सरकारले धाविका सुनमाया बुढालाई दुई लाखको पुरस्कार दिने – Karnali News

सरकारले धाविका सुनमाया बुढालाई दुई लाखको पुरस्कार दिने

 १८ पुष २०७८, आईतवार १८:०९  

कर्णाली न्युज, पुष १८ जुम्ला
जुम्लाकी अल्ट्रा म्याराथुन धाविका सुनमाया बुढालाई कर्णाली प्रदेश सरकारले दुई लाख रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने भएको छ । आइतबार बिहान मुख्यमन्त्री एवं कर्णाली प्रदेश खेलकुद विकास परिषद्का संरक्षक जीवनबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद् बैठकले बुढालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

धाविका बुढाले भर्खरै थाइल्याडमा सम्पन्न थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल रनिङ प्रतियोगितामा बुढाले महिला तर्फ प्रथम स्थान हासिल गर्नु भएको थियो । उहाँले १ सय १० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गर्नु भएको थियो । दुई हजार प्रतियोगीलाई उहाँले पछाडि पार्नु भएको थियो ।

त्यस्तै, हालै बंगलादेशमा सम्पन्न भलिबल प्रतियोगीतामा प्रथम स्थान हासिल गरेको नेपाली महिला भलिबल प्रतियोगिताकी खेलाडी जाजरकोटकी कामना विष्टलाई ५० हजार राशिको पुरस्कार दिने निर्णय भएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्यालले जानकारी दिनुभयो ।

सुर्खेतमा बन्दै गरेको प्रदेश रंगशालामा नेपालकै पहिलो भलिबलको कभर्ड हल निर्माण गर्ने र कालीञ्चोक मैदानलाई प्रदेश रंगशाला निर्माण नहुँदा सम्मका लागि वैकल्पिक खेलकुद मैदानको रूपमा प्रयोग गर्ने निर्णय भएको सदस्य सचिव सञ्यालले बताउनु भयो । २० मंसिरमा शिलान्यास गरिएको प्रदेश रंगशाला निर्माणको प्रगतिमा २८ दिनको अवधिमा माटो परीक्षणको काम सम्पन्न भएको, डीप बोरिङको काम भइरहेको, विद्धुतको ट्रान्सफर्मर राख्ने काम भइरहेको,

साइट घेरबारको काम भइरहेको भन्दै उहाँले ‘प्रदेशकै गौरवको आयोजनाको काममा तीव्रता दिइएको छ । प्रदेश गौरवको एक मात्रै आयोजना भएकाले समयमै निर्माण कार्य सक्ने गरेर कार्ययोजना सहित काम सम्पन्न गर्न मुख्यमन्त्रीले कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पदाधिकारी निर्देशन दिएको सदस्य सचिव सञ्यालले जानकारी दिनुभयो ।