
नौरते नेपाली, कार्तिक १५ जुम्ला
कर्णाली प्रदेश सरकारले गरेको कर्णालीलाई प्राङ्गारिक (अर्गानिक) क्षेत्र घोषण गर्ने निर्णयलाई कार्यान्वयन गर्न जुम्लामा अर्गानिक मिसन अभियान सुरु गरिएको छ । यसै अन्तर्गत कृषि विकास कार्यालय जुम्ला, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सुर्खेत र खाद्य तथा कृषि संगठन (ँब्इ) ले जुम्लामा सोमबार प्राङ्गारिक मिसन तयारी गोष्ठि गरेको छ ।
व्यवसायिक प्राङ्गारिक तथा रैथाने बालीहरुको उत्पादन र बजारीकरण बीचको दूरीलाई कम गर्दै विशेष प्राङ्गारिक मूल्य श्रृङ्खलाको विकास गर्ने उद्देश्यका साथ अभियान गोष्ठि गरेको हो । जुम्लाका अगुुवा कृषक, पत्रकार, अर्गानिक कृषि अभियन्ता लगायतको उपस्थितिमा जिल्ला सदरमुकाम जुम्ला बजारमा आयोजित एक दिने गोष्ठिमा अर्गानिक जिल्लामा उत्पादन भएका कृषिजन्य वस्तुलाई बाह्य बजारमा सम्म प्रमाणिकरण गरि विक्रि गर्ने विषयमा छलफल भएको छ ।
कर्णाली प्रदेश सकारकाले १५ वर्षे प्राङ्गारिक कृषि योजना समेत तयार गरेको छ । प्राङ्गारिक खेतीको अभ्यास, उत्पादन सामाग्री तथा प्राविधिक सेवा विस्तार गर्ने लक्ष्य रहेको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका योजना माहाशाखाका कृषि प्रशार शाखा अधिकृत धनवहादुर कठायतले बताउनु भयो ।
प्राङ्गारिक कृषि उत्पादनमा बृद्धि गर्ने र हरित अर्थतन्त्रमा आधारित समृद्धि ल्याउने सोच रहेको उहाँले जानकारी गराउनु भयो । कठायतका अनुसार प्राङ्गारिक कृषि प्रणालीको माध्यमबाट कृषि पेशालाई व्यवसायिक र प्रतिस्पर्धी बनाइ कृषकहरुको जीवन स्तरमा सुधार गर्ने लक्ष्यका साथ कर्णाली प्रदेश प्राङ्गारिक कृषि ऐन, २०७६ समेत जारी भइ सकेको बताउनु भयो ।
उत्पादक र उपभोक्ता लगायतका सरोकारवालाहरुको सहभागीतामा स्थानीय परिवेश अनुसार उत्पादित तरकारी, खाद्यान्न तथा फलफूल विषादि रहित उत्पादनमा जोड दिईएको कठायतले जानकारी गराउनु भयो । अर्गानिक उत्पादनलाई ध्यान दिदै रासायनिक विषादि प्रयोग नगरी अर्गानिक जिल्लाको पहिचान यथावत राख्नु पर्ने उहाँको भनाइ छ ।
प्राङ्गारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम संचालन गर्न लागिएको भन्दै उहाँले उत्पादन वृद्धिमा सचेतना फैलाउन मद्दत पुग्ने बताउनु भयो । पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको कठायतको भनाइ छ ।
उहाँका अनुसार यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ खाद्य पदार्थको उत्पादनका लागि प्राङ्गारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कठायतकोे भनाइ छ । जैविक मल प्रयोगबाट गरिने खेतीलाई प्राङ्गारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ खाद्यन्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ ।
विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्ण रुपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले प्रदेशले कृषिमा ढुलमुले नीति लिएको बताउनु भयो ।
प्राङ्गारिक खेतीमा जोड दिईएको बेला च्याखंलर जातको ओखारका विरुवा वितरण हुँदै आएको बताउनु भयो । विषादीको प्रयोग बढ्दै जाँदा बजारमा स्वस्थ र खानयोग्य फलफूल, ताजा तरकारी लगायत खाद्य वस्तु पछिल्ला समयमा पाउन मुस्किल भइसकेको उहाँको भनाइ छ । तिला गाउँपालिका जुम्लाका अध्यक्ष रतननाथ योगिले कृषि क्षेत्रको नीति बनाउनको लागि सुझाव लिने र विज्ञले आफु अनुकूलको नीति निर्माण गर्ने अभ्यास रहेको बताउनु भयो ।
कर्णाली प्रदेश सरकारले बनाउने नीतिले समग्र कर्णालीको समस्याहरु नीतिमा समावेश हुने उहाँको भनाइ छ । अध्यक्ष योगिका अनुसार खेती गर्दा प्रयोग गरिने रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटो, हावा, खोलानाला, वातावरणमा प्रतिकूल असर पुग्ने मात्र नभई बालीका लागि आवश्यक पर्ने मित्रुजीव पनि नष्ट हुँदै गएको बताउनु भयो ।
पातारासि गाउँपालिका जुम्लाका अध्यक्ष लछिमन बोहोराका अनुसार रासायनिक मलको सट्टा जैविक मल प्रयोग गरेर विभिन्न बालीको खेती गर्न सकिने बताउनु भयो । प्राङ्गारिक खेतीबाट किसानहरुलाई फाइदा भएको उहाँको भनाइ छ । बालीमा लाग्ने रोगकिराको नियन्त्रण नहुँदा किसानहरु मारमा परेको उहाँले जानकारी गराउनु भयो ।
उत्पादनमा ध्यान दिदै किसानलाई हेपाको दृष्टिकोणले हेर्न नहुने बोहोराको भनाइ छ । कृषि विकास कार्यालय जुम्लाका निमित्त प्रमुख बालकराम देवकोटाका अनुसार प्राङ्गारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, स्वस्थकर खाद्यन्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टमलाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिने बताउनु भयो ।
जुम्लाको रैथाने बाली संरक्षण गरे मात्र जुम्ला आत्मनिर्भर हुने उहाँको भनाइ छ । जुम्लामा रैथाने बालिहरु कोदो, फापर, उवा, ओखर, सिमि, चिनो, कागुनो धेरै उत्पादन गर्न सकिने सम्भावना रहेको देवकोटाले जानकारी गराउनु भयो । अर्गानिक मिसन सफल पार्न तथा रैथाने बाली अर्गानिक खेती प्रविधिमा विस्तार गर्दै बीउ संरक्षण तथा प्रवद्र्धन गर्नु पर्ने उहाँको सुझाव छ ।