तातोपानी गाउँपालिकामा लापा कार्ययोजना निर्माण हुने – Karnali News

तातोपानी गाउँपालिकामा लापा कार्ययोजना निर्माण हुने

 १६ बैशाख २०७८, बिहीबार ०७:५३  

नौरते नेपाली, वैशाख १६ जुम्ला

जुम्लाको तातोपानी गाउँपालिकामा स्थानीय अनुकुलन कार्ययोजना लापा तयारीका लागि पालिका स्तरीय परामर्श तथा संश्लेषण गोष्ठी सकिएको छ । उक्त गोष्ठिले पाँच वर्षका लागि लापा कार्ययोजना निर्माण गर्ने रणनीति तयार गरेको छ । तातोपानी गाउँपालिकाको सबै वस्तुतगत विवरण कार्ययोजनामा समावेश गरिने भएको छ । जलवायु परिवर्तनले पारेको असरलाई कम गर्नको लागि अनुकूलनका योजनाहरु कार्ययोजनामा समावेश हुने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताउनु भयो । उहाँका अनुसार क्याप्स कर्णाली परियोजनाको सहयोग र पेश नेपाल जुम्लाको साझेदारीमा लापा कार्ययोजना निर्माण हुने जानकारी गराउनु भयो ।

खडेरी, हावाहुरी, बाढी पहिरो, चट्याङ्ग, आगलागि र हिमपातका कारण हुने सबै विषयलाई गहिरो तवरले संश्लेषण गरी कार्ययोजना निर्माण हुने अध्यक्ष न्यौपानेको भनाइ छ । उपाध्यक्ष गंगादेवि उपाध्यायले गाउँपालिकाले स्वामित्व लिने गरि कार्ययोजना निर्माण गरिने बताउनु भयो । पेश नेपाल जुम्लाको प्राविधिक सहयोगमा गाउँपालिकाले कार्ययोजना आफै निर्माण गर्ने उहाँको भनाइ छ ।

स्थानीय स्तरका समस्या समाधान गर्नको लागि कार्ययोजनाले सहयोग गर्ने उपाध्यायको बुझाइ छ । उहाँका अनुसार वर्षा सिजनमा नदिले खेतियोग्य जमीन कटान गर्ने समस्या रहेको भन्दै तटबन्धन, ग्याबिन जाली भर्ने र अनुकूलन हुने उपायहरु गाउँपालिकाले गरेको जानकारी गराउनु भयो । विश्व खाद्य कार्यक्रम जुम्लाका फिल्ड संयोजक कृष्ण शाहीले पाँच वर्षका लागि निर्माण हुने कार्ययोजनाले जलवायु परिवर्तनले पारेको असरसँग अनुकूलन हुने उपायहरु मुख्य रुपमा उठाउनु पर्ने बताउनु भयो ।

वस्ति स्तरका समस्यालाई कार्ययोजनाले सम्बोधन गर्ने भएकाले विगतमा जलवायु परिवर्तनले पारेको असरलाई नीतिगत रुपमा सम्बोधन गर्न कार्ययोजनाले सहयोग गर्ने शाहीको भनाइ छ । पेश नेपाल जुम्लाद्धारा संचालित क्याप्स कर्णाली परियोजनाका कृषि अधिकृत नविन बिसिले जलवायु परिवर्तनले कृषि क्षेत्रमा बढी असर परेको बताउनु भयो । सिंचाई नहुने जमिनमा लगाएको बाली सुक्नुका साथ फलफूलहरुमा असर देखिएको उहाँको भनाइ छ ।

नेपाल सरकारले स्थानीय समुदायको जीविकोपार्जनमा सुधार ल्याउन, अनुकूलित क्षमता वृद्धि र समानुकूलन बनाउन राष्ट्रिय अनुकूलन कार्यक्रम (नापा) २०६७, जलवायु परिवर्तन नीति २०६७ र स्थानीय अनुकूलन कार्ययोजना (लापा) को राष्ट्रिय संरचना २०६८, स्थानीय विपद् जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका २०६८ एवं वातावरणमैत्री स्थानीय शासनको प्रारूप २०७० मार्फत स्थानीय अनुकूलनलाई प्राथमिकता दिएको छ ।

यसैलाई आधार मानेर स्थानीय विपद् जोखिम व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलन योजना २०७८ तातोपानी गाउँपालिको निर्माण गर्न लागेको हो । हिमा गाउँपालिकामा कार्ययोजना निर्माण भइसकेको छ भने तिला गाउँपालिकामा कार्ययोजना निर्माणका लागि विहिबार गोष्ठी संचालन हुँदै छ ।