
जेठ १४ जुम्ला
नेपाल पत्रकार महासंघ शाखा जुम्लामा लगाईएको ताला खोलिएको छ । शुक्रबारका दिन जुम्लामा रहेको विभिन्न चारवटा पत्रकारहरुका पेशागत संघ संगठनहरुले महासंघमा तालाबन्दि गरेका थिए । शनिबारका दिन । नेपाल पत्रकार महासंघका पदाधिकारी र विभिन्न पत्रकारहरुको पेशागत संघ संगठनहरुको संयुक्त छलफलले महासंघमा लगाईएको ताला खोलिएको हो ।
मिति २०७९ जेठ १३ गते नेपाल पत्रकार महासंघ जुम्ला शाखा र जिल्लामा क्रियाशील पत्रकारहरुबीच विभिन्न मितिमा सार्वजनिक भएका विज्ञप्तिले देखिएको मतभेद अन्त्य गर्न र उत्पन्न परिस्थितिका कारण नेपाल पत्रकार महासंघमा लगाइएको तालाबन्दी खोल्ने सहमति भएको हो । जेठ ७ गतेका दिन चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काको पत्रकार सम्मेलन स्थागित भएपछि पत्रकारको छलफलको क्रममा इश्वरी प्रसाद देवकोटाले पत्रकारको लुटको स्रोत के हो ? भनेर बोल्नु गल्ती भएको भनी उक्त शब्द फिर्ता लिनुभएको छ भने आगामी दिनमा सार्वजनिक रुपमा अभिब्यक्ति दिदा संयमित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
इश्वरी प्रसाद देवकोटाको अभिव्यक्तिलाई लिएर मिति २०७९ जेठ ९ गते उपमेयर रामदेवी खड्काले आयोजना गरेको पत्रकार सम्मेलन पत्रकार महासंघबाट संगठित रुपमा बहिस्कार भएको भन्ने भ्रम मात्रै भएको हुँदा व्यक्तिगत विषयलाई आधार मानि सार्वजनिक व्यक्तिको अपमान गरिएको छैन र आगामी दिनमा गरिने पनि छैन ।
साथै उक्त विषय सम्मानित अदालत प्रति जोडिएकोमा यसै विज्ञप्ति मार्फत सच्याईएको छ । पत्रकार महासंघकी महिला उपाध्यक्ष दिलमाया शाही र पत्रकारहरु अमरनाथ योगी र सपना रावतबीच सामाजिक संजालमा भएको टीका टिप्पणीले निम्त्याएको व्यक्तिगत द्वन्द्व पत्रकार महासंघ र आन्दोलनरथ पत्रकारहरुको सहमतिमा सदाका लागि अन्त्य गरिएको छ ।
साथै यही विषयलाई लिएर आगामी दिनमा एकले अर्काेलाई हान्छु, मार्छु भनी सार्वजनिक अभिव्यक्ति दिएको खण्डमा सम्बन्धित पक्ष जिम्मेवार हुनेछन् भन्दै हालसम्मका सबै मनमुटाव अन्त्य भएको जानकारी गराइन्छ । अन्य पेसासँगै पत्रकारिता र लेखन क्षेत्रमा क्रियाशील साथीहरुको पेशा व्यवसायलाई लिएर सार्वजनिक र संगठित अभिव्यक्ति दिन नपाइने सहमति भएको छ ।
पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरुको हकहितका लागि अनवरत रुपमा संघर्ष गरेको गौरवशाली संगठन भएको हुनाले यसको गरिमा र मर्यादालाई उचो राख्न आजकै मितिदेखि पत्रकार महासंघको दुई पक्ष नभई एक पक्ष भएको जानकारी गराउँदछौं । साथै हालसम्म भएका कमीकमजोरी प्रति आत्मआलोचित हुँदै आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै नागरिकको सूचनाको हक प्रत्याभूति गराउन क्रियाशील रहने सामुहिक प्रतिबद्धता व्यक्त गर्दछौं भनिएको छ ।
यी माथिका सबै निर्णयलाई सम्मान गर्दै गोपनियता भंग नगर्ने नगराउने र संयुक्त प्रेस विज्ञप्ती निकाली महासंघमा लगाईएको ताला खोल्ने सर्वसहमत निर्णय भएको छ ।