किसानहरुबाट १८ लाखको गोठेमल खरीद – Karnali News

किसानहरुबाट १८ लाखको गोठेमल खरीद

 २६ बैशाख २०७८, आईतवार ०७:४२  

नौरते नेपाली, वैशाख २६ जुम्ला
गुठीचौर एग्रो फर्मले स्याउ बगैँचामा प्रयोग गर्न किसानहरुबाट १८ लाखको गोठेमल यसै वर्ष खरीद गरेको छ । १ देखि ५ नम्बर वडा सम्मका सबै किसानहरुबाट १४ हजार डोका गोठेमल किसानहरुबाट खरीद गरिएको एग्रो फर्मका संचालक मीमवहादुर भण्डारीले बताउनु भयो । उहाँका अनुसार १४ हजार डोका मलको १४ लाख र ४ लाख ढुवानी गरी झण्डै १८ लाखको गोठेमल किसानबाट खरीद गरिएको बताउनु भयो ।

३० हजार स्याउका खाल्डामा प्रयोग गर्न किसानहरुबाट गोठेमल खरीद गरिएको भण्डारीले बताउनुभ यो । गुठीचौर एग्रो फर्मले ३० हजार फुजी स्याउका विरुवा आउने जेष्ठ महिनाको १५ गतेसम्म लगाइ सक्ने योजना बनाएको छ । स्याउका विरुवा रोप्ने कार्य शुक्रबारबाट सुरु भइ सकेको भण्डारीले बताउनु भयो । विगतका वर्षमा किसानहरुले उत्पादन गरेको गोठेमल प्रयोग भएर बचेमा खेर फाल्ने गरेका थिए ।

तर, यो वर्षबाट अवस्था फरक बनेको छ । किसानहरुले उत्पादन गरेको गोठेमल फर्मले खरीद गरेको छ । किसानहरुले गोठेमल विक्रि हुन्छ भनेर सोचेका पनि थिएनन । फर्मले मल खरीद गरेपछि किसानहरु भने खुसी भएका छन् । प्रत्येक किसानको घरमै पुगेर फर्मले गोठेमल खरीद गरेको संचालक भण्डारीको भनाइ छ । गाई र भैँसिको दिशाबाट किसानहरुले उत्पादन गरेको गोठेमल फर्मले खरीद गरेको उहाँले बताउनु भयो ।

फर्मका लागि आवश्यक पर्ने गोठेमल गुठीचौर एग्रो फर्मले किसानहरुबाट खरीद गरेको हो । फुजी स्याउका विरुवा लगाउनु पुर्व खनिएक खाल्डामा मल प्रयोग गर्नको लागि किसानहरुबाट गोठेमल खरीद गरिएको संचालक भण्डारील बताउनु भयो । माटोमा फसफोरसको कमी भएकाले ७ लाख रुपैयाँको बोनमल पनि फर्मले खरीद गरेको उहाँको भनाइ छ । स्याउका विरुवाका लागि २५ लाख रुपैयाँको मल खरीद गरेको फर्मका व्यवस्थापक केसी भण्डारीले बताउनु भयो ।

ठुलो परिमाणमा किसानहरुबाट मल खरीद गरेको केसीले जानकारी गराउनु भयो । व्यवस्थापक भण्डारीका अनुसार गाई, गोरु र भैँसिको हड्डी कुहाएर बनाईएको बोनमल फर्ममा प्रयोग भएको जानकारी गराउनु भयो । जुम्ला गुठीचौर ५ कुम्डीको काडाखोला, जलजला र थपडा भन्ने स्थानमा १ सय ५० हेक्टर जग्गामा देशको सबैभन्दा ठुलो फुजी स्याउको बगैँचा मीमवहादुर भण्डारीले निर्माण गर्न थाल्नु भएको छ ।

उक्त बगैँचा भविष्यमा देशकै अनुसन्धान र तालिम केन्द्रका रुपमा विकास हुने संभावना छ । व्यक्तिगत लगानिमा देशकै ठुलो स्याउ बगैँचा भण्डारीले निर्माण गर्नु भएको छ । जुम्लाको सान र गौरवको योजनालाई स्थानीय सरकारले वेवस्ता गरेको संचालक भण्डारीले बताएका छन् । बगँैचा निर्माणमा संचालक भण्डारीले ८ करोड रुपैयाँ खर्च गरि सक्नु भएको छ ।

२० वर्षको उमेर देखि जडिबुटी व्यापारमा संलग्न भण्डारी ४८ वर्षको उमेरमा कृषि क्षेत्रमा फर्कनु भएको छ । झण्डै २८ वर्ष पछि भण्डारी कृषि क्षेत्रमा जोडिनु भएको हो । जडिबुटी व्यापारबाट बचेको रकम कृषि क्षेत्रमा लगानी गर्न इच्छुक भएको हुनाले स्याउ बगैँचा निर्माण गरेको भण्डारीको भनाइ छ । शहर बजारमा हुर्के पनि जन्मभूमि र आफ्नै माटोमा केहि गरौँ भन्ने सोचका साथ कृषि क्षेत्रमा फर्किएको उहाँले बताउनु भयो । गाउँका मानिसलाई रोजगारी दिन र कमाईको केहि अंश कृषिमा लगानि गर्ने योजनाका साथ बगैँचा निर्माण भएको भण्डारीले जानकारी गराउनु भयो ।