नगर प्रमुख पदका उम्मेदवार पदम शाहीका बारेमा – Karnali News

नगर प्रमुख पदका उम्मेदवार पदम शाहीका बारेमा

 २० बैशाख २०७९, मंगलवार १७:०३  

वैशाख २० जुम्ला
२०५४ सालबाट सक्रिय राजनीतिमा उत्रिएका पदम शाही बैशाख ३० गते हुने स्थानीय निर्वाचन जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवार बन्नु भएको छ । नगर प्रमुखमा नेपाली काँग्रेका तर्फबाट उम्मेदवार बन्नु भएका शाही नेपाली काँग्रेसको नगर कार्यसमितिको पूर्व सभापति पनि भइ सक्नु भएको हो ।

५३ वर्षीया शाहीले कानुन बीषयमा स्नातक गरि विगत ३० वर्ष देखि कानुन तथा सामाजिक क्षेत्रमा काम गर्दै आउनु भएको छ । २०४४ सालमा शिक्षण पेशाबाट आफ्नो जीवनचर्या शुरु गर्नु भएका शाहीले जुम्लाका विभिन्न विद्यालयहरुमा शिक्षण गरेको अनुभव छ । जुम्लाको खलंगामा रहेको चन्दननाथ माध्यमिक विद्यालय, दुर्गा माध्यमिक विद्यालय लाम्रा, जनज्योति माध्यामिक विद्यालय बारेकोटेवडा, सत्यवादी मावि दशाँैदी र प्रावि कुडिमा शिक्षण गर्नु भएका शाहीले शिक्षण पेशा छोडि निजामति सेवामा समेत प्रवेश गर्नु भएको थियो ।

जनस्वास्थ्य कार्यालय डोल्पाबाट स्थायी पदबाट राजीनामा गरि सामाजिक हित र सेवा गर्नका लागि लेकाली युवा क्वल गठन गरी क्लबको अध्यक्ष हुनुभयो । २०५४ सालमा तत्कालिन कार्तिक स्वामी गा.वि.स. वडा नं. ६ को नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार वनि बडा अध्यक्षमा निर्वाचित हुन भएको थियो ।

स्थायी जागिर छाडेर राजनीतिमा आउनु भएका शाही लामो समय देखि सामाजिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ । नेपाल रेडक्रस सोसाइटी जुम्ला जिल्लाको संयोजक भई जिल्लामा पहिलो पटक गाविस स्तरीय बाल क्वल गठन गरि बाल अधिकारकर्मीको रुपमा स्थापित भइ सक्नु भएको हो । अन्तराष्ट्रिय उद्घार समिति आइ.आर.सि.मा वाल संरक्षण अधिकृतको रुपमा काम गरेको अनुभव शाहीसँग छ ।

नेपाल कानुन समाजको जिल्ला फोकल पर्सन, जुम्लामा संविधान सूचना केन्द्र स्थापना गरि संविधान सभा सम्म नागरिकको राय सुझाव पेश गर्ने र संविधान सभामा भएको छलफललाई नागरिक सम्म पुर्याउने काम समेत उहाँले गर्नु भएको छ । संविधान निर्माण पश्चात विधेयकका बारेमा जिल्ला स्तरमा नागरिक सम्वाद कार्यक्रम संचालन गरि कानुन निर्माण प्रकृयामा सहभागितालाई अभिबृद्धि गर्न अहम भूमिका खेल्नु भएका शाही नेपाल वार एसोसियसनको कर्णाली क्षेत्रबाट पहिलो पटक खुला केन्द्रीय सदस्य समेत बन्नु भएको हो ।

उहाँ नेपाली काँग्रेसको नगर कमिटि सभापति हुदै अहिले महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । उहाँले नेपाली काँग्रेसको प्रशिक्षक बनि विभिन्न जिल्लामा काँग्रेसका कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिने काम गरि रहनु भएको छ । काँगेसको १२ औं महाधिवेशनमा कालिकोट जिल्लामा निर्वाचन अधिकृतको रुपमा समेत काम गर्नु भयो भने सोही महाधिवेशनमा मतदान अधिकृत समेत बन्नु भएको थियो ।

उहाँ जिल्ला कार्यसमितिको प्रशिक्षण विभागको सदस्य समेत हुनुहुन्छ । बाल अधिकार, महिला अधिकार, दलित अधिकारका विषयमा अधिकारकर्मीको रुपमा स्थापित बन्नु भएका शाही लामो समय देखि निःशुल्क रुपमा वकालत गर्दै आउनु भएको छ । २०७९ साल वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयरको आकर्षक उम्मेदवारको रुपमा रहनु भएका शाही आफ्नो प्रचार प्रसारमा भन्दा बढी नगर बिकास र समृद्घिका बिषयमा सोचि रहनु भएको छ ।

हाल सम्मका कुनै पनि निर्बाचनमा हार नब्यहोर्नु भएका शाही यसपालीको नगरप्रमुखमा आकर्षक मत ल्यायर जित्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।