सिंह दरबारको अधिकार गाउँमा आएको जनताले महशुस गरेनन – Karnali News

सिंह दरबारको अधिकार गाउँमा आएको जनताले महशुस गरेनन

 २१ आश्विन २०७८, बिहीबार ०७:५५  

कालीवहादु परियार, असोज २१ जुम्ला
असोज १९ जुम्ला । गाउँ गाउँमा सिंहदरवार आएको सुन्दा राजधानी काठमाडौँका सेवा सुविधा जनताको घरदैलोमा आईसके जस्तो लाग्छ । हुन पनि गाउँमा स्थानीय सरकारको नाममा जनप्रतिनिधि र संरचना पुगे । तर पनि नागरिकले सेवा सुविधामा सास्ती भोगिरहेकै अवस्था रहेको नागरिकहरुको गुनासो रहेका छन् ।

जनप्रतिनिधिको कार्यकालको समय चार वर्ष बित्यो तर जनप्रतिनिधि आफैँ पनि आफ्नो अधिकार र कर्तव्य बारे प्रस्ट नभएको देखिन्छ । स्थानीय तह गठन भएर जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिन लागेको छ । तर जुम्ला गुठिचौर गाउँपालिका वडा नम्वर ३ का हरी बुढालाई स्थानीय तह भनेको के हो ? र यसले के काम गर्छ भन्ने विषयमा अझै प्रष्ट जानकारी नभएको बताउनु भयो ।

स्थानीय तह पूर्ण रुपमा जनता मुखी र पारदर्शी हुन नसक्दा हरी जस्ता अधिकांश नागरिकमा जनप्रतिनिधि छन र सरकार छ भन्ने अनुभूति हुन सकेको छैन । गाउँगाउँमा सिंहदरवार भन्ने नारा सहित स्थानीय तहको रुपमा जनताको घर दैलोमा सरकार आए पनि कार्य सम्पादन प्रभावकारी नहुँदा नागरिक अनभिज्ञ रहेका छन ।

विधि र प्रक्रिया बिना हचुवाका भरमा हुने काम कारबाही, मौखिक आदेशका विकास निर्माण, ठेक्का प्रकृयामा भएका अनियमितता आदिले पनि स्थानीय तहलाई भ्रष्ट्रचारको थलो बनाएको नागरिक प्रतिनिधिको गुनासो रहेको छ । यस बारे पनि तल्लो तहका नागरिक बेखबर रहेको बताईएको छ ।

गुठिचौर गाउँपालिका वडा नम्वर ३ का अर्का स्थानीय भिमे बुढाका अनुसार जनताद्वारा जनताका लागि निर्वाचित भएकाहरुको जनता सँगै यति लामो दुरी किन भएको होला ? नागरिकका गुनासोका आधारमा भन्ने हो भने स्थानीय तहका जनप्रतिनिधिले थप पारदर्शी र जवाफदेही बन्नुपर्ने उहाँको भनाइ रहेको छ ।

जति जोगी आए पनि कानै चिरियाको भने जस्तै सिंहदरबारको अधिकार गाउँ घरमा आए पनि जनताले महंगी, ठुलो पैशाको कर, लगायतका समस्या झेल्नु परेको उहाँको भनाई रहेको छ ।