नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको सातौं जिल्ला अधिवेशन सुरु – Karnali News

नयाँ नेतृत्व चयनका लागि नेपाली काँग्रेसको सातौं जिल्ला अधिवेशन सुरु

 १ मंसिर २०७८, बुधबार १९:०७  

नौरते नेपाली, मंसिर १ जुम्ला
नेपाली काँग्रेस जुम्लाको नयाँ नेतृत्व चयनका लागि सातौं जिल्ला अधिवेशन कभर्ड हलमा सुरु भएको छ । अधिवेशन मार्फत पार्टीको १४ औंं राष्ट्रिय महाधिवेशनमा भाग लिने प्रतिनिधिहरु पनि चयन गर्ने जनाइएको छ । अधिवेशनको उद्घाटन सत्रमा बोल्दै कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री दिनबन्दु श्रेष्ठले एकता र सहकार्यको अधिवेशन हुने बताउनु भयो ।

जिल्ला अधिवेशनबाट नेपाली काँग्रेसको जुजारु र सक्रिय नेतृत्व चयन हुने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठका अनुसार सहमतिका आधारमा सभापति लगायतका अन्य पदाधिकारी चयनमा काँग्रेसले ध्यान दिने बताउनु भयो । विपिको सिद्धान्त र मर्म अनुसार मेलमिलापबाट जिल्ला अधिवेशन सम्पन्न गरिने उहाँले बताउनु भयो ।

संविधानसभा सदस्य ललितजंग शाहीले जिल्ला अधिवेशनबाट नेपाली काँग्रेसले एकताको सन्देश दिने बताउनु भयो । देश चलाउने अभिभारा काँग्रेसका काँधमा आएको हुनाले सोहि अनुसार जिल्ला देखि केन्द्रसम्म नेतृत्व चयनमा काँग्रेसले ध्यान दिने उहाँको भनाइ छ । शाहीका अनुसार नेपाली काँग्रेस भित्र गुट नभएको सन्देश दिने गरी सहमतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको बताउनु भयो ।

पूर्वराज्य मन्त्री भक्तवहादुर रोकायाका अनुसार सहमतिका आधारमा नेतृत्व चयन गरेमा सबैको भलाइ हुने बताउनु भयो । काँग्रेसका कार्यकर्ताहरुले पनि सहमतिबाटै नेतृत्व चयन गर्न दबाब दिएको हुनाले नेताहरुले पनि बिचार गर्नु पर्ने उहाँको सुझाव छ । नेपाली काँग्रेस प्रदेश सभा (क) का सभापति लछिमन बोहोराले सबैलाई मान्य हुने नेतृत्व चयन हुनु पर्ने बताउनु भयो ।

नेपाली काँग्रेस जुम्लालाई हाक्न सक्ने पार्टी नेतृत्व चाहिएको बोहोराको भनाइ छ । प्रदेश सभा (ख) का सभापति कालीवहादुर बुढाले काँग्रेसबाट अरु पार्टीले अनुशरण गर्ने खालको अधिवेशन हुने बताउनु भयो । नेपाली काँग्रेसका नेतृ तथा चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले सर्वसहमति अधिवेशन बनाउनु पर्नेमा जोड दिनुभयो ।

आगामी हुने निर्वाचनलाई मध्यनगर गर्दै जिल्ला अधिवेशनबाट सर्वमान्य चेतृत्व चयनमा काँग्रेसले ध्यान दिने उहाँको भनाइ छ । नेपाली काँग्रेस जुम्लाको अधिवेशनलाई नेकपा एमालेका नगर कमिटीका अध्यक्ष धर्मेन्द्र रोकाया, नेकपा एकिकृत समाजवादीका आदि प्रसाद न्यौपाने, नेमकिपाका अध्यक्ष पूर्णलाल खत्री र जसपाका विष्णु भण्डारी लगायतले शुभकामना दिनु भएको थियो ।

नेपाली काँग्रेस जुम्लाले तिन चरणको अधिवेशन गरि सकेको छ । वडा, नगर÷गाउँपालिका र क्षेत्रीय अधिवेशन काँग्रेस पहिले नै सम्पन्न गरि सकेको छ । जिल्ला अधिवेशनबाट ३० जना जिल्ला कार्यसमिति सदस्य र सभापति सहित ७ जना पदाधिकारी चयन हुने नेपाली काँग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार २५ जना महाधिवेशन प्रतिनिधि चयन हुने बताउनु भयो । हालका लागि जिल्ला कार्यसमिति ६२ सदस्यीय हुने र १४ जना पछि मनोनित हुने नेपाली काँग्रेस जुम्लाले जनाएको छ । जिल्ला अविधेशनका लागि प्रदेश (क) बाट ५ सय ७ र प्रदेश (ख) बाट ५ सय ११ जना प्रतिनिधि छनौट भएको नेपाली काँग्रेस जुम्लाका पार्टी सचिव कार्मा बुढाले बताउनु भयो ।

उहाँका अनुसार जम्मा १ हजार १८ जना जिल्ला प्रतिनिधि रहेको जानकारी गराउनुभयो । सहर्वसहमतिका आधारमा जिल्ला सभापति लगायत अन्य पदाधिकारी चयन हुने उहाँको भनाइ छ । यदि सहमति हुन नसकेमा १ हजार १८ जना जिल्ला प्रतिनिधिले जिल्ला सभपाति लगायतका अन्य पदाधिकारी चयन गर्ने उहाँले बताउनु भयो ।

सभपातिको लागि संस्थापन देउवा पक्ष समूहबाट पार्टी सचिव कर्णवहादुर शाही र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पार्टी सभापति दिपवहादुर शाहीका बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।