तिलाका १ सय ८३ घरपरिवार राहत पाउँदा खुसी – Karnali News

तिलाका १ सय ८३ घरपरिवार राहत पाउँदा खुसी

 २ श्रावण २०७८, शनिबार ०८:५९  

नौरते नेपाली, साउन २ जुम्ला
जुम्ला तिला गाउँपालिकाका नागरिकहरुले निःशुल्क राहत पाउँदा खुसी भएका छन् । कोरोनाले गर्दा काम गर्न नपाएको बेला राहत पाउँदा उनिहरु खुसी भएका हुन । तिलाका कोरोना प्रभावित १ सय ८३ घरपरिवारलाई किर्डाकले खाद्यन्न सहयोग गरेको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको सहकार्यमा खाद्यन्न वितरण गरेको हो ।

विश्वमा कोभिड–१९ को दोस्रो लहर चलिरहेको अवस्थामा विशेष गरि न्युन आय भएका व्यक्तिहरु समस्यामा परेको हुनाले उनिहरुका लागि राहत वितरण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी दिनुभयो । कोरोनाले गर्दा जुम्लामा पनि प्रभावि परेको हुनाले आर्थिक हिसाबले पछि परेका नागरिकलाई स्थानीय सरकारसँगको समन्वयमा राहत वितरण गरिएको शाहीले जानकारी गराउनु भयो ।

गत वर्ष पनि कोरोना प्रभावितलाई राहत वितरण गरेको किर्डाकले यसपटक पनि विभिन्न ठाउमा खाद्यन्न सहयोग गर्दै आएको संयोजक शाहीको भनाइ छ । तिला गाउँपालिका वडा नम्बर १, ६, ७, ८ र ९ मा किर्डाकले विहिबारका दिन खाद्यन्न सहयोग गरेको हो । गत असार १९ गतेका दिन पनि सोही वडाहरुमा २ सय २० घरपरिवारलाई खाद्यन्न वितरण गरेकोमा बाँकि रहेका १ सय ८३ घरपरिवारलाई खाद्यन्न सहयोग गरेको हो ।

किर्डाक नेपाल जुम्लाका फिल्ड अफिसर मनोज भट्टका अनुसार वडाध्यक्षहरुको सिफारिसमा अति प्रभावितलाई सहयोग राहत वितरण गरिएको जानकारी गराउनु भयो । राहत प्याकेजमा ३० केजि सोना मन्सुली मसिनो चामल, ३ केजि दाल, २ केजि चिनी, २ लिटर तेल, २ केजि नुन र ४ वटा साबुन रहेको जानकारी गराउनु भयो ।

उक्त राहतमा प्रतिव्यक्ति ३ हजार २ सय ८८ रुपैयाँका दरले बाडिएको र समग्रमा १ सय ८३ जनालाई वितरण गर्दा जम्मा ६ लाख १ हजार ७ सय ४ रुपैयाँको खाद्यन्न बाडिएको फिल्ड अफिसर भट्टले बताउनु भयो । यस्तै, राहत वितरणका क्रममा वडा नम्बर ८ का लाल बहादुर रावतले पाएको खाद्यन्न सहयोग आफ्नै वडाका निकै कमजोर अवस्था भएका पैलमान बस्नेतलाई दिनु भएको छ । उहाँका अनुसार आफू भन्दा पनि बढी पैलमान बस्नेतलाई राहतको खाचो भएकोले आफुले पाएको राहत उहाँलाई दिएको बताउनुभयो ।