
नौरते नेपाली, असोज १० जुम्ला
नेपाली काँग्रेस जुम्लाको गाउँ र नगर अधिवेशनबाट ४ वटा पालिकामा सभापतिको टुंगो लागेको छ । कनकासुन्दरी, सिंजा, हिमा र गुठीचौरमा सभापतिको टुंगो लागेको हो । कनकासुन्दरीमा लालु बुढा, सिंजामा गोविन्द शर्मा, गुठीचौरमा टेकवहादुर भण्डारी र हिमा गाउँपालिकामा नरवहादुर शाही सभापतिमा चयन भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।
चारवटा स्थानीय तहमा सर्वसहमतिका आधारमा सभापतिहरु चयन भएको नेपाली काँग्रेस जुम्लाका महासमिति सदस्य गौरिनन्द आचार्यले बताउनु भयो । उहाँका अनुसार अन्य स्थानीय तहमा सर्वसहमतिबाट सभापति चयनको प्रयास भइरहेको जानकारी गराउनु भयो । आचार्यका अनुसार चन्दननाथ नगरपालिकामा सभापतिको लागि सहमति नभएपछि निर्वाचन चलि रहेको जानकारी गराउनु भयो ।
संस्थापन पक्ष अर्थात देउवा पक्षबाट अंगराज चौलागाई र रामचन्द्र पौडेल पक्षबाट रवि थापाका बिच प्रतिस्पर्धा हुँदैछ । यस्तै २ जना उपसभाति पदका लागि ४ जनाको उम्मेदवारी परेको निर्वाचन मण्डलले जनाएको छ । देउवा पक्षबाट जयवहादुर रावल र नितेश शाहीको उपसभापतिमा उम्मेदवारी परेको छभने पौडेल पक्षबाट अंगिता खत्री (उपाध्याय) र धर्मराज देवकोटाको उम्मेदवारी परेको छ ।
दुई जना सचिव पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट अर्जुन आचार्य एक्लो उम्मेदवार हुनुहुन्छ भने पौडेल पक्षबाट मकर वहादुर रावल र हस्त सार्कीको सचिव पदमा उम्मेदवारी परेको छ । यस्तै दुई जना सहसचिव पदका लागि ४ जनाको उम्मेदवारी परेको छ । देउवा पक्षबाट धनाकुमारी थापा र मकर बुढथापा उम्मेदवार रहनु भएको छ भने पौडेल पक्षबाट चन्द्रवहादुर रावत र चोरवहादुर भण्डारीले सहसचिव पदको उम्मेदवारी दिनु भएको नेपाली काँग्रेसका महासमिति सदस्य आचार्यले जानकारी गराउनु भयो ।
नगरको नेतृत्व चयन गर्नको लागि १ सय ७२ जना मतदाता रहेकोमा २ जना जिल्ला बाहिर रहेको हुँदा १ सय ७० जनाले मतदान गर्ने उहाँले बताउनु भयो । पातारासि, तातोपानी र तिला गाउँपालिकाको सभापाति चयनको कार्य जारी रहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।