
नौरते नेपाली, फागुन २६ जुम्ला
जुम्लामा राष्ट्रिय सहकारी विकास बैँकको शाखा स्थापना गर्ने अवधारणाका विषयमा मंगलबार अन्तरक्रिया भएको छ । जुम्लामा रहेका २ सय ३२ वटा सहकारीको आर्थिक कारोबारमा सहजता गर्नको लागि जुम्लामा सहकारी विकास बैँक स्थापना गर्ने विषयमा छलफल भएको हो । वित्तिय संस्थामा कारोबार गर्दा झनझट र भनेकै समयमा सेवा लिन समस्या भएकाले सहकारीहरुको लागि बैँक स्थापना गर्नको लागि पहल भएको जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदमवहादुर महतले जानकारी गराउनु भयो । उहाँका अनुसार आर्थिक कारोबारलाई छिटोछरितो र सहकारीको सेवा प्रभावकारी गर्नको लागि बैँक स्थापना गर्ने विषयमा सहकारीकर्मीका बिच छलफल भएको बताउनुभयो ।
जुम्लामा अब निकट भविष्यमै सहकारी बैँक स्थापना हुने महतको भनाइ छ । सहकारीमा आवद्ध सदस्यहरुले गरेको बचत रकमलाई सहकारी विकास बैँकमा जम्मा हुने उहाँले बताउनु भयो । सहकारी विकास बैँकको स्थापना पछि शेयर सदस्य पनि बन्न सकिने उहाँको भनाइ छ । राष्ट्रिय सहकारी विकास बैँक लिमिटेडका संचालक तथा कर्णाली प्रदेश इन्चार्ज हरीहरनाथ योगीले सहकारी आन्दोलनलाई सही रुपमा अघि बढाउन आवश्यक रहेको बताउनु भयो । सहकारी अभियानलाई बलियो र मजबुद बनाउनको लागि बैँक स्थापना हुनु पर्ने उहाँको भनाइ छ ।
योगीका अनुसार एकै प्रकृतिका सहकारीहरुलाई मर्ज गर्नु पर्ने बताउनु भयो । भनेकै बेला सेवा दिनको लागि बैँकको आवश्यकता रहेको उहाँले सुनाउनुभयो । जिल्ला सहकारी संघका महासचिव मयादत्त आचार्यले जुम्लामा सहकारीको संख्या धेरै भएपनि सक्रिय संख्या कम रहेको बताउनु भयो । ३५ देखि ४० वटा सहकारीले सक्रिय रुपमा काम गर्दे आएको उहाँको भनाइ छ । जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनजीत बुढाले वित्तिय संस्थाले सहकारीलाई गर्दे आएको सौतेनि व्यवहार बैँक स्थापना पछि अन्त्य हुने बताउनु भयो । सहकारीले संकलन गरेको रकमलाई सुरक्षित रुपमा जम्मा गर्नको लागि पनि बैँक स्थापना हुनु पर्ने बुढाको भनाइ छ । पुँजी उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने बताउदै उहाँले जुम्लामा बैँकको शाखा विस्तार गर्न आग्रह गर्नु भएको छ ।