डाक्टर पढन जुम्ला आउन थाले – Karnali News

डाक्टर पढन जुम्ला आउन थाले

 ८ चैत्र २०७७, आईतवार ०७:१८  

नौरते नेपाली, चैत ८ जुम्ला

भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमरजेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डक्टरी पढ्न जुम्ला पुगेका हुन् । उहाँ छात्रबृत्तिमा कर्णालीमा आएर पढ्न थालेका हुन् । चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको डक्टरी पढाइको लागि पाँच वटा कोटा दिएपछि चैत १ गतेदेखि पठनपाठन सुरु भएको भइरहेको छ । महंगो शुल्क तिरेर सुविधा सम्पन्न ठाउँमा गएर डक्टरी पढ्नु पर्ने कर्णालीको बाध्यता थियो ।

त्यो बाध्यता अब हट्यो। अब कर्णालीले डक्टरी उत्पादन गरेर नेपालभर पठाउन सक्ने अवस्था रह्यो । यो कर्णालीको सुखद पक्ष हो । कर्णालीमै डक्टरी पढाइ हुन थालेपछि कर्णालीवासी निकै उत्साहित छन् । चिकित्सा शिक्षा आयोगले जनरल प्राक्टिस इमरजेन्सी मेडिसनमा ३ जना, एनएसथेसिया एक क्रिटिकल केयरमा १ जना र पिडाट्रिक्समा १ जना पढ्न पाउने गरि कोटा पठाएको थियो । ती मध्ये अहिले जनरल प्राक्टिसमा २ जना र एनएसथेसिया पढ्न एक जना भर्ना भएका छन् । यी सबै बिषयमा पठनपाठन हुने कर्णाली प्रतिष्ठानले जनाएको छ ।

कपिलबस्तुका डा.बेदकुमार चौधरी कर्णालीमा स्नताकोत्तर तहको डक्टरी पढ्न पाउँदा निकै खुसी छन्। उनले भने, कर्णालीमा पहिलो ब्याज पढाइ हुन थालेको हो । यो ब्याज निकै राम्रो हुनेछ । सुगमबाट दुर्गम कर्णालीको स्वास्थ्य अवस्था हेर्दा निकै कहालिलाग्दो देखिन्छ । तर कर्णालीले डक्टरी पढाउन थालिसक्यो। कर्णालीमा पढेर कर्णालीमै स्वास्थ्य सेवा दिने धोको छ । उहाँले भन्नुभयो, हामी कर्णालीमै पढ्छौँ । अवसर पाएसम्म कार्यक्षेत्र पनि कर्णालीमै बनाउने छौँ । कर्णालीवासीको स्वास्थ्य सेवा गुणस्तरीय बनाउन लागि पर्नेछौँ । प्रतिष्ठानले बासको व्यवस्था गरेको छ ।

डा. ललितसिंह धामी दार्चुला देखि कर्णालीमा पढ्न आएका छन्। उनीहरु कर्णालीमै डक्टरी पढ्न पाउँदा खुसी भएको बताउँछन्। धामी भन्छन्,“कर्णाली स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानका हिसावले निकै अगाडी बढ्नेछ । स्नातकोत्तर तहको डक्टरी पढाइ तीन वर्षको हुनेछ । तत्कालिन कर्णाली अस्पतालबाट सेवा सुरु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान क्लिनिकल सेवा हुँदै अहिले स्वास्थ्य क्षेत्रका रुपमा निकै ठूलो फड्को मारीसकेको छ । स्नातकतहको डक्टरी पढाई कर्णालीको विकासको कोेसेढुंगा भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापा बताउँछन् । कर्णालीमा डक्टर बस्न मान्दैनन्।

डक्टर नहुँदा कर्णालीवासी मृत्यु पर्खेर बसिराखेका छन् भन्ने सुनिन्थ्यो, शिक्षाध्यक्ष थापाले भन्नुभयो, अहिले कर्णाली डक्टर उत्पादन गर्ने कारखाना बन्दैछ । रोजेर कर्णालीावासीले उपचार सेवा पाउँदैछन् । स्वास्थ्य शिक्षा हासिल गर्न कर्णालीमै पाएका छन् । अहिले पाँच सिट पाएका छौँ । आगामी बर्षमा १० देखि १५ विद्यार्थीसम्म भर्ना लिन सक्ने अवस्थामा पुग्ने छौँ । उनले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धान प्राथमिकतामा राखेर स्वास्थ्य शिक्षाका कार्यक्रम भइरहेको बताउनु भयो । दुरदराजमा स्वास्थ्य सेवा दिने र सामाजिक रुपमा उत्तरदायी डक्टर उत्पादन गर्ने लक्ष प्रतिष्ठानको छ ।

यहाँ उत्पादित डक्टरले जस्तो सुकै दुर्गम क्षेत्रमा पनि सहजै रुपमा काम गर्न सक्ने छन् । अब बिरामी डाक्टर खोज्दै आउने होइन । डाक्टर बिरामी खोज्दै जाने र व्यवसायीक मर्यादालाई पालना गर्ने जनशक्ति उत्पादन हुनेछ । यहाँ उत्पादिन जनशक्तिले जुनसुकै दुर्गम क्षेत्रमा पनि सहजैरुपमा काम गर्न सक्नेछ । कर्णाली प्रतिष्ठानले पाठ्यक्रम विद्यार्थी केन्द्रित बनाएको छ । बिरामी र डक्टरको सम्बन्ध घनिष्ट हुनेछ । पढ्दै बिरामीको सेवा गर्नेछन् । कर्णाली प्रदेशका सांसद दिनबन्धु श्रेष्ठले कर्णालीमा डक्टरीको पठनपाठन हुनु निकै सुनौलो र ऐतिहासिक कार्य भएको बताए।डक्टर पढ्न लाखौँ खर्च गरेर अनेत्र जिल्लामा जानु पर्ने अवस्था थियो । पोष्टमार्टम गर्न सुर्खेत, नेपालगंज जानु पथ्र्यो। अब कर्णालीमै डक्टरी पढाइ हुनु सुखद क्षण हो ।

