वडाको समन्वयमा जेष्ठ नागरिकको स्वास्थ्य विमा गराइयो – Karnali News

वडाको समन्वयमा जेष्ठ नागरिकको स्वास्थ्य विमा गराइयो

 १९ असार २०७८, शनिबार ०६:५५  

नौरते नेपाली, असार १९ जुम्ला
चन्दननाथ नगरपालिका वडा नम्बर १ का १४ जना जेष्ठ नागरिकलाई वडाको समन्वयमा स्वास्थ्य विमा गराईएको छ । वडा भित्र रहेका ७६ मध्ये विमा नगरेका १४ जना ७० वर्ष माथि जेष्ठ नागरिकलाई वडाको समन्वयमा स्वास्थ्य विमा गराईएको वडाध्यक्ष जयवहादुर रावलले जानकारी दिनुभयो ।

स्वास्थ्य विमा बोर्ड जुम्लासँग समन्वय गरी १४ जना जेष्ठ नागरिकलाई वडाको समन्वयमा निःशुल्क विमा गराईएको उहाँको भनाइ छ । राज्यले ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गराउने नीति लिएको हुनाले सोहि आधारमा विमा गराईएको उहाँले जानकारी गराउनु भयो ।

विमा गर्न छुटेका १४ जना जेष्ठ नागरिकलाई वडाको सहजीकरणमा निःशुल्क स्वास्थ्य विमा गराईएको वडाध्यक्ष रावलले जानकारी दिनुभयो । विमा गराएपछि अब जेष्ठ नागरिकले सहजै रुपमा स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको उहाँको भनाइ छ । नेपालको संविधान २०७२ को धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट कानूनमा व्यवस्था भए बमोजिम आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरीने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हक भित्र राखेको छ ।

त्यसैगरी संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनी उल्लेख गरेको छ । जेष्ठनागरिक सम्बन्धि ऐन, २०६३ को दफा ९ मा जेष्ठ नागरिकहरुलाई स्वास्थ्य उपचारमा छुट तथा प्राथमिकता दिने विषय उल्लेख गरिएको छ । जनस्वास्थ्य सेवा ऐन, २०७५ लाई कार्यान्वयन गर्न बनेको जनस्वास्थ्य सेवा नियमावली,

२०७७ को नियम ३ र ४ मा आधारभूत स्वास्थ्य सेवा र आकस्मिक स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्नु पर्ने प्रावधान रहेको र साथै आधारभूत र आकस्मिक सेवा भित्र जेष्ठ नागरिक स्वास्थ्य सेवा समेत समावेश भएकोले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ६४ ले दिएको अधिकार प्रयोग गरी निःशुल्क उपचार गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेरियाट्रिक (जेष्ठ नागरिक) स्वास्थ्य सेवा संचालन निर्देशिका २०७७ जारी गरि सकेको छ ।

जेष्ठ नागरिकको उपचारमा सहजीकरण गर्न र विमा गराउन भुलेका जेष्ठ नागरिकको विमा गराउने काममा वडाले सहजीकरण गरेको वडाध्यक्ष रावलले बताउनु भयो । साथै वडा भित्र रहेको ७५ जना जेष्ठ नागरिकलाई हर्लिक्स, मास्क र सेनिटाईजर वितरण गरिएको उहाँले बताउनु भयो । जेष्ठ नागरिकहरुका कोरोनाको जोखिममा रहेको हुनाले स्वास्थ्य सामाग्री तथा शक्ति बढाउनका लागि हर्लिक्स वितरण गरिएको वडाध्यक्ष रावलले बताउनु भयो ।

स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवालले कोरोनाको जोखिमबाट सचेत रहन जेष्ठ नागरिकलाई सुझाव दिनु भएको छ । मास्कको सँधै प्रयोग गर्न र साबुन पानीले पटक–पटक हातधुन आग्रह गर्नु भएको छ । वडाले दिएको मास्क र सेनिटाईजरको प्रयोग गर्दे कोरोनालाई पराजित गर्न उहाँले सुभेच्छा प्रकट गर्नु भएको छ । जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई ख्याल गर्दे वडाले दिएको हर्लिक्सले शक्ति बढाउन सहयोग पुग्ने सेजुवालको भनाइ छ ।

स्वास्थ्य विमा गराउन छुटेका र थाहा नपाएका नागरिकका लागि वडाले गरेको समन्वयात्मक काम स्वागतयोग्य रहेको उहाँले बताउनु भयो । स्वास्थ्य संस्थामा उपचार गराउन गएमा ७० वर्ष भन्दाका जेष्ठ नागरिकले विना शुल्क उपचार गर्न पाउने नीति राज्यले लिएको मेयर सेजुवालले जानकारी गराउनु भएको थियो