महिनावरी भएको बेला किशोरीहरु विद्यालय जाँदै – Karnali News

महिनावरी भएको बेला किशोरीहरु विद्यालय जाँदै

 १२ बैशाख २०७८, आईतवार १८:१५  

नौरते नेपाली, वैशाख १२ जुम्ला
पछिल्लो समय किशोरीहरु महिनावरी भएको बेला किताब बोकि विद्यालय जान थालेको छन् । महिनावरी भएको बेला किताब छोए पढेको कुरा हराउने अन्धविश्वासमा रहेका किशोरीहरु हिजोआज विद्यालय जान थालेका छन् । विद्यालयमा महिनावरी भएको बेला प्रयोग गरेको प्याड फाल्ने र सरसफाईको लागि उचित वातावारण भएका कारण विद्यालय जाने गरेको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ मा रहेको आधारभूत विद्यालय रोकाया वाडामा अध्यनरत किशोरी रिबना सार्कीले बताउनु भयो ।

हाल विद्यालयले महिनावरी भएका किशोरीलाई प्रयोग गर्नको लागि प्याड पनि दिने गरेको छ । प्लान इन्टरनेश्नल नेपालको सहयोग र पेश नेपाल जुम्लाको सहकार्यमा संचालित महिनावारी सरसफाई स्वच्छता ब्यवस्थापन कार्यक्रमले किशोरीलाई सजिलो गराएको छ । महिनावरी भएको बेला विद्यालयको ढोकामा आउन डराउने किशोरीहरु हिजोआज ढुक्क भएर विद्यालयमा आएर पढ्ने गरेका छन् ।

विद्यालयमा महिनावारी सरसफाई स्वच्छता ब्यबस्थापनका बारेमा सुविधा भएको सार्कीले बताउनु भयो । उहाँ अहिले कक्षा ६ मा अध्ययन गर्ने छात्रा हुनुहुन्छ । रिबना महिनावरी हुन लागेको झण्डै वर्ष दिन बढी भइ सक्यो । सुरुका दिनमा उहाँलाई प्याड प्रयोग गर्ने र सरसफाईका बारेमा राम्रोसँग जानकारी थिएन । पेश नेपाल जुम्लाले महिनावारी सरसफाई स्वच्छता ब्यवस्थापनका बारेमा आवश्यक ज्ञान दिएबाट रिबनालाई महिनावरी भएको बेला समस्या भएको छैन् ।

अहिले उहाँ महिनावरी भएको बेला प्याड प्रयोग गर्नु गरी नियमित विद्यालय आउनु हुन्छ । पहिले महिनावरी भएको बेला रिबना ३ दिन नभइ विद्यालय आउनु हुन्नथ्यो । आफु विद्यालय नआएको बेला स्कुलमा पढेका कुरा जानकारी लिन रिबनालाई साथीहरुको नोटमा भर पर्नु पर्ने अवस्था थियो । विद्यालयमा प्याड बिर्सजन गर्ने ठाउँ, शौचालय र पानीको सुविधा भएकाले महिनावरी भएको बेला उहाँले हाल विद्यालय छुटाउनु भएको छैन् ।

रिबना लगायतका सोहि विद्यालयमा अध्ययनरत धेरै किशोरीहरु रजश्वला हुने गर्दछन् । उनिहरु रजश्वला भएको बेला सरासर विद्यालय आउने गर्दछन् । विद्यालयमा यस्तो व्यवस्था नहुनु पहिले महिनावरी भएको बेला घरमा बस्ने गरेका किशोरीहरु हिजोआज सहजै विद्यालयमा आउने गरेका छन् । घरबाट आउने बेला प्याड बिर्सेमा वा विद्यालयमा पढी रहेको बेला महिनावरी भएमा विद्यालयले प्याड दिने गरेको प्रधानाध्यापक धनु काँफ्लेले बताउनु भयो ।

बजारमा पाइने प्याड केहि समयका लागि पेश नेपाल जुम्लाले विद्यालयलाई दिएको छ । विद्यालयमा उपलब्ध भएको प्याड किशोरीलाई दिने गरेको उहाँले सुनाउनु भयो । किशोरीलाई बानी पार्नको लागि विद्यालयले हाल पेश नेपाल जुम्लाबाट उपलब्ध भएको बजारमा पाइने प्याड दिने गरेको उहाँले जानकारी गराउनु भयो । प्लान इन्टरनेश्नल नेपाल र पेश नेपाल जुम्लाले किशोरीलाई घरेलु प्याड बनाउने तालिम पनि दिएको उहाँको भनाइ छ ।

घरमा पाइने सफा र नरम कपडाबाट प्याड बनाउने सीप पनि सिकाएको काँफ्लेले जानकारी गराउनु भयो । प्रधानाध्यापक काँफ्लेका अनुसार विद्यालयमा महिनावरी स्वच्छता सम्बन्धि राम्रो सुविधा भएको हुनाले महिनावरी हुने किशोरीहरु विद्यालयमा नियमित आउने गरेको बताउनु भयो । उहाँका अनुसार महिनावरी भएको बेला ननुहाएसम्म विद्यालयमा नआउने किशोरीहरु हिजोआज महिनावरी भएकै दिनमा विद्यालयमा आउने गरेको जानकारी गराउनु भयो ।

विद्यालयमा नियमित नआउदा किशोरीको पढाईमा पहिले समस्या आउने गरेको भन्दै उहाँले अहिले त्यस्तो समस्या नरहेको बताउनु भयो । विद्यालयमा पढ्दै गर्दा पहिले महिनावरी भएमा रगत देखिने र केटा साथीहरुले जिस्काउने भएकाले ती किशोरीहरु विद्यालयमा नआइ घरमा काम गर्ने गरेको उहाँले सुनाउनु भयो । अहिले विद्यालयमा खानेपानी, छात्रछात्रा मैत्री शौचालय र प्याड फाल्ने ठाउँको व्यवस्था भएबाट किशोरीहरु नियमित विद्यालय आउने गरेको उहाँको भनाइ छ ।

प्लान इन्टरनेश्नल नेपाल र पेश नेपाल जुम्लाले दिएको सचेतना पछि किशोरीहरु महिनावरी भएको बेला नियमित विद्यालयमा आउने गरेका छन् । महिनामा कम्तिमा ५ दिन विद्यालय नआई महिनावरी भएको बेला घरमा बस्ने किशोरीहरुको पढाईमा महिनावरी स्वच्छता व्यवस्थापन कार्यक्रमले सहयोग गरेको विद्यालयले जनाएको छ ।