कृषि र पशुपालनलाई गुठीचौरको प्राथमिकता – Karnali News

कृषि र पशुपालनलाई गुठीचौरको प्राथमिकता

 २२ बैशाख २०७८, बुधबार ०८:१३  

कालीवहादुर परियार, वैशाख २२ जुम्ला
जुम्लाको गुठीचौर गाउँपालिकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । किसानहरुको जीवन स्तर सुधार गर्दे गाउँपालिकालाई कृषिमा आत्मनिर्भर गर्ने उद्देश्ले कृषि र पशुपालनलाई प्राथमिकता दिएको हो । गुठीचौर गाउँपालिकाका अधिकांस किसानहरु कृषिमा आवद्ध छन् । चरन क्षेत्र पनि प्रशस्त भएकाले कृषि र पशुपालनलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ ।

गुठीचौर गाउँपालिकले चालु आर्थिक वर्षमा विनियोजन गरेको ३३ करोड मध्ये कृषिमा ३० लाख ३२ हजार र पशुपालन क्षेत्रमा १५ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले बताउनु भयो । एक घर एक बगैँचा निर्माण गर्ने र उन्नतजातको पशुपालनलाई बढवा दिने नीतिका साथ कृषि र पशुपालनलाई गाउँपालिकाले रोजेको उहाँले जानकारी गराउनु भयो ।

कृषिका क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने र किसानहरुले उत्पादन गरेका कृषिवस्तुलाई बजारीकरण गर्ने उद्देश्य रहेको अध्यक्ष भण्डारीको भनाइ छ । गाउँपालिकामा रहेको गरिबीलाइ घटाउन कृषि र पशुपालनमा जोड दिइएको उहाँले जानकारी गराउनु भयो । अध्यक्ष भण्डारीका अनुसार किसानहरुले गर्दे आएको पुशपालन व्यवसायलाई वृद्धि गर्न सहयोग गरिने बताउनु भयो ।

स्थानीय सरकार कृषि र पशुपालनमा गम्भिर भएकाले प्रत्येक घरमा पशुपालन र बगैँचा निर्माणलाई जोड दिइएको भण्डारीको भनाइ छ । कामका लागि विदेशमा जाने युवाहरुलाई आफ्नै गाउँठाउँमा कृषि कर्म गर्नको लागि कृषि कार्यक्रमलाई फोकस गरिएको उहाँले बताउनु भयो । जुम्लाका अन्य गाउँपालिका भन्दा गुठीचौर गाउँपालिकामा भैँसि पालन बढी हुने गरेको छ ।

किसानहरुले दुध बेचेरै वर्षमा राम्रो आम्दानी गर्दे आएको हुनाले उनिहरुको पेशामा सहयोग गर्न कृषि विशेष कार्यक्रम गाउँपालिकाले संचालन गर्ने तयारी थालेको छ । कृषि क्षेत्रको सुधार नभएसम्म किसानहरुको जीवन स्तर पनि माथि नउठ्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।

गुठीचौर गाउँपालिकामा धान खेती देखि आलु, फापर, सिमि, चिनो, कागुनो, मकै, लगायतका अन्य महत्वपूर्ण बालिहरु उत्पादन हुने गरेको छ । त्यस्तै पशुपालनमा भेडा बाख्रा र भैँसि पालनको पकेट क्षेत्र पनि हो । युवाहरुलाई यसैमा आत्मनिर्भर बनाउन विभिन्न कार्यक्रम बनाएर कार्यान्वयनको चरणमा रहेकोे भण्डारीको भनाइ छ । गाउँपालिका भित्रका ३७ जना किसानलाई गाउँपालिकाले दुहुना भैँसि वितरण गरि सकेको छ ।