राज्यको लगानीमा निर्माण भएको भवन प्रयोग नभएरै जीर्ण – Karnali News

राज्यको लगानीमा निर्माण भएको भवन प्रयोग नभएरै जीर्ण

 २२ बैशाख २०७८, बुधबार ०८:१०  

नौरते नेपाली, वैशाख २२ जुम्ला
जुम्ला चन्दननाथ नगरपालिका वडा नम्बर ३ कोटेसाँघु नजिकै निर्माण भएको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाको भवन प्रयोग नभएरै जीर्ण बनेको छ । साविकको जिल्ला विकास समिति जुम्लाको क्रमागत योजनाबाट झण्डै ३५ लाख रुपैयाँमा निर्माण भएको भवन प्रयोग नभएरै जीर्ण बनेको हो । एक दशक पहिले भवन निर्माण भएको हो । उक्त भवन निर्माण हुन पाँच वर्ष लागेको थियो ।

अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष यज्ञवहादुर बुढथापाको पालामा खोलिकोटका जयवहादुर शाहीको झण्डै ४ सय वर्गमिटर जग्गा खरिद गरि भवन निर्माण गरिएको थियो । जग्गा खरिद पछि नेत्रवहादुर शाही अध्यक्ष भएको पालादेखि भवनको निर्माण शुरु भएको हो । प्रत्येक वर्ष साविकको जिल्ला विकास समितिले ५÷५ लाख रुपैयाँ भवन निर्माणका लागि विनियोजन गर्दे आएको थियो । त्यतिबेला अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका अध्यक्ष शाहीकै कारण भवनको हविगत उदाङ्गो भएको सोहि संस्था भित्रका एकजना प्रतिनिधिले बताउनु भयो ।

भवन निर्माणका बेला अध्यक्ष शाहीले राम्रोसँग नहरेकै कारण प्रयोग विहिन हुन पुगेको हो । नेतृत्व गर्ने व्यक्तिले चौतर्फि हेर्नु पर्ने हुन्छ, नाम नुखाउने सर्तमा उहाँले भन्नुभयो जिल्ला विकास समितिबाट रकम मात्रै माग्नु भयो ? त्यसको सहि प्रयोग गर्न सक्नु भएन् । भवन निर्माणका क्रममा शाहीले अपाङ्गता भएका व्यक्तिहरुको समस्या हल गर्न र जीवन स्तर सुधार हुने विश्वास दिलाए पनि भवन निर्माण पछि प्रयोग गर्न लायक नभए पछि अध्यक्ष पदबाट शाहीले हात झिक्नु भएको थियो ।

अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका केहि पदाधिकारी र साविकको जिल्ला विकास समितिमा कार्यरत कर्मचारीलाई भवन निर्माण भएको देखाएर खाने बाटो बनेकाले भवन प्रयोगमा नआएको खोलिकोटका स्थानीयले आरोप लगाएका छन् । भवन निर्माण हुने बेला दिनरात आउने कर्मचारी र अपाङ्गता भएका व्यक्तिहरुको अनुहार त्यस पछि नदेखिएको उनिहरुले बताएका छन् ।

भवनको छाना ढलान गर्ने क्रममा नमिलेको हुनाले प्रयोग विहिन रहेको अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाका वर्तमान अध्यक्ष नन्दराज धितालले बताउनु भयो । त्यति बेलाको जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय र जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रतिनिधिहरुले अनुगमन गर्दा भवन प्रयोग गर्न उपयुक्त नभएको सिफारीस अनुसार भवन अलपत्र परेको उहाँको भनाइ छ । भवन निर्माण गर्ने बाँहेक अरु काम नभएको धितालले बताउनु भयो । निर्माण भएको भवन प्रयोगमा आएको भए भाडामा बस्नु पर्ने अवस्था नहुने उहाँको भनाइ छ ।

कहिले र कसरी भवन निर्माण भएको हो ? त्यो विषयमा आफु बेखर रहेको धितालले बताउनु भयो । उक्त भवन अहिले मदिरा र लागुऔषध प्रयोग गर्नेहरुको अखडा बनेको छ । राज्यकोषको रकमबाट निर्माण भएको भवन अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्रले प्रयोग नगर्दा गलत प्रयोजनका लागि प्रयोग भएको छ । जुम्लाकै अपाङ्ग सूचना केन्द्र, अपाङ्ग व्यक्तिका लागि तालिम र आयआर्जनका क्रियालाप संचालन गर्नको लागि निर्माण भएको भवन अहिले अलपत्र अवस्थामा रहेको छ ।

निर्माण भएको भवन सरोकारवाला निकायको ध्यान नपुग्दा राज्यकोषको लगानी बालुवामा पानी हाले जस्तै भएको स्थानीय निर्मला बुढाथापाले बताउनु भयो । भवन निर्माणका विषयमा खोलिकोटकै स्थानीयलाई राम्रोसँग जानकारी छैन् । भवन वरिपरि गरिएको घेरबार र भवन जीर्ण हुँदा पनि कसैको नजर संरक्षणमा पुगेको छैन् । राज्यको लगानीलाई अपाङ्ग पुर्नस्थापना तथा विकास केन्द्र जुम्लाले खिल्ली उठाउने काम गरेको निर्मला बुढथापाको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिका लागि निर्माण गरिएको भवनको हालत देख्दा उहाँको मन रुने गरेको छ । भवन निर्माण गर्ने रकम गाउँका गरिब दुखीलाई दिएको भए राहत हुने उहाँको बुझाइ छ । भवनको संरक्षण र मर्मत नहुँदा राज्यले निर्माण गरेको भवन गाईगोठमा परिणत भएको उहँको भनाइ छ । स्थानीयको घाँस राख्ने, युवाहरुले मदिरा र लागुऔषध प्रयोग गर्ने स्थलमा भवन परिणत भएको निर्मलाले बताउनु भयो ।

भवन निर्माणका बेला अपाङ्गगता भएका व्यक्तिहरु आउने गरेपनि हिजोआज कोहि पनि नआउने गरेको बुढथापाले जानकारी गराउनु भयो । भवनको झ्याल ढोकामा लगाएका खापा तोडफोड भएका छन भने कोठाहरु मदिरा र लागुऔषध प्रयोग गर्नेहरुको इलाका बनेको खोलिकोटकै स्थानीय देवि सेजुवालले बताउनु भयो । उहाँका अनुसार अहिले भवनको अवस्था नाजुक रहेको भन्दै गलत कामका लागि प्रयोग हुन थालेको जानकारी गराउनु भयो । सम्बन्धित निकायको ध्यान नपुगै कारण भवनको संरक्षण नभएको उहाँको भनाइ छ ।