जुम्लामा ९ दिनका लागि निषेधाज्ञा हुने – Karnali News

जुम्लामा ९ दिनका लागि निषेधाज्ञा हुने

 २२ बैशाख २०७८, बुधबार ०८:०७  

एनिशा हमाल, वैशाख २२ जुम्ला
कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि जुम्लामा निषेधाज्ञ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा मंगलबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले बुधबार राति १२ बजेदेखि बैशाख मसान्त सम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना माहामारी दिन प्रतिदिन तिव्र गतिले फैलि रहेकोले सो को रोकथामका लागि निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाइले जानकारी दिनुभयो । मंगबालर बसेको डिसिसिएमसिको बैठकले बुधबार राति १२ बजे देखि लागु हुने गरी ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णइ भएको उहाँले बताउनु भयो ।

दैनिक उपभोग्य सामान खरिदका लागि भने बिहान ६ बजे देखि ९ बजे सम्म पसल खुल्ला रहने निर्णय भएको चौलागाइले जानकारी दिनुभयो । ६ बजे देखि ९ बजे सम्म सामान खरिदको बेला बाहेक अरु बेला बजारमा हिड्डुल गर्न नपाइने, सरकारी कार्यालय र बैँकहरु आवश्यकताका आधारमा एक चौथाइ भन्दा बढि उपस्थित नहुने गरी कर्मचारी बोलाएर काम गर्न सकिने चौलागाइको भनाइ छ ।

कोरोनाको दोस्रो लहरको संक्रमण बढेको हुनाले निषेधाज्ञा गर्न लागिएको उहाँले बताउनु भयो । जुम्लामा सोमबार सम्मको रिपोर्ट अनुसार जुम्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४५ पुगेको भन्दै उहाँले मंगलबारको रिपोर्ट आउन बाँकि रहेको बताउनु भयो । संक्रमित मध्ये १० जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा र ३५ जना होम आइसोलेसनमा रहेको उहाँले बताउनु भयो । लक डाउनका बेला जिल्ला बाहिर जानेहरुको हकमा तत्कालका लागि सवारी पास नदिने निर्णय भएको चौलागाईले बताउनु भयो ।

कोरोनाको जोखिम बढेको हुनाले सबैले स्वास्थ्य सुरक्षा मापदण्डको परिपालना गर्न जिल्ला प्रशासन कार्यालय जुम्लाले सबैलाई अनुरोध गरेको छ । आफु बचौँ, अरुलाई पनि बचाऔँ भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्वास्थ्य सुरक्षाका क्रियाकलाप अपनाउन आग्रह गरिएको छ । यसअघि कोभिड १९ संकट व्यवस्थापन समितिले विद्यालय बन्द गर्ने, पन्ध्र जना देखि बढि भिडभाड गर्न नपाइने, गाउँपालिका तथा नगरपालिकाले कोभिड सम्बन्धि रणनीति बनाउने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी चोलागाइँले कोरोना संक्रमण फैलन नदिनको लागि सबै सचेत हुनु पर्ने बताउनुभयो ।