जातिय विभेद गर्ने वडाध्यक्ष बुढा धरौटिमा छुटे – Karnali News

जातिय विभेद गर्ने वडाध्यक्ष बुढा धरौटिमा छुटे

 १ भाद्र २०७८, मंगलवार १८:१६  

नौरते नेपाली, भदौ १ जुम्ला
जातिय विभेद गर्ने वडाध्यक्ष कालीवहादुर बुढा र उहाँका छोरा नविन बुढालाई अदालतले धरौटिमा छोडेको छ । जिल्ला अदालत जुम्लाका न्यायधिस शिव प्रसाद खनालको इजलासले जातिय विभेद गर्ने वडाध्यक्ष र उहाँको छोरालाई धरौटिमा छोडेको हो । वडाध्यक्ष बुढालाई १ लाख १० हजार र उहाँका छोरा नविन बुढालाई १ लाख धरौटिमा छोडेको जिल्ला अदालत जुम्लाले जनाएको छ ।

सिंजा गाउँपालिका ६ काँडागाउँका विवेन्द्र नेपालीलाई जातिय विभेद गरेको आरोप वडाध्यक्ष बुढा र उहाँका छोरालाई लागेको थियो । असार महिनाको २५ गतेका दिन पिडित नेपालीले जिल्ला प्रहरी कार्यालय जुम्लामा जातिय विभेद गरेको आरोपमा वडाध्यक्ष बुढा र उहाँको छोरा नविनलाई प्रतिवादि बनाइ जोहेरी दिनु भएको हो ।

अभियोग पत्रको माग दावी सजाएको हकमा २ महिना देखि २ वर्षसम्म कैद र २० हजार देखि २ लाख सम्म जरिवाना हुन सक्ने अभियोग दावी भएको जिल्ला अदालत जुम्लाका श्रेस्तेदार तथा सूचना अधिकारी चेतराज पन्तले जानकारी गराउनु भयो । उहाँका अनुसार ३ वर्ष भन्दा कम कैद सजाय हुने मुद्दामा न्यायलयले धरौटि लिने गरेको बताउनु भयो ।

सोहि सन्दर्भमा जातिय भेदभाव तथा छुवाछूत सजाय कसूर मुद्दाका प्रतिवादिलाई सिंजा गाउँपालिका वडा नक्बर ६ का वडाध्यक्ष कालीवहादुर बुढालाई १ लाख १० हजार र उहाँका छोरा नविन बुढालाई १ लाख धरौटि माग गरि पुर्पक्षको लागि न्यायिक प्रक्रियामा रहेको पन्तले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयमा जातिय विभेदको जाहेरी परे पनि प्रहरीले वडाध्यक्ष बुढालाई अनुसन्धानको प्रक्रियामा सहभागि नगराई सिधै अदालतमा उपस्थित गराएको हो । जाहेरी दर्ता भएबाट वडाध्यक्ष बुढा फरार हुनु भएको थियो । वडाध्यक्षका छोरा नविन बुढालाई प्रहरीले १० दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । प्रहरीले आफ्नो अनुसन्धान पुरा गरि सकेपछि वडाध्यक्ष बुढा र उहाँका छोरालाई अदालमा पेश गरेको थियो ।