२०६८ सालमा स्थापना भएको प्रतिष्ठानको उद्देश्य अनुरुप जुम्लामा डाक्टर उत्पादन गर्ने सपना पुरा हुने थापाले बताउनु भयो । क्लिनिकलबाट सुरू भएको सेवालाई विस्तार गर्द अब जुम्लामा विशेषज्ञ सेवा सुरू भएको डाक्टर थापाको भनाइ छ । अहिले एमडि कार्यक्रम अनतर्गत पिजिमा ३ जना डाक्टर अध्ययनको लागि भर्ना भएको उहाँले सुनाउनुभयो । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा दिनको लागि डाक्टर उत्पादनमा जोड दिएको थापाको भनाइ छ । प्रतिष्ठानका विषयमा उठेका समस्यालाई समाधान गर्न तयार रहेको शिक्षाध्यक्ष थापाले प्रतिवद्धता जाहेर गर्नु भएको छ ।

प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीको लागि होस्टेल आवश्यक भएकाले प्रदेश सरकारलाइ सहयोग गर्न उहाँले अनुरोध पनि गर्नु भएको छ । पूर्वपर्यटन राज्यमन्त्री बलबहादुर महतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना हुदा धेरैले विश्वास नगरेको स्मरण गराउँदै हेर्दाहेर्दै डक्टर उत्पादन हुन थालेको खुसी व्यक्त गर्दे उहाँले कर्णाली अभाव, अशिक्षा, रोग र भोकको मात्र प्रयाय बनि रह्यो । राज्यमा बस्नेले कर्णालीले हेर्ने नजर कहिले फेरिएन । तर पछिल्लो समयमा कर्णाली प्रतिष्ठानमा भइरहेको क्रियाकलापले निकै राम्रो सन्देश दिएको छ ।

अब कर्णालीको युवा जनशक्ति डक्टरी पढ्न बाहिर जाने छैन । कर्णालीमै सस्तो र सुलभ रुपमा स्वास्थ्य शिक्षा हासिल गर्नेछ । यो खुसिको बिषय हो । कडा मेहेन्त र पहलबाट स्थापना भएको प्रतिष्ठानमा विशेषज्ञ पढाई सुरु भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । प्रतिष्ठानको लक्ष्य र उद्देश्य अनुसार डाक्टर पढाई भएको महतले बताउनु भयो । प्रतिष्ठानले प्रदान गर्ने स्वास्थ्य सेवा प्रति आम नागरिकको गुनासो भएकाले सुधार गर्न उहाँले आग्रह गर्नु भएको छ । विरामीलाई सर्वाेपरि हितमा राखेर सेवा प्रदान गर्न महतले सुझाव दिनु भएको छ ।

प्रतिषठानले सिनेट सदस्य र पहलकर्तालाई वाईपास गरेको प्रति उहाँले आरोप लगाउनु भयो । प्रतिष्ठानका पदाधिकारि जुम्ला नबसि काठमाण्डौँ बस्ने गरेको प्रति उहाँले विरोध गर्नु भएको छ । कर्णाली प्रदेश लेखा समिति संयोजक तथा प्रदेशसभा सदस्य दिनबन्दु श्रेष्ठले स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच विस्तार गर्न सुझाव दिनु भएको छ । प्रतिष्ठानलाई संस्थागत विकासको लागि अघि बढन उहाँले आग्रह पनि गर्नु भएको छ ।

देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादनमा केन्द्रित हुन उहाँले प्रतिष्ठानलाई सुझाव दिनु भएको छ । जुम्लामा पिजि पढाई सुरु भएकोमा श्रेष्ठले खुसी व्यक्त गर्नु भएको छ । प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले कर्णालीबाट गुणस्तरीय जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने बताउनु भयो । प्रतिष्ठानको लागि यो आफैमा परीक्षण काल हो । क्वालिटी सर्भिस दिन सक्नुपर्छ । जिम्मेवार र फराकिलो सोचले शैक्षिक क्षेत्रलाई अघि बढाउनु पर्छ । उहाँका अनुसार अध्ययन र अनुसन्धानलाई संगसंगै लैजानुपर्छ । अवको जनशक्ति सेवामुखि हुनेछ ।

बिरामी डक्टर कहाँ होइन। डक्टर बिरामी कहाँ पुग्नु पर्नेछ । सेवा भावको हिसावले जुट्नुपर्छ । पदाधिकारी अधिकांस समय जुम्लामै बस्नुपर्छ । जुम्लाबाटै डाक्टर उत्पादन हुने विषय देश र समग्र कर्णालीको लागि गौरव भएको उहाँको भनाइ छ । जुम्लाबाट विशेषज्ञ डाक्टर उत्पादनले सकरात्मक सन्देश दिएको थापाले बताउनु भयो । विरामी प्रति गरिने व्यहारमा सुधार गर्न थापाले प्रष्ठिानलाई सुझाव दिनु भएको छ ।