सामुदायिक रेडियोलाई स्वास्थ्य सामाग्री सहयोग – Karnali News

सामुदायिक रेडियोलाई स्वास्थ्य सामाग्री सहयोग

 २८ बैशाख २०७८, मंगलवार १७:०५  

एनिशा हमाल, वैशाख २८ जुम्ला
जनस्वास्थ्य सेवा कार्यालयले जुम्लाका सामुदायिक रेडियोहरुलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोरोनाको दोस्रो लहरको संक्रमण दर बढ्दै गइरहेको बेला रेडियोमा काम गर्ने संचारकर्मीका लागि कार्यालयले स्वास्थ्य सामाग्री सहयोग गरेको हो । रेडियो कर्णाली, रेडियो नारी आवाज, रेडियो खुला आकास र रेडियो माउन्टेन एफएमलाई जनास्वास्थ्य सेवा कार्यालयले स्वास्थ्य सामाग्री दिएको हो ।

समाचार संकलनका लागि बजारमा हिडडुल गर्ने संचारकर्मीलाई कोरोनाबाट सुरक्षित गराउनको लागि स्वास्थ्य सामाग्री उपलब्ध गराइएको जन स्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो । नयाँ भेरियन्ट सहितको कोरोना माहामारीको दोस्रो लहरबाट सुरक्षित रहन रेडियोमा आवद्ध संचारकर्मीलाई मास्क, सेनिटाइजर र गोलोब्स उपलब्ध गराईएको उहाँको भनाइ छ ।

जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीले संचारकर्मीलाई सहज गराएको रेडियो खुला आकास जुम्लाका पञ्चकली बुढाले बताउनु भयो । उहाँका अनुसार लक डाउनका बिच रिपोर्टिङ्गका लागि बजारमा जाने बेला प्रयोग गर्न मिल्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद समेत दिनुभएको छ । यस्तै रेडियो माउन्टेन एफएमका रामकृष्ण बुढाले माहामारीका बेला संचारकर्मीलाई जनस्वास्थ्य सेवा कार्यालयले सम्झेर स्वास्थ्य सामाग्री सहयोग गरेकोमा खुसी व्यक्त गर्नु भएको छ ।

कार्यालयले रेडियोकर्मीहरुलाई कोरोना जित्न हौसला प्रदान गरेको उहाँको भनाइ छ । विश्व भरि महामारीको रुपमा फैलिएको कोभिड–१९ दोस्रो लहरबाट सचेत रहन संचारकर्मीले नागरिकहरुलाई हरपलका सूचना प्रदान गर्दै आएका छन् । स्वास्थ्य सामाग्रीले जुम्लाका श्रमजीवि पत्रकारहरुलाई रोगसँग लड्न सहयोग पुग्ने संचारकर्मीहरुले बताएका छन् ।

यी सामाग्रीले जुम्लाका ४ वटा सामुदायिक रेडियोमा कामगर्नेहरु कोरोनाबाट सुरक्षित रहने अपेक्षा जनस्वासथ्य सेवा कार्यालयले गरेको छ । कोरोनाका कारणले देशनै आक्रान्त भइ रहेका बेला जुम्लामा पनि त्यस्तो नहोला भन्न सकिन्न । विश्वभर २ करोड भन्दा बढिको कोरोनाबाट ज्यान गइसकेको छ ।