
रामकृष्ण बुढा, वैशाख १२ जुम्ला
जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ बैदारवाडामा रहेको २० वटा घरमा खानेपानीको पहुँच पुगेको छ । महिलाहरुको अगुवाइमा सोहि गाउँमा खानेपानीको पहुँच पुगेको हो । प्लान इन्टरनेश्नल नेपालको सहयोग र पेश नेपाल जुम्लाद्धारा संचालित खानेपानी सरसफाई तथा स्वच्छता परियोजनाबाट बैदारवाडामा खानेपानी पहुँच पुगेको हो । गाउँमा स्वच्छ खानेपानी पुगेपछि अहिले पानी जन्य रोगबाट त्यहाँका स्थानीयलाई छुटकरा मिलेको छ ।
६ किलोमिटर टाठाबाट महिलाहरुले गाउँमा खानेपानी पुराएका छन् । पुरुषहरु व्यापारको सिलसिलामा घर बाहिर जाने भएकाले महिलाहरुको सक्रियता र अगुवाइमा गएको असार महिनामा २० वटा घरमा पानीका धारा झर्किका छन् । प्रत्येक घर आगनमा खानेपानीका धारा रहेका छन् । उनिहरुले आफ्नो अनुकूलतामा अहिले स्वच्छ खानेपानी प्रयोग गर्न पाएका छन् ।
खानेपानीका लागि धेरै दुःख भोगेका वैदरवाडाका नागरिक अहिले औधि खुसी भएका छन् । महिलाहरुको अगुवाइले गाउँमा खानेपानी पुगेको जनप्रतिनिधि झापु जैशीले बताउनु भयो । स्वच्छ खानेपानी नहुँदा पहिले बच्चको पेटमा जुक्का पर्ने, आउ र हैजा जस्ता रोग लाग्ने गरेको उहाँले सुनाउनु भयो । अहिले मुहानको स्वच्छ पानी पाइपबाट गाउँमा पुगेको हुनाले शुद्ध खानेपानी प्रयोग गर्न पाएको उहाँको भनाइ छ ।
नाउलाको हिलो भएको पानी खादा स्वास्थ्यमा समस्या देखिने गरेको बताउँदै उहाँले हाल त्यस्तो समस्या हल भएको बताउनु भयो । २४ शै घण्टा घरको आगनमा रहेका धारामा पानी आउने गरेको अर्का स्थानीय महिला शान्ति खत्रीले बताउनुभयो । प्लान इन्टरनेनल नेपाल र पेश नेपाल जुम्लाको ४ लाख १५ हजार रुपैयाँको लगानीमा वैदरवाडामा खानेपानी पुगेको उहाँले बताउनु भयो ।
खत्रीका अनुसार गाउँमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सहयोग गर्ने पेश नेपाल जुम्लालाई धन्यावद समेत दिनु भएको छ । राति ४ बजे उठेर लाइनमा लागेर नाउलाको पानी ल्याउनु पर्ने दिनको अन्त्य भएको उहाँले सुनाउनु भयो । शुद्ध खानेपानी प्रयोग गर्नको लागि २० वटै घरले फिल्टर पनि राखेको खत्रीको भनाइ छ । उहाँका अनुसार खानेपानीका साथै सरसफाई गर्न र तरकारीमा सिंचाइ गर्न पनि सजिलो भएको जानकारी गराउनु भयो ।
वैदरवाडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकन्या खत्रीका अनुसार पाइप, ट्रयाङ्की निर्माण र सिमेन्ट पेशले सहयोग गरेको अरु काम महिलाहरुले मात्रै गरेको बताउनु भयो । ११ जना रहेको समितिमा सचिवमा एक जना पुरुष बाँहेक अरु सबै पदमा महिलाहरु बसेर काम गरेका थिए । सचिवमा भरत प्याकुरेल र अन्य सबै पदमा महिलाहरु बसेर खानेपानी आयोजना सम्पन्न गरेको उहाँले सुनाउनु भयो ।
गाउँमा रहेको नाउलाको पानी धमिलो र पीउन पनि उपयुक्त नभएकाले बैदारवाडाका स्थानीयलाई खानेपानीको लागि ठुलो समस्या थियो । नाउलाको पानी भर्न राति उठेर लाइनमा बस्न पर्ने बाध्यता हटेकोमा खत्री खुसी हुनुहुन्छ । अहिले घरमै खानेपानी धारा हुँदा सरसफाई गर्न, महिनावरी भएको बेला नुहाउन सजिलो भएको अध्यक्ष धनकन्या खत्रीले बताउनु भयो ।
नाउलाको पानि खादा आउँ, हैजा, झाडापखाला, रुघा खोकी निमोनिया जस्ता पानीजन्य विभिन्न रोग लाग्ने गरेको उहाले बताउनु भयो । बैदारवाडाका स्थानीयले प्लान इन्टरनेश्न्ल नेपाल र पेश नेपाल जुम्लालाई धेरै धेरै धन्यबाद दिएका छन् । त्यहाँका नागरिकका लागि प्लान इन्टरनेश्नल नेपाल र पेश नेपाल जुम्ला भगवान जस्तै भएका छन् । गाउँमा खानेपानी पुगेपछि महिला तथा बालबालिकालाई सहज भएको अध्यक्ष खत्रीको भनाइ छ ।