जुम्लामा आउदो भदौ १९ देखि २९ गतेसम्म महोत्सव हुने – Karnali News

जुम्लामा आउदो भदौ १९ देखि २९ गतेसम्म महोत्सव हुने

 २० जेष्ठ २०७९, शुक्रबार १५:४०  

नौरते नेपाली, जेठ २० जुम्ला
जुम्लामा आउदो भदौ महिनाको १९ देखि २९ गतेसम्म महोत्सव हुने भएको छ । जुम्ला उद्योग वाणिज्य संघ जुम्लाको आयोजनामा महोत्सव हुने भएको हो । व्यापार व्यवसाय तथा रैथाने बालीको प्रवद्र्धन र प्रचारप्रसार गर्नको लागि भदौ महिनामा महोत्सव गर्न लागिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार जुम्लामा स्याउ पाक्ने समयमा महोत्सवको आयोजना गर्न लागिएको बताउनु भयो । अध्यक्ष देवकोटाका अनुसार स्थानीय परम्परा, संस्कृति र रैथानले बाली तथा स्याउको प्रवद्र्धन गर्नको लागि तेस्रो पटक उद्योग वाणिज्य संघ जुम्लाको अगुवाईमा महोत्सव गर्न लागि बताउनु भयो ।

शुक्रबारका दिन पत्रकार सम्मेलनको आयोजना गर्दै उहाँले पर्यटकहरुका लागि घुम्न आउने उपयुक्त समय भदौ महिनामा भएकाले सोहि बेला महोत्सवको आयोजना गरिने जानकारी गराउनुभयो । पहिलो महोत्सव २०७५ र दोस्रो महोत्सव २०७६ सालमा जुम्लामा भएको थियो । त्यस यता जुम्लामा महोत्सव भएको छैन् ।

कोरोनाले गर्दा महोत्सव हुन नसकेको अध्यक्ष देवकोटाको भनाइ छ । उहाँका अनुसार यो पटक हुने महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि जुम्लाका आठवटा स्थानीय तह, सरकारी कार्यालय, सहकारी र निजि क्षेत्रसँग समन्वय गरिने बताउनु भयो । झण्डै २५ लाख रुपैयाँका लागतमा तेस्रो पटक महोत्सवको आयोजना गर्न लागिएको देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार यस पटक हुने महोत्सवमा रैथाने बालीका स्टलहरु बढी हुनेछन् । जुम्लाको स्याउ, सिसि, ओखर, राडिपाखि र खरायोको टोपी लगायतका उत्पादनको बजारीकरणमा महोत्सवले महत्पूर्ण भूमिका खेल्ने देवकोटाले बताउनु भयो । जुम्लामा उत्पादन हुने अर्गानिक बालीको बजारिकरण गर्दै यहाँको कला संस्कृतिको संरक्षण गर्न खोजिएको देवकोटाले बताउनु भयो ।

उहाँका अनुसार जुम्लामा रहेका ऐतिहासिक, सांस्कृति महत्वलाई सबैको सामु चिनाउन महोत्सवको आयोजना गरिएको बताउनु भयो । अर्गानिक फापरको केक, कागुनाको खिर, जुम्ली मार्सी धानको चामल, सिमी, ओखर, चिनो, अर्गानिक सेलरोटी, कोदाका रोटी, आलु चिप्स लगायत परिकारहरु महोत्सवमा स्टल बनाएर राख्न लगाइने आयोजनकले जनाएको छ ।

महोत्सव संचालनका लागि उद्योग वाणिज्य संघसँग रकम छैन, अध्यक्ष देवकाटाले भन्नुभयो सबैको सहयोग भएमा फरक तरिकाले संचालन गर्ने योजना छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको उपस्थितिमा कला संस्कृतिका संरक्षण गर्न उद्योग वाणिज्य संघ जुम्लाले महोत्सव गर्न लागेको बताउनु भयो ।