेला कार्यक्रमले क्षमता विकास गराएको उहाँको भनाइ छ ।
यस्तै सृजनसिल बाल क्लबका अध्यक्ष मेघराज रोकायाले स्थानीय तहले बालबालिकाको क्षेत्रमा काम नगरेको गुनासो गर्नुभयो । बालबालिकाहरुलाई आउदो गाउँसभाबाट उचित सम्बोधन गर्न उहाँले माग पनि गर्नु भएको छ । बाल सहभागितालाई अर्थपूर्ण तवरले समावेश गर्न उहाँले जोडदार माग गर्नु भएको छ ।
वल्र्डजिभन इन्टरनेश्नल नेपालको सहयोग, किर्डाक नेपाल जुम्लाको सहजीकरण र तिला गाउँपालिकाको आयोजनामा पालीका स्तरीय बाल क्लब गठन गरिएको हो । यस्तै जुम्लाको चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकामा पनि बाल भेला कार्यक्रमको आयोजना गर्दै पालिका स्तरीय बाल क्बल गठन गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।