सेना दिवसको अवसरमा भएको दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम – Karnali News

सेना दिवसको अवसरमा भएको दौड प्रतियोगितामा मल्ल र बुढा प्रथम

 २६ फाल्गुन २०७७, बुधबार १५:५१  

नौरते नेपाली, फागुन २६ जुम्ला
नेपाली सेना दिवसको अवसरमा आयोजित ९ किलोमिटर र ५ किलोमिटर दौड प्रतियोगितामा नरेन्द्र वहादुर मल्ल र नरेश बुढा प्रथम हुनु भएको छ । ५ किलोमिटर दौड प्रतियोगितामा मल्ल र ९ किलोमिटर प्रतियोगितामा बुढा प्रथम हुनु भएको हो । ९ किलोमिटर र ५ किलोमिटर दुवै विधाका प्रतियोगितामा नागरिकको मात्रै सहभागिता रहेको थियो । ४५ वर्ष माथि उमेर समूहका लागि लक्षित गरि आयोजना गरिएको ५ किलोमिटर दौड प्रतियोगितामा नरेन्द्र वहादुर मल्ल प्रथम, धावक हरी रोकाया द्धितिय र दिलवहादुर रोकाया तृतिय हुनु भएको छ ।

यसैगरी ४५ वर्ष मुनिका उमेर समूहलाई लक्षित गरी आयोजना गरिएको ९ किलोमिटर दौड प्रतियोगितामा नरेश बुढा प्रथम, प्रकाश कठायत द्धितिय र अंगद धामी तृतिय हुनु भएको छ । प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद सहित प्रमाण पत्र उपलब्ध गराईएको छ । महिला तर्फको प्रतियोगिता नभएता पनि सक्रियसाथ भाग लिएको भन्दै नेपाली सेनाले राममाया बुढालाई प्रथम पुरस्कार प्रदान गरेको छ । ५ र ९ किलोमिटर दौड प्रतियोगितामा ७२ जना नागरिकको सहभागिता रहेको थियो ।

नेपाली सेना दिवसको अवसरमा आयोजित दौड प्रतियोगितामा नागरिकको उत्साहजनक सहभागिता रहेको छ । दिवसलाई नागरिक मैत्री बनाउनको लागि दौड प्रतियोगिता आयोजना गरिएको नन्दबक्स गण जुम्लाका मेजर दिनेश न्यौपानेले बताउनुभयो । नागरिकको उत्साहजनक सहभागितामा मनाइएको दिवस भव्य र सभ्य रुपमा सफल भएको छ । दिवसको अवसरमा नेपाली सेनाको खेलमैदान टुडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे श्री नम्बर २४ बाहिनि अड्डा जुम्लाका सहायक रथी यामवहादुर सापकोटाले सेना र नागरिकको सम्बन्ध विस्तारका लागि दौड प्रतियोगिता गरिएको बताउनु भयो ।

नेपाली सेना हरपलमा जनताको साथमा रहदै आएको सापकोटाले बताउनु भयो । उहाँका अनुसार बिश्वयुद्ध देखि गृह युद्धसम्म देशलाई अफ्ठेरो परेको बेला सेनाको सक्रियता रहेको बताउनु भयो । दिवसका अवसरमा नागरिकको उल्लेख्य सहभागिताले सेनालाई अझ काम गर्न सहज र सजिलो बनाएको उहाँको भनाइ छ । भूकम्प होस या कुनै दुर्घटना या अन्य कुनै प्राकृतिक प्रकोपमा सेना हरेक ठाँउमा पुग्ने गरेको उहाँले जानकारी गराउनुभयो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालवहादुर सार्कीले बाटोघाटो, खेलमैदान, परेड, राष्ट्रिय शान देखि बैदेशिक शान्ति सैनिकका रुपमा नेपाली सेनाको सर्वत्र चर्चा हुने गरेको बताउनु भयो । नेपाली सेनाले पछिल्लो समय नागकिको पक्षमा गरेको काम सकरात्मक रहेको उहाँको भनाइ छ । नागरिकसँगको सम्बन्ध विस्तारमा नेपाली सेनाले पछिल्लो समय गरेको काम उदाहरणीय रहेको सार्कीले बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले देशको रक्षार्थ रहेका सेनाले आफ्नो अदम्य साहस र कुटनैतिक कौशलताको वर्णन गर्नु भएको थियो । सेना नागरिकबाट टाठा नरहेको भन्दै उहाँले जनताको सेवामा गरेको काम स्वागतयोग्य रहेको उहाँको भनाइ छ । विपद्को बेला सेनाले गरेको कामबाट नागरिक खुसी भएको उहाँले बताउनु भयो ।

नन्दबक्स गण जुम्लाका मेजर दिनेश न्यौपानले दिवसका अवसरमा आयोजित दौड प्रतियोगितामा नागरिकसँगको सम्बन्ध विस्तारमा सहयोग पुगेको बताउनु भयो । नागरिकको भव्य सहभागितामा सम्पन्न भएको दौडि प्रतियोगिताले दिवसको गरिमा बढेको उहाँको भनाइ छ । मेजर न्यौपानेका अनुसार सेना र नागरिकको सम्बन्ध विस्तारको गर्नको लागि नागरिकको सहभागितामा दिवस मनाउदा पाउदा खुसी लागेको बताउनु भयो ।