नौरते नेपाली, साउन ३० जुम्ला
जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा पुरिएर २८ गतेका दिन मृत्यु भएको छ । खिरौला कोरेर पाटनबाट घर फर्किने क्रममा घट्टे खोलामा आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको स्थानीय गोरख वहादुर रावतले जानकारी गराउनु भयो ।
ताम्तीका तिन जनाको एकै साथ दुःखद निधन भएको खबरले स्तब्ध बनाएको उहाँको भनाइ छ ।
पहिरोमा परि ताम्तीका ३५ वर्षकी जैसरा रावत र उहाँको १० वर्षको छोरा सन्देश रावत र ६० वर्षका विर्ष वहादुर रावतको ज्यान गएको उहाँले जानकारी गराउनु भयो । तिनै जनाको एकै चिहान हुने गरि आएको पहिरोले सिंगो गाउँलाई दुखी र मर्माहित बनाएको रावतले बताउनु भयो । यता सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईका अनुसार एकै परिवार भित्रका आमा र छोरा एक जना छिमेकिको पहिरोमा परि ज्यान गएको बताउनु भयो ।
जुम्लामा यो वर्ष पहिरोमा परि तिन जनाले ज्यान गुमाएको पहिलो घटना भएको उहाँको भनाइ छ । आमा र छोरा एकै घरका भएको हुँदा ३ लाख र अर्का एक जनालाई २ लाख रुपैयाँ क्षतिपूर्ति वापत उपलब्ध गराउन सकिने चौलागाईले बताउनु भयो । जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन गर्ने प्रावधान भएकाले रकम भएमा तत्काल दिन सकिने र समितिमा रकम नभएमा केन्द्रसँग माग गरिने उहाँले जानकारी गराउनु भयो ।
पाटनबाट खिरौला संकलन गरि घर फर्किने क्रममा पहिरोमा परि १० वर्षको बालक सहित एक जना महिला र एक जना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख दानवहादुर थापाले बताउनु भयो । पहिरोमा परि ज्यान गुमाएका तिनै जनाको शव उद्धार पछि आफन्तलाई बुझाइ सकेको उहाँको भनाइ छ । पाटनमा खिरौला संकलन गर्न जाँदा आमा छोराको एकै चिहान हुँदा ताम्ती गाउँ शोकमा डुबेको छ । मृत्यु हुने तिनै जना ताम्तीका हुन ।
पहिरो गएको स्थानमा वडाध्यक्ष मक्करवहादुर रावत सहितको प्रहरी र स्थानीयको टोली पुगेको थियो । उक्त टोलिले पहिरोमा परि ज्यान गुमाएका तिनै जनाको शव निकालेको प्रहरी प्रमुख थापाको भनाइ छ । मृत्यु भएका तिनै जनाको स्थानीय परम्परा अनुसार शनिकारबा दिन दाहासंस्कार भइ सकेको उहाँले जानकारी गराउनु भयो ।
यसैबिच, अनेरास्ववियुले पहिरोमा परि तिन जनाको दुःखद निधन भएको घटनाका विषयमा दुःख व्यक्त गरेको छ । शनिबारका दिन एक शोक वक्तव्य जारी गर्दै मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रदान्जली अर्पण गरेको छ । बाढी पहिरोको जोखीममा रहेका स्थानहरुको पहिचान गरी नागरिकको जीउ धनको सुरक्षा गर्न शोक वक्तव्य मार्फत सरकारको ध्यानकर्षण गराईएको छ । अनेरास्ववियु जिल्ला कमिटि जुम्लाका सह संयोजक गोरख वहादुर रावतद्धारा जारी गरिएको शोक वक्तव्यमा पिडित परिवारलाइ राहत र क्षतिपूर्ति दिन माग गरिएको छ ।