
वैशाख २५ जुम्ला
कनकासुन्दरी गाउँपालिका अध्यक्षका उम्मेदवार दामोदर आचार्य निजामति जागरि छोडेर यतिबेला चुनावी मैदानमा हुनुहुन्छ । १५ वर्ष निजामतिमा सेवा गर्नु भएका आचार्यले चैत महिनाको १ गतेबाट राजीनामा दिएर अहिले चुनावी मैदानमा रहेको जानकारी गराउनु भयो । स्वास्थ्य तर्फको अधिकृत छठौँबाट राजीनामा दिएर अहिले गाउँपालिका अध्यक्ष जित्नको लागि चुनावी रणभूमिमा केन्द्रित भएको उहाँको भनाइ छ ।
निजामति क्षेत्रमा काम गर्दाको अनुभवलाई राजनीतिक क्षेत्रमा आएर देखाउन खोजेको आचार्यले बताउनु भयो । यति बेला उहाँ कनकासुन्दरी गाउँपालिका अध्यक्षको उम्मेदवार भएर चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम गर्दै हुनुहुन्छ । कनकासुन्दरी गाउँपालिका भित्रका पिछडिएको वर्ग र समुदायको उत्थानको लागि आफ्नो उम्मेदवारी भएको उहाँको भनाइ छ ।
आचार्यका अनुसार राजनीतिक क्षेत्रबाट नागरिकको जीवनस्तर सुधार गर्न र भ्रष्टचार रहित गाउँपालिका बनाउने संकल्प बोकेर चुनावी मैदानमा उत्रिएको बताउनु भयो । आफुसँग लामो समय निजामति क्षेत्रमा काम गरेको अनुभव भएकाले जनतालाई छिटो छरितो सेवा दिन र विकास गर्नको लागि राजनीतिमा सहभागि भएको उहाँको भनाइ छ ।
सुशासनका क्षेत्रमा जुम्लाकै अब्बल गाउँपालिका बनाउने उहाँले प्रतिवद्धता गर्नु भएको छ । गाउँपालिकाको समग्र विकासका लागि १० वर्षे योजना बनाएर सुन्दर गाउँपालिका निर्माण गर्ने परिकल्पना गरेको उहाँको भनाइ छ । अध्यक्षका उम्मेदवार आचार्यले जनताको मत र भावनालाई सम्बोधन गर्दै १५ शैयाको अस्पताल निर्माण गरि गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा दिने बचन गर्नु भएको छ ।
उहाँले भन्नुभयो, म पनि स्वास्थ्य क्षेत्रबाटै आएको हुँ, सर्वसुलभ र निःशुल्क रुपमा नागरिकले उपचार गर्न पाउने वातावारण तय गर्ने जानकारी गराउनु भयो । अबको पाँच वर्ष पछि कनकासुन्दरी गाउँपालिका निकै परिवर्तन सिल भएको हुने छ उहाँले भन्नुभयो त्यहि भएर मलाई मतदान गरि दिनुहोला ।
कनकासुन्दरी गाउँपालिका भित्रका नागरिकको अनुहारमा खुसी ल्याउनको लागि राजनीतिमा सहभागि भएको आचार्यले बताउनु भयो । उहाँका अनुसार पालिका भित्रका हरेक क्षेत्रमा भ्रष्टचार रहित बनाउने सपना बोकेको छु । अहिले सबै क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा भ्रष्टचार भएको छ आचार्यले भन्नुभयो, त्यसलाई कम गर्दै अब भ्रष्टचार रहित गाउँपालिकाले बनाउने छु ।
शतप्रतिशत निर्वाचनको मतपरिणाम आफ्नो पक्षमा रहेको उहाँले दावी गर्नु भयो । आम कनकासुन्दरी गाउँपालिका बासिले आफ्नो पक्षमा मतदान गर्ने उहाँको भनाइ छ । सबै पार्टीका युवाहरुको साथ आफुलाई भएकाले निर्वाचन जित्ने कुरामा दुईमत नभएको आचार्यले बताउनु भयो । शिक्षा क्षेत्रको एकिकृत विकास गर्ने, कक्षा कोठा व्यवस्थापन गर्ने र शैक्षिक सामाग्री व्यवस्थापन गर्दै गाउँमा रहेका विद्यालयबाट गुणस्तरीय शिक्षा बालबालिकाले आर्जन गर्न पाउने उहाँका भनाइ छ ।
स्वास्थ्य र शिक्षा क्षेत्रको विकास भएमा सबै नागरिक सचेत हुने र स्थानीय स्तरमै रोजगारी सृजना गर्नको लागि अध्यक्षमा आफ्नो उम्मेदवारी रहेको आचार्यले बताउनु भयो । नेपाली काँग्रेसबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार प्रेमकली बुढा हुनुहुन्छ ।