बस दुर्घटनामा परि चालक र सहचालकको ज्यान गयो – Karnali News

बस दुर्घटनामा परि चालक र सहचालकको ज्यान गयो

 १५ मंसिर २०७८, बुधबार १२:५२  

नौरते नेपाली, मंसिर १५ जुम्ला

जुम्ला सिंजा गाउँपालिका वडा नम्बर १ जाँचमा बुधबार विहान यात्रु बहाक बस दुर्घटनामा परि चालक र सहचालकको घटना स्थलमा ज्यान गएको छ । दैलेख निवासी वर्ष ३२ का चालक नविन रावल र कालिकोट निवासी सहचालक वर्ष २३ का विशाल बमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दले बताए ।

जुम्ला कनकासुन्दरी गाउँपालिकाको गुठीज्युलाबाट सुर्खेत तर्फ जाँदै गरेको ना ६ क ४४३८ नम्बरको बस विहान झण्डै ८ बजेतिर दुर्घटनामा परेको उनको भनाइ छ । उक्त बसमा सवार कनकासुन्दरी गाउँपालिका ७ बस्ने वर्ष ४० का युक्ति कार्की र वर्ष ३३ का विरबल घर्ती घाइते भएको उनले बताए ।

बसमा सवार चार जना मध्ये दुई जनाको ज्यान गएको र दुईजना घाइते भएका छन् । चन्दका अनुसार घाइते दुवै जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जानकारी गराए । बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।