अक्सिजन प्लान्टका लागि प्रत्येक जिल्लामा ४० लाख – Karnali News

अक्सिजन प्लान्टका लागि प्रत्येक जिल्लामा ४० लाख

 १८ बैशाख २०७८, शनिबार ०७:०४  

नौरते नेपाली, वैशाख १८ जुम्ला
दोस्रो लहरको कोरोना भाईरस बिरुद्ध लड्नको लागि कर्णाली प्रदेश सरकार र सामुदायिक रेडियोहरुको सहकार्यका विषयमा भर्चुअल विधिबाट शुक्रबार छलफल भएको छ । सामुदायिक रेडियो प्रशारक संघ अकोराब कर्णाली प्रदेशको आयोजनामा छलफल गरिएको हो । छलफल कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले माहामारीका विरुद्धमा लड्न कर्णाली बासीलाई आग्रह गर्नु भएको छ ।

नयाँ भेरिन्यस सहित देखिएको कोरोनाको दोस्रो लहरलाई पराजति गर्न प्रदेश सरकारले तयारी थालेको उहाँको भनाइ छ । अस्पतालमा बेडको संख्या बढाउने देखि उपचारको लागि अस्पताल नागरिकलाई सहज वातावारण बनाउने बारेमा प्रदेश सरकार लागि परेको उहाँको भनाइ छ । मन्त्री भण्डारीले माहामारीको विषम घडीमा सामुदायिक रेडियोहरुसँग समन्वय गरि प्रदेश सरकारले काम गर्ने बताउनु भयो ।

नागरिकलाई सूचना दिने काममा सामुदायिक रेडियोले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले जानकारी गराउनु भयो । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठुलो मात्रामा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारीमा सरकार जुटेको मन्त्री भण्डारीको भनाइ छ । अक्सिन प्लान्ट स्थापना गर्नको लागि कर्णाली प्रत्येक जिल्लामा ४०÷४० लाख रुपैयाँ प्रदेश सरकारले विनियोजन गरि सकेको उहाँले जानकारी गराउनु भयो ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नेपालमा भएका विभिन्न परिवर्तनमा सामुदायिक रेडियोहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । कोरोना माहामारीको जटिल घडीमा पनि सरकारसँग समन्वय गर्दे सामुदायिक रेडियोहरुले नागरिकलाई सूचना दिने काम गरेको उहाँको भनाइ छ । सरकारले सामुदायिक रेडियोहरुलाई समानुपातिक र न्ययोचित तवरले सूचना तथा विज्ञान वितरण गर्न उहाँले सरकार समक्ष माग गर्नु भएको छ ।

सामुदायिक रेडियो प्रशारक संघ अकोराब कर्णाली प्रदेशका अध्यक्ष गोर्खवहादुर थापाले दोस्रो लहरको कोरोना भाईरस बिरुद्ध लड्नको लागि कर्णाली प्रदेश सरकारसँग समन्वय गर्दे कर्णाली प्रदेशमा रहेका सामुदायिक रेडियोहरुले काम गर्ने बताउनु भयो ।

कर्णाली प्रदेशमा रहेका ४२ वटा सामुदायिक रेडियोहरुलाई सूचना उपलब्ध गराउन उहाँले सरकारलाई अनुरोध गर्नु भएको छ । नागरिकलाई सेचत गर्ने विषयमा सन्देश उत्पादन गर्ने जिम्मा सामुदायिक रेडियोलाई दिन प्रदेश सरकारलाई अध्यक्ष थापाले सुझाव दिनु भएको छ ।

दोस्रो लहरको कोरोनाबाट उत्पन्न हुने भयाभह अवस्था आउन नदिनको लागि सरकारलाई गम्भिर हुन उहाँले अनुरोध गर्नु भएको छ । सामुदायिक रेडियो र सरकारका बीच सहकार्य भएमा कोरोनालाई पराजित गर्न सहयोग मिल्ने थापाको भनाइ छ ।