
नौरते नेपाली, २० चैत, जुम्ला
प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपाल जुम्लाको साझेदारीमा जुम्लाको सिंजा भेगमा निर्माण भएका विभिन्न संरचनाको अनुगमन गरिएको छ । हिमा गाउँपालिका वडा नम्बर ७ को रुपेल्लीदेवी आधारभूत विद्यालयमा निर्मित बालमैत्री र अपाङ्गमैत्री भवन, सिंजा गाउँपालिका वडा नम्बर १ धापामा निर्मित स्वास्थ्य चौकी, कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ मा निर्माण भएको विद्यालय भवन अनुगमन र हस्तान्तरण गरिएको हो ।
प्लान इन्टरनेशनल नेपाल र किर्डाक नेपालको साझेदारीमा निर्माण भएको रुपेल्लीदेवी आधारभूत विद्यालयको बालमैत्री र अपाङ्गमैत्री भवन, धापाको स्वास्थ्य चौकी यसअघि नै निर्माण सम्पन्न भएर हस्तान्तरण भई सञ्चालनमा आइसकेका हुन् । समाजकल्याण परिषदका सदस्य सचीव मनोज भट्टको संयोजकत्वमामा प्लान इन्टरनेश्नल नेपाल र किर्डाक नेपालको टिमले अनुगमन गरेको हो ।
समाज कल्याण परिषदका उपनिर्देशक दिपेन्द्र पन्त, प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक सन्देश सिल्पकार, गभरमेन्ट म्यानेजर मदनराज जोशी, क्षेत्रीय प्रबन्धक मीना कुमारी पराजुली, किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारी लगायतको टिमले अनुगमन गरेको हो ।
विद्यालय अनुगमनको क्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक समेत सहभागी रहेको थियो । रुपेलदेवि आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुन्न रोकायाले दाता सबैलाई विशेष धन्यवाद दिनुभयो । भौतिक संरचना अभावको कारण पठनपाठनमा समस्या भएको, धेरै विद्यार्थीलाई एकै कक्षामा राख्न नमिल्ने, बालमैत्री शौचालयको अभाव, लेख्ने बोर्डको समस्या, ईसिडीका विद्यार्थीलाई कक्षाकोठा र पाठ्य सामाग्री जस्ता अनेक समस्या रहेकोले अब सहज भएको उहाँले बताउनुभयो । बालमैत्री वातावारणमा शिक्षण गराउने काममा सहयोग गरेको उहाँले किर्डाक नेपाल र प्लान इन्टरनेश्नल नेपालाई धन्यवाद दिनु भएको छ ।
यस्तै, समाजकल्याण परिषदका सदस्य सचीव मनोज भट्टले विद्यालय वरिपरि बिरुवा रोपि हरियाली र स्वच्छ वातावरण निर्माणमा ध्यान दिन विद्यालयका शिक्षक र अभिभावकको ध्यानाकर्षण गराउनु भएको छ । उहाँले विद्यालयले बालमैत्री भवन पाएसँगै अब गुणस्तरीय शिक्षामा ध्यान दिन आग्रह गर्नु भयो । अनुगमन टिमले धापा स्वास्थ्यचौकीको निरीक्षण समेत गरेको थियो ।
स्वास्थ्यचौकीको भवन, व्यवस्थापन, वर्थिङ सेन्टर, उपलब्ध औषधि, उपलब्ध सेवा लगायतका विषयमा जानकारी लिइएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताउनु भयो । अनुगमनका क्रममा स्थानीयहरुको माग अनुसार सक्ने थप सहयोगको प्रतिबद्धता गरेको प्लान इन्टरनेश्नल नेपालका राष्ट्रिय निर्देशक सन्देश सिल्पकारले बताउनुभयो ।
उहाँले स्थानीयका मागका आधारमा स्वास्थ्य र शिक्षा क्षेत्रमा थप सहयोग गर्न सकिने बचन दिनु भएको छ । हामी समुदायको लागि काम गछौँ उहाँले भन्नुभयो तपाइलाई के आवश्यक छ भन्नुहोस हामी यसका लागि पहल गछौँ । समाजमा रहेको कुरीति र कुसंस्कारका विरुद्धमा पनि तपाईहरु लाग्नुहोस यसले समाज परिवर्तन हुन्छ र राष्ट्र समृद्ध बन्छ सिल्पकारले भन्नुभयो ।