
नौरते नेपाली, फाल्गुन ०६ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका रजिष्ट्रार नृपेन्द्र महतले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान कर्णाली क्षेत्रको ड्रिम प्रोजेक्ट मात्र नभई स्वास्थ्य क्षेत्रकै गौरवपूर्ण योजना भएको बताउनु भएको छ । प्रतिष्ठानले कर्णालीको रुपरेखा मात्र परिवर्तन गर्ने नभई नेपालकै एचडिआई पनि चेन्ज गर्ने सामथ्र्य राख्ने उहाँको भनाइ छ ।
प्रतिष्ठानको भलाइका लागि सबै सरोकारवालाहरुको रचनात्मक सल्लाह, सुझाब र सहयोगको निरन्तर अपेक्षा गरेको उहाँले बताउनु भयो । रजिष्ट्रार महतले कार्यभार सम्हालेको ६ महिनाको अवधिमा दश वटा महत्वपूर्ण काम भएको जानकारी गराउनु भयो । एमबिबिएस, बिफार्मा, बिएनएस लगायतका ब्याचुलर लेभलका कार्यक्रमहरुको राष्ट्रपतिबाट समुदघाटन सहित औपचारिक शुभारम्भ भएको, बहुप्रतिक्षित बहु–वर्षिय चेरे चौर–जुम्लामा भौतिक संरचना निर्माणका लागि आवश्यक श्रोत ब्यबस्थापन कार्य अन्तिम चरणमा रहेको, राकम, दैलेखमा १ सय शैयाको ट्रमा सेन्टर संचालनार्थ उपलब्ध निःशुल्क जग्गा प्रतिष्ठानको नाममा गर्ने कार्यको शुरूवात भएको जानकारी गराउनु भयो ।
यस्तै उहाँले जुम्लाको प्रतिष्ठानका लागि स्थापनार्थ पहल समिति र निशुल्क जग्गादातालाइ दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरिएको, प्रतिष्ठानको संख्यात्मक रुपले बढी रहेका पदाधिकारीलाई मध्यनजर गर्दै एउटा मात्र मेडिकल डिन राख्ने, कार्यकारी परिषदबाट समयावधी सकिए पछि अन्य डिनहरु नियुक्ती नगर्ने, अनावश्यक फजुल कार्यालय खर्च घटाउदै काठमाण्डाँै स्थित सम्पर्क कार्यालय एउटा घरबाट घटाउदै एउटा फ्ल्याटमा सिमित गर्ने काम भएको बताउनु भयो ।
महतले भन्नुभयो, सम्पर्क कार्यालयका नाममा अनावश्यक राखिएका कर्मचारी संख्या घटाएर एक जना सहायक स्तरको कर्मचारी र कार्यालय सहयोगी बाहेक अन्य कर्मचारिलाइ केन्द्रिय कार्यालय जुम्लामा स्थान्तरण गरिएको बताउनु भयो । स्वास्थ्य मन्त्रालय अन्तर्गत कामकाज गर्ने कोठा पाइएमा हालको सम्पर्क कार्यालय पनि घटाउने तयारी रहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानका नाममा हुने अनाआवश्यक खर्चलाई घटाउने प्रयासमा पदाधिकारहरु लागि परेको महतले जानकारी गराउनु भयो । महतका अनुसार कार्यालय संचालन खर्चमा लगभग ३० प्रतिशत कटौती गरिएको र नयाँ शैक्षिक कार्यक्रमहरू नियमित सुचारु गर्न, अत्वाश्यक प्राध्यापक सहित शिक्षकहरुको आवश्यक संख्यामा ब्यबस्थापन गर्ने, राष्ट्रिय, अन्तरास्ट्रिय विश्वविद्यालय र अस्पतालहरु सँग सहकार्यका लागि अस्पताल सेवा, शिक्षा र अनुसन्धानसँग सम्बन्धित महत्वपूर्ण सम्झौता गर्ने कार्य सम्पन्न भएको बताउनु भयो ।
प्रतिष्ठानलाई नेपालकै नमूना र स्वास्थ्य क्षेत्रको हब निर्माण गर्ने योजना रहे पनि वर्तमान सरकारको असहयोगले गर्दा भने जस्तो काम हुन नसेको उहाँको भनाइ छ । रजिस्ट्रार महतले प्रतिष्ठानका लागि आवश्यक पर्ने बजेट माग गरिएको फाईल अर्थमन्त्रालय र स्वास्थ्यसँग सम्बन्धि कामहरु स्वास्थ्य मन्त्रालयमा अट्किएको बताउनु भयो । वर्तमान सरकारले अहिले पदाधिकारीलाई काम गर्ने उचित वातावारण नदिएको उहाँले गुनासो गर्नुभयो ।