जुम्लामा थप १० दिनका लागि पूर्ण लकडाउन – Karnali News

जुम्लामा थप १० दिनका लागि पूर्ण लकडाउन

 ३१ बैशाख २०७८, शुक्रबार १८:३१  

नौरते नेपाली, वैशाख ३१ जुम्ला

जुम्लामा थप १० दिनका लागि पूर्ण लकडाउन गरिने भएको छ । कोरोना भाइरसको दोस्रो भेरियन्ट तिव्र गतिमा फैलिएको हुनाले थप १० दिनका लागि पूर्ण लकडाउन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताउनुभयो । डिसिसिएमसिको शुक्रबार बसेको बैठकले थप १० दिनका लागि पूर्ण लक डाउन गर्ने निर्णय गरेको उहाँले बताउनु भयो । जेष्ठ ११ गतेसम्म पूर्ण लकडाउने हुने भएको हो ।

१० दिनका लागि आवश्यक पर्ने खाद्य सामाग्री खरीदका लागि शनिबार विहानै देखि दिउसो १२ बजेसम्म सम्पूर्ण पसल खुला गर्न दिइने चौलागाइले बताउनु भयो । जेष्ठ २ गते विहान देखि १२ गतेसम्म जुम्लालाई पूर्ण रुपमा लकडाउन गरिने उहाँको भनाइ छ । पहिलो चरणमा गरिएको लकडाउनका बेला विहान ६ देखि ९ बजेसम्म खुला गरिएका तरकारी पसल पनि दोस्रो चरणको लकडाउनको समयमा बन्द हुने चौलागाईले बताउनु भयो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो चरणमा वैशाख २२ गते राती १२ बजेबाट लकडाउन गरेको थियो । पहिलो चरणमा ९ दिनका लागि निषेधाज्ञा गरिएको थियो । कोरोनाको दोस्रो भेरियन्टको संक्रमण दर तिव्र गतिमा गाउँमा फैलिएको हुनाले नागरिकको जीवन रक्षाका लागि जुम्लामा १० दिनसम्म पूर्ण लकडाउन हुने सहायक प्रमुख जिल्ला अधिकारी चौलागाईले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएको सूचना अनुसार जुम्लामा हालसम्म १ सय ९८ जना कोरोनाबाट संक्रमित भएका छन् । त्यसमध्ये २६ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आइसोलेसनमा रहेका छन भने बाँकि होमआइसोलेसनमा रहेका छन् । संक्रमित मध्ये २६ जना कोरोना मुक्त भइ सकेको छन् ।