
नौरते नेपाली, जेष्ठ १ जुम्ला
जुम्लाको चन्दनगरपालिका भित्र रहेका ५२ जना कोरोना संक्रमितलाई कोसेली लिएर मेयर कान्तिका सेजुवालको टोली शनिबार घरघरमा पुगेको छ । होम आइसोलेसनमा बसेका संक्रमितलाई कोसेली लिएर मेयर सेजुवालको टोली घरघरमा पुगेको हो । कोरोना संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन र कोसेली पुराउन संक्रमितको घरमा पुगेको मेयर सेजुवालले जानकारी गराउनु भयो ।
कोरोनोको दोस्रो भेरियन्टबाट संक्रमित भएर होम आइसोलेसनमा बसेका कोरोना संक्रमित विरामीलाई स्वास्थ्य सामाग्री र कोरोना विरुद्ध लड्न सक्ने कोसेली लिएर सेजुवाल प्रत्येकको घरमा पुग्नु भएको हो । मेयर कान्तिका सेजुवाल, प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेल र स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगी लगायतको नगरपालिकाको टोली कोसेली लिएर प्रत्येक संक्रमितको घरमा पुगेको हो ।
सेनीटाइजर, मेडिकल मास्क, भिटामिन सी र डी, च्यापनपरास, एक क्यारेट अण्डा, साबुन र चना लिएर नगरपालिकाको टोली संक्रमितको घरमा पुगेको हो । संक्रमितको स्वास्थ्य अवस्थाको चिन्ता गरी घरदैलो अभियान मार्फत कोसेली दिने कामको सुरुवात भएको मेयर सेजुवालको भनाइ छ । संक्रमित भएका विरामीलाई पौष्टिक तत्वको कमीले गर्दा स्वास्थ्य अवस्थामा समस्या नहोस भनेर कोसेली लिएर घरमा पुगेको उहाँको भनाइ छ ।
होम आइसोलेसनमा बसेका नागरिकबाट अरु व्यक्तिमा कोरोना सर्न सक्ने भएकाले सचेत रहन सुझाव दिने काम भएको उहाँले जानकारी गराउनु भयो । गाउँमा संक्रमित भएका कोरोनाका विरामीहरुले एउटै भान्सा, एउटै शौचालय, एउटै खानेपानी धारा प्रयोग गरेको हुनाले अरु मानिसलाई सचेत हुन आग्रह गरिएको मेयर सेजुवालको भनाइ छ ।
संक्रमितहरुलाई आफु सुरक्षित भई घरपरिवार र समाजलाई सुरक्षित राख्न तथा नगरपालिकाले दिएको पौष्टिक तत्वको सेवन गर्न सल्लाह दिएको उहाँले बताउनु भयो । होम आइसोलेसनमा बसेका संक्रमितलाई स्वास्थ्य अवस्था गाह्रो भएमा खबर गर्न पनि उहाँले अनुरोध गर्नु भएको छ । मेयर सेजुवालले भन्नुभयो, तपाइहरु आत्तिने काम नगर्नु होला, हामी छौँ, केहि समस्या भएमा खबर गर्नु स्थानीय सरकार तपाइको घरदैलोमा सेवाका लागि आइपुग्छ ।
संक्रमित भएकाहरुलाई सेजुवालले मास्कको नियमित प्रयोग गर्न, साबुन पानीले मिचिमिचि हातधुन र सेनिटाइजरको प्रयोग गर्न सल्लाह दिनु भएको छ । आत्मबल कमजोर भएका कोरोना संक्रमितको मनोबल बढाउन र गाउँमा हुने विवाह ब्रतबन्ध लगायतका कार्यमा सरिक नहुन पनि मेयर सेजुलाले सबै नागरबासिलाई आग्रह गर्नु भएको छ ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका प्रमुख पृथ्वीनाथ योगीले संक्रमितको अवस्था बुझन कोसेली लिएर घरघरमा पुगेको बताउनु भयो । चन्दननाथ नगरपालिका भित्र ५२ जना कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसेको उहाँले जानकारी गराउनु भयो । घरमा बसेका संक्रमितहरुको हेलचक्र्याइले गर्दा अन्य सदस्यहरु संक्रमित हुने भएकाले स्वास्थ्य परामर्श र औषधि सहित बोकेर प्रत्येकको घरमा पुगेको उहाँको भनाइ छ ।
योगीका अनुसार कोरोनाको दोस्रो भेरियन्ट कडा भएकाले संक्रमितलाई हेलचक्र्याइ नगरी स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्यमा समस्या देखिएमा तत्काल खबर गर्न पनि आग्रह गर्नु भएको छ । संक्रमितलाई शक्ति बढाउने अण्डा र चना दिएको योगीको भनाइ छ । नगरपालिकाको टोली कोसेली बोकेर घरमा पुग्दा कोरोना संक्रमित निकै खुसी भएका छन् ।
स्वास्थ्य अवस्था बुझ्नका लागि घरमा कोसेली लिएर पुगेको स्थानीय सरकारलाई संक्रमितहरुले धन्यावद दिएका छन् । नगरपालिका भित्रका कोरोना संक्रमितहरु होमआइसोलेसनमा बसेका छन् । कोरोना संक्रमित विरामी केशवनाथ योगीले स्थानीय सरकारले गरेको स्वागतयोग्य रहेको बताउनु भयो । कोरोनालाई जिति सक्नु भएका योगीले सरकारको सहभानुभूति र मायाले गर्दा मनोबल उच्च भएको बताउनु भयो ।
योगीको कोरोना रिपोर्ट अहिले नेगेटिभ आइ सकेको छ । तर, पनि उहाँ होमआइसोलेसनमा बसी रहनु भएको छ । होम आइसोलेसनमा बसेकाहरुबाट अन्य व्यक्तिमा कोरोना सर्न नदिनको लागि नगरपालिकाले उपलब्ध गराएको मास्क र सेनिटाइजरले रोकथामको काम गर्ने उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका भित्र होम आइसोलेसनमा बसेका संक्रमितहरुले कोरोनालाई खेलाचि गरेको भेटिएको छ ।
संक्रमित भएका र नभएकाहरु पनि एउटै ठाउँमा बस्ने, सार्वजनिक काममा जाने, एउटै भान्सामा खाना खाने र एउटै शौचालय प्रयोग गर्ने गरेको पाइएको छ । यसले गर्दा समुदाय स्तरमा कोरोनाको संक्रमण तिव्र गतिले फैलिने संभावना रहेको छ । कोसेली वितरणमा संगै हिडेका पत्रकारहरुलाई पनि नगरपालिकाले स्वास्थ्य सामाग्री दिएको छ । कोरोनाबाट सचेत र सजग रहनको लागि स्वास्थ्य सामाग्री दिएको हो ।