जुम्लाको पट्मारा गाउँका ६ वटा घरलाई होमस्टे बनाइयो – Karnali News

जुम्लाको पट्मारा गाउँका ६ वटा घरलाई होमस्टे बनाइयो

 १६ मंसिर २०७८, बिहीबार ०८:२८  

नौरते नेपाली, मंसिर १६ जुम्ला
जुम्लाको पातारासि गाउँपालिका वडा नम्बर ७ पट्मारा गाउँलाई होमस्टे गाउँका रुपमा विकास गर्न लागिएको छ । होमस्टे संचालनका सबै काम सकिएको हातेमालो नेपाल जुम्लाले जनाएको छ । नमूनाका रुपमा पट्मारा गाउँका ६ वटा घरलाई होमस्टे बनाईएको छ । ६ वटा घरमा संचालन गरिएको होमस्टे सफल भएमा अन्य घरहरुलाई पनि होमस्टे बनाउने हातेमालो नेपाल जुम्लाको योजना रहेको छ ।

हाल रेडपाण्डा संरक्षण नेटवर्कको सहयोगमा ६ वटा घरलाई होमस्टे बनाईएको हातेमालो नेपाल जुम्लाका कार्यकारी निर्देशक टेक रावतले बताए । उनका अनुसार मुगुको रारा जाने पर्यटकलाई लक्षित गरि पट्मारा गाउँका ६ वटा घरलाई होमस्टे बनाईएको होे । गत वर्ष चैतदेखि सुरु भएको होमस्टे कोरोना भाइरस महामारीका कारणले होमस्टे बनाइएका घरमा पाहुना आएका छैनन् ।

कोरोनाको संकट कम भएर पर्यटनले लय समात्न थालेपछि फेरि पट्मारा गाउँका होमस्टे घरहरु पाहुनाको पर्खामा छन् । कार्यकारी निर्देशक रावतले पट्मारा गाउँका होमस्टे घरहरु पाहुनाको लागि पर्खामा रहेकाले आन्तरिक तथा बाह्य पर्यटनलाई निम्तो गरेको बताए । होमस्टे संचालन गर्नु भएका पट्माराका राज्यलक्ष्मी रावतले पाहुनाको पर्खामा रहेको सुनाइन ।

होमस्टेमा बस्न आउने पहुनालाई न्यानो स्वागतका साथै रैथाने बालीका परिकार खुवाउन आत्तुर रहेको उनले बताइन । रावतका अनुसार स्थानीय लोकल कुुखुराको सुप, मासु, कालीमार्सी चामलको भात, फापरको परिकार र चिनोको खिर लगायतका परिकार बनाएर पाहुनालाई खुवाउन सकिने बताइन ।

मुगुको रारामा जाने र पट्मारा गाउँकै माहारुद्र सामुदायिक वनमा भेटिएको दुर्लभ वन्यजन्तु रेडपाण्डा हेर्नको लागि आउने पर्यटनलाइ लक्षित गरि ६ वटा घरले होमस्टे सुरु गरेको रावत जानकारी दिइन । होमस्टे सुरु गरेका सबै घरले मापदण्ड पुरा गरेको भन्दै उनले स्वच्छ र सफा वातावारणमा बसाल्ने तयारी गरेको बताइन ।

विश्वकै लोपन्मुख अवस्थामा रहेको रेडपाण्डा हेर्नको लागि भएपनि पट्मारा गाउँमा एक पटक आउन उहाँले आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरिन । होमस्टे गाउँमै पहिलो भएकाले पाहुनालाई अर्गानिक परिकार पस्कने रावतको भनाइ छ । आन्तरिक पर्यटनलाई चलायमान बनाउन होमस्टे गाउँले महत्वपूर्ण अर्थ राख्ने उनले बताइन ।

आन्तरिक पर्यटनलाई बलियो बनाएमा बाह्य पर्यटक नआउँदा पनि लगानि उठाउन सकिने विश्वास गरिएको उनले सुनाइन । पट्मारा गाउँलाई आनीबानी परिवर्तन सहितको पूर्ण सरसफाई गाउँ बनाइने भएको छ । त्यसको लागि प्रत्येक घरमा कुहिने र नकुहिने फोहोर व्यवस्थापन खाल्डो व्यवस्था गरिएको छ ।

साथै जुठेल्नोको पानी व्यवस्थापन, धारा टुटी सहितको वाल्टिन व्यवस्थापन, सफा र वाटर सिल्ड प्यान सहितको साबुन पानी व्यवस्था भएको पक्की शौचालयको व्यवस्था र सफा र धुँवारहित भान्साको व्यवस्था गरिएको छ । मानवीय मूल्य र मान्यतालाई आत्मसाथ गरी सभ्यता र संस्कृतिको प्रबद्र्धन गर्दै, सरल जीवनशैली र पद्धतिको धरातलमा ‘मानवताको गाउँ पट्मारा होमस्टे जाउँ’ भन्ने लक्ष्य रहेको टेक रावतले बताए ।