एमालेले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मन्त्री – Karnali News

एमालेले कारबाही गरेका कर्णालीका तीनै जना सांसदलाई मन्त्री

 ५ बैशाख २०७८, आईतवार ०७:३०  

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले कारबाही गरेका कर्णालीका तीनै जना सांसद मन्त्री बनेका छन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिएपछि नन्दसिं बुढा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन् भने भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा नियुक्त भएका छन्।

यस्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई जिम्मेवारी दिइएको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ।

‘मुख्यमन्त्रीज्यूले विश्वासको मत लिईसकेपछि मन्त्रिपरिषद हेरफेर गर्नुभएको छ,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारीमा उल्लेख छ।

नवनियुक्त तीनै जना मन्त्रीहरुलाई एमाले कर्णाली प्रदेशले पार्टीको सदस्यसमेत नरहने गरी शनिबार मात्रै कारबाही गरेको थियो। यसअघि शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए।

एमालेको ह्विपविपरीत मुख्यमन्त्री शाहीको पक्षमा उनीहरुले विश्वासको मत दिएपछि शाही सरकारले निरन्तरता पाएको हो।