
नौरते नेपाली, असोज ९ जुम्ला
नेपाली काँग्रेस जुम्लाले आठ वटै स्थानीय तहमा गाउँ र नगरको अधिवेशन सुरु गरेको छ । आईतबारसम्म टुंगो लगाउने गरी गाँउ र नगरको अधिवेशन सुरु भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । सहमतिबाट गाउँ र नगरको सभापति टुंगो लगाउने तायरी भएको नेपाली काँग्रेस जुम्लाका संगठन विभाग प्रमुख लक्ष्मण शाहीले जानकारी दिनुभयो ।
जुम्लाका आठ वटै स्थानीय तहमा अधिवेशन सुरु भइ सकेको शाहीले बताउनु भयो । नगरसभापतिको लागि अंगराज चौलागाई र रवि थापा आकांक्षी रहेको उहाँले बताउनु भयो । यस्तै गुठीचौर गाउँपालिकामा टेकवहादुर केसी र अर्जुन महतारा सभापतिको आकांक्षी रहेको शाहीले जानकारी गराउनु भयो । गुठीचौरमा सभापतिको टुंगो लगाउने काम नजिक पुगेको उहाँको भनाइ छ ।
पातारासि गाउँपालिकामा रतनसिंह बुढा र छाया बोहोरा सभापतिको आकांक्षी रहेको संगठन विभाग प्रमुख शाहीको भनाइ छ । तातोपानी गाउँपालिकामा धनकृष्ण प्रसाद चौलागाई र दुर्गा प्रसाद पाण्डे सभापतिको उम्मेदवार रहेको उहाँले बताउनु भयो । यसैगरि, तिलामा लक्ष्मीचन्द्र भट्टाराई र भक्त रोकाया सभापतिको आकांक्षी रहेका छन् ।
हिमा गाउँपालिकामा नरवहादुर शाही, जयनाथ योगी र उपराज अधिकारी सभापतिको आकांक्षी रहेको नेपाली काँग्रेस जुम्लाले जनाएको छ । सिंजामा गोविन्द शर्मा र गगन रोकाया सभापतिका उम्मेदवार देखिएका छन् । यस्तै कनकासुन्दरी गाउँपालिकामा लालु बुढा र प्रकाश खत्री सभापतिको आकांक्षी रहेको शाहीको भनाइ छ ।
नगर र गाउँपालिकाको सभापतिका आकांक्षीलाई सहमति र सहकार्यका आधारमा नेतृत्व चयन गर्न नेपाली काँग्रेस जुम्लाले आग्रह गरेको छ । पार्टी भित्र देखिएको देउवा पक्ष र रामचन्द्र पक्षको नभनी सिंगो नेपाली काँग्रेसको जीत हुने गरि नेतृत्व चयनका लागि आग्रह गरिएको शाहीको भनाइ छ । काँग्रेसले जिल्ला तथा प्रदेश सभापतिहरुको पनि उम्मेदवारी टुङ्ग्याएको जनाएको छ ।
जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट वर्तमान पार्टी सभापति दीपबहादुर शाहीको उम्मेदवारी टुङ्गो लागेको शाहीले बताउनुभयो । उहाँका अनुसार प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका नारायण बहादुर शाही र पौडेल पक्षका लक्षिमन बोहोरा तथा प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाको उम्मेदवारी टुङ्गो लागेको छ ।
यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने जनाईएको छ । सोमबारबार सम्म सम्पन्न हुने नगरको हकमा १ सय ७२ मतदाताले भाग लिनेछन् । यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९ सय ६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।
असोज महिनाको १२ गतेका दिन हुने प्रदेश “क” र “ख” को अधिवेशन हुने र असोज १५ गते जिल्ला अधिवेशन हुने भएको छ । संस्थापन देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवारका बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । गाउँ र नगरअधिवेशनमा भाग लिने मतदाताको नामावलि प्रकाशनकाे तयारी भएको नेपाली काँग्रेस जुम्लाले जनाएको छ ।
सहमतिका आधारमा केहि गाउँ र नगरका सभापति शनिबारकै दिन टुंगो लाग्ने र सहमति हुन नसकेको स्थानमा निर्वाचन प्रक्रियाबाट सपभाति टुंगो लाग्ने शाहीले जानकारी दिनुभयो ।