बाल विवाह न्युनिकरणका लागि साझा प्रतिवद्धता – Karnali News

बाल विवाह न्युनिकरणका लागि साझा प्रतिवद्धता

 ४ पुष २०७८, आईतवार १८:४२  

नौरते नेपाली, पुष ४ जुम्ला
बाल विवाह न्युनिकरणका लागि जुम्लाका सरोकारवाला निकायले साझा प्रतिवद्धता जाहेर गरेका छन् । परम्परागत रुपमा रहेको बाल विवाहले गर्दा किशोरकिशोरीको शारीरिक, मानसिक, संवेगात्मक र आर्थिक रुपमा समस्या गर्ने भएकाले यसको न्युनिकरणका लागि जुम्लाका सरोकारवाला निकायले साझा प्रतिवद्धता जाहेर गरेका हुन् ।

वडा, पालिका र जिल्लालाई बाल विवाह निषेधित बनाउनको लागि सबैले साझा प्रतिवद्धता व्यक्त गरेका छन् । बाल विवाह मुक्त जिल्ला बनाउनको लागि जिल्ला तथा स्थानीय स्तरमा कार्ययोजना निर्माण गर्ने र तथ्याङ्क संकलनमा साझा प्रतिवद्धता बनाईएको छ । यस्तै बाल विवाहका बारेमा स्थानीय संचार माध्यमबाट प्रचार प्रसार गर्ने र तिनै तहका सरकारलाई अभियानमा सहयोग गर्न अपिल गर्ने लगायतका साझा निर्णय भएको आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईले बताउनु भयो ।

जुम्लामा बालविवाह रोकथाम अभियानको प्रतिफल राम्रो हुदै गएको बताउदै उहाँले यसलाई निरन्तरता दिनुपर्ने जानकारी गराउनु भयो । उहाँका अनुसार बालविवाह गर्दा अध्ययन रोकिने, आर्थिक कठिनाई, पारिवारिक कलह सिर्जना हुने गरेको कारण बालविवाह रोकथाम अभियानलाई जारी राख्नु पर्ने चौलागाईले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका इनिसपेक्टर युवनकुमार चौधिरील ेप्रहरीमा बाल विवाह विरुद्धको उजुरी नै न्युन आएको बताउनु भयो । गत आर्थिक वर्ष २०७५÷०७६ मा २ वटा बाल विवाहको उजुरी परेको र त्यस यता कुनै पनि उजुरी नपरेको उहाँको भनाइ छ । सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले समय क्रमसँगै बिकास भएको प्रविधिको गलत प्रयोगले बालवालिका स्वयम् विवाह बन्धनमा फसेको बताउनु भयो ।

बाल विवाहले बालिकाहरु थप जोखिममा पर्नुका साथै दुव्र्यवहारहरुको शिकार हुने जोखिम पनि रहेको चौलागाईको भनाइ छ । उहाँका अनुसार सरोकारवाला निकायले जाहेर गरेको साझा प्रतिवद्धतलाई सबैले आफ्नो ठाउँबाट कार्यान्वयन गर्नु पर्ने बताउनु भयो । हिमा गाउँपालिका जुम्लाका उपाध्यक्ष हिमाली रोकायाले वडा नम्बर २ लाई छाउपडि र मानव अधिकार गाउँ घोषणा गरि सकेको बताउनु भयो ।

बाल विवाह न्युनिकरण अभियानमा प्रतिवद्ध रहेको उहाँले बताउनु भयो । यस्तै तिला गाउँपालिका जुम्लाका उपाध्यक्ष विष्णु बुढाले कुसंस्कार रुपमा रहेको बाल विवाह न्युनिकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताउनु भयो । पालिका स्तरमा कार्ययोजना बनाई न्युनिकरण अभियानमा सहभागि हुने उहाँको भनाइ छ ।

गाउँमा वाल विवाह हुने गरेपनि तथ्याङ्क नहुँदा काम गर्न समस्या भएको बुढाले बताउनु भयो । चन्दननाथ नगरपालिका जुम्लाका कार्यवहाक मेयर मीनवहादुर डाँगीले बाल विवाह समस्याका रुपमा रहेको बताउनु भयो । उहाँका अनुसार बाल विवाहलाई कम गर्नको लागि जनचेतानमुलक कार्यक्रमको आवश्यता रहेको बताउनु भयो ।

बालविवाह न्यूनिकरणका लागि सरकारी तथा गैरसरकारी तवरबाट विभिन्न प्रयासहरु भएपनि सफल हुन नसकेको उहाँको भनाइ छ । नागरिक समाजका संयोजक राजवहादुर महतले बाल अधिकारको संरक्षण गर्न हामी सबैको कर्तव्य हो भन्ने अनुभूति जबसम्म हुँदैन, तबसम्म बालविवाह अन्त्य नहुने बताउनु भयो ।

राजनीतिक संरक्षणले गर्दा बाल विवाह घटना बाहिर आउन नसकेको उहाँको भनाइ छ । समाजले बाल विवाहले सहज रुपमा स्वीकार गरेको हुनाले यसले प्रसय पाएको महतको भनाइ छ । बाल विवाह सम्बन्धि सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रम प्लान इन्टनेश्नल नेपालको सहयोग र आत्मसम्मानका लागि सहकार्य क्याड नेपाल जुम्लाको साझेदारीमा आयोजना गरिएको हो ।