
नौरते नेपाली, असोज १० जुम्ला
सिंजा गाउँपालिका वडा नम्बर २ का ८ जना अति जोखिममा परेका बालबालिकालाई नगद रकम हस्तान्तरण गरिएको छ । आठ जना बालबालिकालाई ४ हजारका दरले जम्मा ३२ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको किर्डाक नेपालले जनाएको छ । सिंजा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष नविन शर्माको रोहबरमा नगद हस्तान्तरण गरिएको हो ।
वडा कार्यालयले सिफारिस गरेका आठ जना अति जोखिममा रहेका बालबालिका, उनिहरुका अभिभावक र संरक्षकको उपस्थितिमा रकम हस्तान्तरण गरिएको किर्डाक नेपालले जनाएको छ । युनिसेफ नेपालको सहयोग र किर्डाक नेपालको साझेदारीमा रकम हस्तान्तरण गरिएको हो ।
कोभिड–१९ पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत अति जोखिममा परेका बालबालिकालाई नगद हस्तान्तरण गरिएको किर्डाक नेपालका मेल अफिसर किरण पौडेलले बताउनु भयो । जोखिममा रहेका बालबालिकाहरुलाई वडा समितिको बैठकले गरेको निर्णय अनुसार नगद रकम हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।
सिंजा गाउँपालिका वडा नम्बर २ का तुला लुहार, पुष्प कमल वड, मुनका भेरीकर, लोकेस कामी, डिल्ली सार्की, पुजा शर्मा, सिशिर आचार्य र सुशिल सार्कीका अभिभावकलाई नगद हस्तान्तरण गरिएको वडाध्यक्ष नविन शर्माले बताउनु भयो । नगद हस्तान्तरण कार्यक्रममा बोल्दै वडाध्यक्ष शर्माले जोखिममा परेका बाललिकाको शैक्षिक अवस्था सुधार गर्न रकमले सहयोग पुगेको बताउनु भयो ।
काम गरी साँझ र विहानको छाक टार्न समस्या भएका घरपरिवारका बालबालिकाले नगद रकम पाएको हुनाले शैक्षिक सामाग्रीमा सहयोग पुग्ने उहाँको भनाइ छ । शर्माका अनुसार नगद हस्तान्तरण गर्ने जिम्मेवारी किर्डाकले स्थानीय सरकारलाई दिएकोमा आभार व्यक्त गर्नु भएको छ । स्थानीय सरकारको रोहबरमा जोखिममा परेका बालबालिकाले नगद पाउँदा आफुपनि खुसी भएको उहाँको भनाइ छ ।
नगद सहयोग गर्ने सहयोगि दाता किर्डाक पहिलो भएको भन्दै उहाँले आगामी दिनमा यस्तै सहयोगको आशा गरेको बताउनु भयो । यो भन्दा अघि जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर ५ का ५ जना बालबालिकालाइ पनि किर्डाक नेपालले नगद रकम हस्तान्तरण गरेको थियो ।