जीवन स्तर सुधार गर्न किसानलाई बाख्रा वितरण – Karnali News

जीवन स्तर सुधार गर्न किसानलाई बाख्रा वितरण

 ६ श्रावण २०७८, बुधबार १७:४५  

नौरते नेपाली, साउन ६ जुम्ला

विपन्न वर्गका किसानको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले तिला गाउँपालिकाका किसानलाई बाख्रा वितरण गरिएको छ । २१ जना किसानलाई स्थानीय जातको बाख्रा वितरण गरिएको हो । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा संचालित पोषण, उत्थानशिल र जीविको पार्जन परियोजनाबाट बाख्रा र सामान वितरण गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।

बाख्रा पालनका लागि भूगोल र हावापानी उपयुक्त ठहर गर्दै किर्डाक नेपाल जुम्लाले तिलाका किसानलाई बाख्रा वितरण गरेको हो । अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने किर्डाक नेपाल जुम्लाले विश्वास लिएको छ । बाख्रापालन सजिलो पेशा भएको र राम्रो आयआर्जन गरि अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी गराउनु भयो ।

बजारमा मासुको समस्या भएकाले माग पूर्ति गर्न र किसानको जीवन शैलिमा सुधार गर्नको लागि बाख्रा वितरण गरिएको उहाँको भनाइ छ । बाख्राको स्याहार सुसार गरि संख्या वृद्धि गरेमा राम्रो आम्दानी गर्न सकिने शाहिले सुझाव दिनु भएको छ । तिला गाउँपालिकामा बाख्रापालनका लागि उपयुक्त वातावरण भएको बताउँदै उहाँले व्यवसायिक रुपमा बाख्रापालन व्यवसाय अघि बढाउन किसानहरुलाई आग्रह गर्नु भएको छ ।

किसानहरुलाई व्यवसायिक रुपमा बाख्रा पालन व्यवसायमा सहभागि गराउन खोजिएको शाहीले जानकारी गराउनु भयो । उहाँका अनुसार प्रति किसानलाई ३६ हजार रुपैयाँकाले दरले ७ लाख ५६ हजार रुपैयाँको बाख्रा र सामान वितरण गरिएको जानकारी गराउनु भयो । बाख्रा चराउन जाने किसानका लागि र्यामकोट, त्रिपाल र सोलार पनि वितरण गरिएको उहाँको भनाइ छ ।

भेडिगोडका लागि आवश्यक पर्ने सोलार पनि किसानलाई उपलध गराईएको शाहीले जानकारी गराउनु भयो । बाख्रा चराउन जाने किसानहरुको सुरक्षाका लागि आवश्यक पर्ने सबै सामान उपलब्ध गराईएको उहाँको भनाइ छ । एक जना किसानलाई ३ वटा बाख्रा वितरण गरिएको भन्दै उहाँले किसानहरुको जीवन स्तरमा सुधार हुने विश्वास व्यक्त गर्नु भयो ।

जिल्ला संयोजक शाहीका अनुसार तिला गाउँपालिका वडा नम्बर नम्बर १, ३, ४, ५, ७, ८ र ९ का २१ जना किसानलाई वडाले उपलब्ध गराएको सिफारिसका आधारमा बाख्रा वितरण गरिएको जानकारी गराउनु भयो ।