स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाको अध्यक्षमा न्यौपाने – Karnali News

स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाको अध्यक्षमा न्यौपाने

 १७ फाल्गुन २०७८, मंगलवार १७:२४  

रामकृष्ण बुढा, फाल्गुन १७ जुम्ला
कर्मेन्द्र न्यौपानेको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाको नयाँ नेतृत्व चयन गरिएको छ । उपाध्यक्षमा मिलन तिमिल्सीना, महिला उपाध्यक्षमा सताक्षी न्यौपाने, सचिवमा मानवहादुर बुढा, कोषाध्यक्षमा कमला बुढा र सहसचिवमा नवराज भट्टराई लगायत ११ सदस्यीय समिति चयन गरिएको निवर्तमान अध्यक्ष कमल रावतले बताउनु भयो ।

दोस्रोे जिल्ला अधिवेशनबाट ३ वर्षको लागि राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाको नयाँ नेतृत्व चयन भएको उहाँको भनाइ छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जुम्लाको दोश्रो जिल्ला अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेकपा एमाले प्रदेश कमिटी सदस्य धिरेन्द्रराज गिरीले एमाले माथि भएको घेराबन्दिलाई तोड्नु पर्ने अवस्था आएको बताउनु भयो ।

आन्तरिक र बाह्य शक्तिलाई परास्त पार्न सबै जनवर्गिय संगठनहरू लाग्नु पर्ने बेला आएको उहाँको भनाइ छ । नेकपा एमाले प्रति चौतर्फि रुपमा घेराबन्दि भएको बताउँदै उहाँले जनताको आशाको पार्टी बन्दै गएको गिरीले दावी गर्नुभयो । मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यकर्मीको भूमिकाले दिनदुखीहरुलाई सहयोग पुगेको उहाँले जानकारी गराउनु भयो । प्रदेश कमिटी सदस्य गिरीले एमालेको प्रगतिको खुडकिला स्वास्थ्यकर्मी भएको बताउनु भयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले मौलिक हकका रूपमा व्यवस्था भएको स्वास्थ्य अधिकार कार्यान्वयन गर्न स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । नेकपा एमालेको बिचार र सिद्धान्त बोक्ने स्वास्थ्यकर्मीहरुले अरु भन्दा फरक हिसाब सेवा दिनु पर्ने उहाँको सुझाव छ ।

जनताको बहुदलिय जनवादको सिद्धान्तसँग जोडिएका व्यक्तिहरुको आचारण फरक हुन आवश्यक रहेको उहाँले बताउनु भयो । महतका अनुसार गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्यकर्मीको प्रमुख भूिमका भएको बताउँदै उहाँले सेवालाई छिटो र छरितो प्रवाह गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल कर्णाली प्रदेशका सचिव सुशील शाहीले स्वास्थ्यकर्मीका सवाल र मुद्दाहरू जोडदार रूपमा उठाउने गरिएको बताउनु भयो । व्यवसायिक र पेशागत हिसाबले कटिवद्ध हुँदै जनताको सेवामा दिनरात खटिने स्वास्थ्यकर्मीलाई राजनीतिक रुपमा हेर्ने गरिएको उहाँले बताउनु भयो ।

स्वास्थ्यकर्मीका सवालहरु नीति गत तहमा लैजाने काम राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले गरेको उहाँको दावी गर्नु भयो । स्वास्थ्य क्षेत्रका वेथिति र सवालहरू उठाउने कार्य भएको भन्दै शाहीले कोरोना माहामारीको क्रममा अग्रपंक्तिमा स्वासथ्यकर्मीहरु खटिएको स्मरण गराउनु भयो । पेशागत महासंघका सचिवालय सदस्य देविकृष्ण चौलागाई लगायतका व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले पहिलो पटक स्थानीय तहमा संगठन निर्माण गर्ने कार्य गरेको छ । स्वास्थ्यकर्मीका सवालहरू सम्बन्धित ठाउमा पुराउने र स्वास्थ्यकर्मीले भोग्दै आएका समस्या हल गर्नको लागि संगठन आश्यक रहेको बताईएको छ ।