निवार्चित भए सेवा सुविधा नलिने रावतको प्रतिबद्धता – Karnali News

निवार्चित भए सेवा सुविधा नलिने रावतको प्रतिबद्धता

 १८ बैशाख २०७९, आईतवार ०७:५५  

एनिसा हमाल, वैशाख १८ जुम्ला
नेमकिपाबाट तिला गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका धनबहादुर रावतले आफु निवार्चित भएमा पालिकाबाट कुनै सेवा सुविधा नलिने प्रतिबद्धता गर्नु भएको छ । पालिकाको नामबाट सवारी साधन, भत्ता, लगायतका कुनै पनि सेवा सुविधा नलिने र उक्त सेवा सुविधा ज्येष्ठ नागरिक, असाय, अपाङ्ग व्यक्तिहरुको लागी खर्च गर्ने प्रतिबद्धता गर्नु भएको हो ।

आफुले गाडि नचढ्ने र गाउँपालिकाका विरामी, गर्भवती महिलाहरुको लागि एम्बुलेन्स सेवाको व्यवस्था गर्ने उहाँले बताउनु भयो । नागरिकको आवश्यकताको आधारमा काम गर्ने रावतको भनाइ छ । सबै ठाउँमा सडक पुराउने, शुद्ध खानेपानीको व्यवस्था गर्ने, विजुली नपुगेको ठाउँमा विजुली र गरिव तथा दलित समुदायका विद्यार्थीलाइ उच्च शिक्षा पढ्नको लागि छात्रवृत्ति लगायतको व्यवस्था गर्ने उहाँको भनाइ छ ।

गाउँपालिकामा आएको बजेट सबै राजनीतिक दलका प्रतिनिधि र जनताको माझमा छलफल गरेर कुन गाउँमा के आवश्यकता छ त्यसको आधारमा बजेट बाँडफाड गर्ने उहाँले बताउनु भयो । पशुपालन, तरकारी खेति, अन्नबाली पकेटका कार्यक्रमहरु घोषणा गर्ने अध्यक्ष पदका उम्मेदवार रावतले बताउनु भयो ।

गाउँपालिका भित्रका जनताको हकहितका लागि पक्षपात रहित तरिकाले सबै गाउँलाई समेटर काम गर्ने उहाँले बताउनु भयो । जुम्लामा जडिबुटि प्रशस्त पाइने भएकाले यहाँको जडिबुटिलाई कसरी प्रयोग गर्न सकिन्छ त्यसको अनुसन्धान गरी सहि तरिकाले सदुपयोग गर्ने र गाउँपालिकामा रहेका जंगल, जडिबुटि, जनवार र जलको राम्रोसँग संरक्षण गर्ने रावतले बताउनु भयो । कृषकहरुको आय स्तर बढाउन स्याउ खेति, सिमि खेति, आलु खेतिमा जोड दिन उहाँको भनाइ छ ।

पालिकामा आएको बजेट मात्र नभएर प्रदेश र केन्द्रबाट वजेटको व्यवस्था गरी तिला गाउँपालिकाको विकास गर्ने उहाँले बताउनु भयो । तिला गाउँपालिकाको भुगोल पर्यटकिय हिसावले राम्रो भएकाले जुम्लाकोट, ढिपु, सुढि, घोडेसिममा पर्यटन केन्द्र बनाउने, रारालिहि, लर्मिमा सिमी, मास, स्याउ, आलु खेति राम्रो हुने भएकाले ती खेतिमा जोड दिने, लुमसेरा, स्याला लुमसेरा, फयालवाडा, थापागाउँ, सार्किवाडा, दानीवाडा, जोगीवाडामा धान,जौँ, गहुँ, मकै, स्याउ, नास्पति, आलु, फापर खेतिमा जोड दिने र कुन ठाउँमा कुन खेति राम्रो हुन्छ त्यसको आधारमा बजेट छुटाएर काम गर्ने उहाँको प्रतिबद्धता रहेको छ ।

आफुलाइ गाउँपालिकाको अध्यक्षमा जिताएको खण्डमा स्याउ राख्नको लागि कोल्ड स्टोर, आलु राख्ने घर र वृक्षारोपणमा जोड दिने पनि उहाँले बताउनु भयो । रात दिन नभनी जनताको सेवामा खटिन तयार रहेकाले एक पटक आफुलाई मतदान गरि सहयोग गरिदिन उहाँले सम्पूर्ण तिलाका नागरिकलाई अनुरोध गर्नु भएको छ ।

यदि आफुले पालिकाको लागि भने जस्तै काम गर्न नसकेको खण्डमा तुरुन्त पदबाट राजीनामा दिने पनि उहाँले प्रतिबद्धता गर्नुभएको छ । तिलामा गाउँपालिका उपाध्यक्ष पदमा नेमकिपाबाट फागुनी बोहोराले उम्मेदवारी दिनु भएको छ ।