दश वर्ष आयु बढ्ने गरी शिक्षालयका भवन मर्मत गरिने – Karnali News

दश वर्ष आयु बढ्ने गरी शिक्षालयका भवन मर्मत गरिने

 ५ चैत्र २०७७, बिहीबार ०७:३५  

नौरते नेपाली, चैत ५ जुम्ला
नेपालको सबै भन्दा पुरोनो र जेठो कर्णाली प्राविधिक शिक्षालयले पंछि पाल्न सुरु गरेको छ । शिक्षालयमा अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गराउन र भविष्यमा उक्त व्यवसायमा सहभागि गराउनको लागि पंछि पाल्न सुरु गरेको हो । पंछि पालन व्यवसायको बारेमा जानकारी गराउदै शिक्षा दिने उद्देश्य शिक्षालयले राखेको छ । शिक्षालयमा भ्रमणमा जाने पर्यटकलाई जुम्लामै उत्पादन भएको पंछिको मासु विक्रि गर्ने र आयतित बोइलर कुखुराको मासु विस्थापित गर्ने लक्ष्यका साथ शिक्षालयले पंछि पाल्न सुरु गरेको शिक्षालयका प्रमख टेकेन्द्र थापाले बताउनु भयो ।

शिक्षालयको प्रमुख भएर पुन फर्किएपछि केहि गर्ने योजनाका साथ पंछि पाल्न सुरु गरेको उहाँले जानकारी गराउनु भयो । प्राविधिक शिक्षालयमा हाल टर्की, लौकाट, बटाई चरा र कडकनाथ जातको कुखुरा परिक्षणका लागि पाल्न सुरु गरिएको थापाले बताउनु भयो । शिक्षालयमा अध्ययन गर्ने झण्डै ६ सय भन्दा बढी विद्यार्थीले घरमा गएर पंछि पाल्न थालेमा बाहिरबाट आउने मासुलाई कम गर्न सकिने उहाँको भनाइ छ ।

सुई लगाएका बोइलर कुखुराको मासु जुम्ला बासीले प्रयोग गरेको भन्दै शिक्षालय प्रमुख थापाले अब सबैले पंछि तथा लोकल कुखुरा पालेर आयतित मासुलाई विस्थापित गर्नु पर्ने बताउनु भयो । शिक्षालयको अवस्थालाई सुधार गर्दे बाह्रै महिना हरियाली बनाउने तयारी भइरहेको उहाँले बताउनु भयो । शिक्षालयको प्रवेश विन्दु देखि वरिपरि घेरिएको घेरबारका स्थानमा लालु गुराँस रोपेर रमणीय र सुन्दर विद्यालय बनाउने सोच रहेको थापाको भनाइ छ । शिक्षालयमा रहेका ५२ वटा भवनलाई पहिलेकै अवस्थामा फर्काउनको लागि मर्मतको काम गर्ने उहाँले सुनाउनु भयो ।

केहि भवनहरु जीर्ण अवस्थामा रहेका हुनाले रंगरोगन सहित पहिलेकै अवस्थामा फर्काउदै भवनको आयु अझै १० वर्षे बढाउने सोच रहेको थापाको भनाइ छ । भौतिक संरचना भत्कने अवस्थामा पुगेको हुनाले मर्मत गरि पहिलेकै अवस्थामा फर्काउने सपना रहेको उहाँले बताउनु भयो । ४० बर्ष पहिले बनेका भौतिक संरचना पुन निर्माण त के मर्मत समेत हुन सकेका छैनन । चुहिने छानामा विद्यार्थी र शिक्षक बस्न बाध्य छन । अहिले पनि शिक्षालयमा खानेपानीको समस्या रहेको शिक्षालय प्रमुख थापाले बताउनु भयो । होस्टेलमा बस्ने विद्यार्थी, शिक्षक र कृषि क्षेत्रका विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्न गरिएको तरकारी खेतीमा सिंचाइ नहुँदा समस्या रहेको उहाँले सुनाउनु भयो ।

६ सय ५२ रोपनी क्षेत्रफल भित्र रहेको कर्णाली प्राविधिक शिक्षालयले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दे आएको छ । अबको पाँच बर्षमा शिक्षालयको मुहार फेर्ने गरि कार्ययोजना ल्याउन लागेको थापाले बताउनु भयो । अहिले डिप्लोमा तर्फ ४ बिषयको पढाई भइ रहेका छन् । २०६५ मा डिप्लोमा शिभिल इन्जिनियर, २०६६ सालमा आइएस्सीएजी प्लान्ट साइन्स, २०७४ सालमा फरेस्ट्री र २०७७ सालबाट फार्मेसी पठनपाठन भइ रहेको छ । आगामी दिनमा डिप्लोमा भेटनरी तर्फको कक्ष सञ्चालनका लागि पहल हुने प्राविधिक शिक्षालयले थापाले बताउनु भयो । प्राविधिक शिक्षालयबाट उत्पादन जनशक्ति देशैभर छरिएर काम गरि रहेको छ ।