
नौरते नेपाली, पुष ०८ जुम्ला
जुम्लाको हिमा गाउँपालिकाको १० औँ हिउदे गाउँसभा बुधबार सकिएको छ । गाउँसभाबाट चारवटा महत्वपूर्ण विधेयकहरु पास भएका छन् । बाल विवाह मुक्त घोषणा कार्यविधि, सरसफाई स्वच्छता कार्यविधि, छुईगोठमुक्त गाउँपालिका घोषणा कार्यविधि र स्थानीय तहको योजना प्रक्रियामा युवा सहभागिता सम्बन्धि कार्यविधि २०७८ पारित भएको प्रमुख प्रशासकिय अधिकृत रणवहादुर बुढाले बताउनु भयो ।
हिमा गाउँपालिकालाई निकट भविष्यमै बाल विवाह र छुईगोठ मुक्त घोषणा गर्ने तयारी अनुसार गाउँसभाबाट कार्यविधि पारित भएको उहाँको भनाइ छ । हिमाका विभिन्न गाउँमा रहेको बाल विवाहलाई उन्मुलन गर्नको लागि कार्यविधिमा टेकेर काम गरिने अध्यक्ष रजवहादुर शाहीले जानकारी गराउनु भयो ।
उहाँका अनुसार सडक र पालिकामा रहेका बजारको सुन्दरता कायम गर्नको लागि सरसफाई स्वच्छता कार्यविधिलाई गाउँसभाबाट पारित गरिएको उहाँले बताउनु भयो । अध्यक्ष शाहीका अनुसार मुगुको रारा जानको लागि पर्यटकहरु आइरहने भएकाले सुन्दर र सफा गाउँपालिका निर्माण अभियानमा आम स्थानीयलाई सहभागि गराउन कार्यविधिले सहयोग गर्ने बताउनु भयो ।
जनप्रतिनिधिको कार्यकाल सकिने बेला ल्याईएका कार्यविधिका आधारमा योजना र कार्यक्रम तयार गरि जनस्तरसम्म लैजाने तयारी भएको प्रमुख प्रशासकिय अधिकृत बुढाले बताउनु भयो । गाउँसभाबाट गाउँशिक्षा योजना स्वीकृत भएको भन्दै उहाँले सोहि आधारमा भौतिक संरचना निर्माण देखि गुणस्तरीय शिक्षाको रोडम्याप तयार भएको जानकारी गराउनु भयो ।
शिक्षा क्षेत्रको सुधार गर्नको लागि गाउँ शिक्षाको योजनाले सहयोग गर्ने उहाँको भनाइ छ । जिल्ला समन्वय समिति जुम्लाका सदस्य कल्पना परियारको प्रमुख आतिथ्यमा सकिएको गाउँसभाले चालु आर्थिक वर्षको साउन देखि हालसम्म भएका नीतिगत निर्णयलाई बहुमतबाट पारित गरेको छ ।
गाउँकार्यपालिकाले गरेका नीतिगत निर्णयलाई गाउँसभाले समर्थन पनि गरेको छ । प्रमुख अतिथी परियारले हिमा गाउँपालिबाट नमूना कामको सुरुवात भएको बताउनु भयो । उमेर नपुगि हुने विवाहलाई रोकथाम गर्नको लागि ल्याईएको कार्यविधिमा उल्लेख भएका कुरालाई अक्षरस पालना गर्नु पर्ने उहाँले बताउनु भयो ।
स्पष्ट नीतिको अभावले स्थानीय तहलाई काम गर्न समस्या भएको बताउँदै परियारले महिलाको हितमा हुने गरि ल्याईएको छुईगोठ मुक्त घोषणा कार्यविधिलाई कार्यान्वयनमा लैजान सुझाव दिनु भएको छ । परम्पराको नाउमा महिला माथि भएको अन्यायलाई कार्यविधिले सहज गर्ने अपेक्षा गरेको उहाँले बताउनु भयो ।