
नौरते नेपाली, चैत १० जुम्ला
हिमा गाउँपालिका जुम्लाले युवतिहरुलाई लक्षित गरी ४५ दिने हाते होजीयारी तालिम संचालन गरेको छ । हातले बुनेका कपडाहरु प्रयोग गर्ने र बेच्नका लागि समेत कपडा उत्पादन गर्ने उद्देश्यले तालिम संचालन गरिएको हो । तालिमको अवधिमा सहभागिहरुले टोपि, स्वीटर, गलबन्दी र मोजा लगायतका कपडाहरु बुन्न सिक्ने गाउँपालिकाले जनाएको छ ।
महिलाहरु घरायसी काम बाहेक फुर्सदको समयमा कपडा बुन्ने काम गर्न सक्ने भएकाले हाते होजीयारी तालिम संचालन गरिएको हो । महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत २० जना युवतिलाई तालिममा सहभागि गराईएको हिमा गाउँपालिकाका कर्मचारी दिपेन्द्र वहादुर शाहीले बताउनु भयो । घरमा उत्पादन हुने भेडा तथा खराएको उनबाट कपडा निर्माण गर्न सिकाउने उद्देश्यले तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । युवतिहरुलाई व्यवसायिक र उद्यमी बनाउने लक्ष्यका रहेको शाहीले जानकारी गराउनु भयो ।
तालिमको उद्घाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष रजवहादुर शाहीले महिलाको उत्थान गर्दे गरिबी घटाउने उद्देश्यले तालिम संचालन गरिएको बताउनु भयो । महिलाहरु सिपयुक्त भएमा आर्थिक हिसाबले बलियो बनाउन हाते होजीयारी तालिम संचालन गरिएको उहाँको भनाइ छ । गत वर्ष सिलाई कटाई र ढाँका बुनाईको तालिम दिएर केहि महिलाहरु व्यवसायि भएको भन्दै अध्यक्ष शाहीले यस पटक २० जना युवतिलाई उद्यमी बनाइने जानकारी गराउनु भयो ।
घरमै बसेर पनि स्विटर बुन्न सक्ने भएकाले तालिमको आयोजना गरिएको बताउँदै शाहीले केही गर्ने सोच भएका युवतिलाई लक्षित गरि तालिमको आयोजना गरिएको हो । ऋषिदेउमा आल्लो धेरै पाइने भएकाले त्यसलाई प्रयोग गरि महिलाहरु आत्मनिर्भर हुन सक्ने अध्यक्ष शाहीको भनाइ छ । शाहीका अनुसार गाउँपालिकाले कोशेलि घर निर्माण गर्ने र महिला उद्यमीले उत्पादन गरेका वस्तु स्थानीय सरकारले खरिद गर्ने व्यवस्था गरिने बताउनु भयो ।
उपाध्यक्ष हिमाली रोकायाले महिला शसक्तिकरण र आर्थिक क्रान्तिको बाटोमा हिडाउनको लागि स्वरोजगारमुलक तालिमको आयोजना गरिएको बताउनु भयो । उहाँका अनुसार महिलाहरु आर्थिक हिसाबले बलियो नभए घर परिवार र समाजले हेला गर्ने भएकाले सीपमुलक तालिमको आयोजना गरिएको बताउनु भयो । बचेको समयलाई सदुपयोग गरि धागो र उनबाट उत्पादन हुने वस्तु निर्माणमा युवतिहरुलाई सहभागि गराउन खोजिएको रोकायाको भनाइ छ ।
सीप सिकेमा केहि गर्न सकिने भएकाले भविष्यमा आमा हुने युवतिलाई लक्षित गरी तालिमको आयोजना गरिएको उहाँले बताउनु भयो । ६ लाख रुपैयाको लागतमा ४५ दिनसम्म संचालन हुने तालिममा सक्रिय भएर सहभागि हुन उहाँले युवतिहरुलाई अनुरोध पनि गर्नु भएको छ । सीप सिक्नको लागि बाहिर जानु पर्ने समस्या हटाउदै आफ्नै घरमा बसेर आर्थिक क्रियाकलापमा महिलाहरुलाई जोड्न खोजिएको उहाँको भानइ छ ।
तालिममा सहभागि भएका युवतिहरूलाई आगामि वर्ष प्रशिक्षक हुने गरि सीप सिक्न रोकायाले अनुरोध गर्नु भएको छ । तालिममा सहभागि रमिता रावत र अन्तिमा शाहीले तालिमबाट आत्मनिर्भर हुन सकिने बताउनु भयो । ४५ दिनसम्म खटेर सीप सिक्दै हाते होजीयारीबाट भविष्यमा केहि गर्ने सपना बोकेको उनिहरुले सुनाएका छन् । तालिमको सहजीकरण रमा शाही र दर्शना शाहीले गर्नु हुनेछ । घरको काम गर्दे मोजा, पन्जा, गलबन्दि र स्विटर उत्पादन गर्न उनिहरुले सिकाउने छन् ।